पहिले साडी चोलो लगाएर भागे पनि...

पहिले साडी चोलो लगाएर भागे पनि...

सर्वसाधारण नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ कुम्ल्याउने गिरोहमा संलग्न रहेको अभियोगमा प्रहरीले खोज्न थालेपछि एकाएक गायब भएका निलम्बित एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी अन्तत: पक्राउ परेका छन् । आफूविरुद्ध वारेन्ट जारी भएलगत्तै भागेका उनी ११ दिनपछि हिजो काठमाडौँको बूढानिलकण्ठस्थित एक घरमा लुकेर बसिरहेको अवस्थामा समातिएका हुन् । 

यस प्रकरणमा रायमाझीको राजनीतिक साँठगाँठ खुलेपछि प्रहरीले बैशाख २० गते वारेन्ट जारी गरेको थियो । पुर्जी जारी भएकै दिन गृहजिल्ला अघाँखाँचीमा आयोजित एउटा कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै मञ्चमा देखिएका उनले काठमाडौँ गएर अनुसन्धानमा सघाउने प्रतिवद्धतासमेत जनाएका थिए । तर, त्यसपछि अर्घाखाँचीबाट साँझ बुटवल झरेका उनी हिजो पक्राउ नपर्दासम्म बेपत्ता थिए । 

आइजीपीलाई समेत फोन गरेर अनुसन्धानमा सघाउने बताएका उनी छक्याएर भागेपछि उनको खोजीमा प्रहरीको विशेष टोली खटिएको थियो । बुटवलबाट लापत्ता भएका उनी पोखरासम्म पुगेको पत्ता लगाएको प्रहरीले त्यसपछि भने रायमाझी कहाँ छन् भन्ने भेउसमेत  पाउन सकेन । मोबाइल नेटवर्कमै नरहेपछि रायमाझी भारत पुगेको हुनसक्ने प्रहरीको आशंका थियो,तर निश्चित थिएन ।

रायमाझी भागेपछि प्रहरीमाथि अनेक आशंका भैरहेको थियो । आइजीपीसँग कुरा गरेर सल्लाहमै भगाइएको भन्नेसम्मका आशंका आम तहमा उठिरहेको थियो । यसले उनलाई जसरी पनि समात्नुपर्ने दबाबमा प्रहरी थियो । रायमाझी भागेर दिल्ली पुगेको अनुमान गरेको प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानी बढाएको थियो भने भारतीय प्रहरीलाई खोजी गरिदिन विशेष आग्रह गरेको थियो । 

इन्टरपोलसङ्ग छुट्टै र दुई देशबीचको गोप्य सुपुर्दगी अभ्यास हुँदै आएकाले दुई दुबैतर्फका प्रहरी अधिकारीबीच यसबारे छलफल चलिरहँदा रायमाझी भारतमै रहेको नेपाल प्रहरीले यकिन त गर्यो तर,अर्काको भूमिमा गएर पक्राउ गर्न मिल्दैनथ्यो ।

नेपाल प्रहरीले रायमाझीलाई पक्राउ गरी नेपाललाई बुझाउन अनुरोध गरे पनि भारतीय पक्ष त्यसमा तयार भएन । टोपबहादुरले भारतीय संस्थापनलाई अप्रोच गरिसकेको हुनाले त्यो तहको मान्छेलाई समातेर बुझाउँदा राम्रो सन्देश जाँदैन कि भन्ने संकेत पाएपछि सल्लाहमै समात्ने वीचको बाटो अपनाइयो । 

भारतीय पक्षले पक्राउ गरेर नबुझाउने तर सुरक्षित तवरले नेपाल पठाउने जिम्मा लिने बताएपछि टोपबहादुर पनि तयार भएको उच्च प्रहरी स्रोतको दावी छ । सोहीअनुसार सीमामा निगरानी गरिरहेको प्रहरीले रायमाझीलाई काठमाडौँ आइपुगेपछि मात्रै समातेको हो ।  

अर्कोतिर, रायमाझी बेपत्ता हुँदा उनको दल एमालेमाथि चर्को दबाब थियो । पुर्जी जारी भएको भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी अध्यक्ष केपी शर्मा ओलीले रायमाझी भागेर कहीं नजाने भन्दै बचाउ गरेका थिए । तर,ओलीले भनेजस्तो रायमाझी न अनुसन्धानमा सघाउन प्रहरी-प्रशासनको सम्पर्कमा आए, न एमालेको । बरु आफ्नै अभिव्यक्तिको खण्डन हुने गरी बेपत्ता बनेपछि दबाबमा परेका ओलीले पार्टीबाट निलम्बनको कारवाही गरे । 

कांग्रेसको प्रभावशाली नेतासमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि त झन् दबाब थियो । त्यसकारण रायमाझीलाई ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकबाटै आत्मसमर्पण गर्न निर्देशन दिएका थिए । एकातिर यो अवस्था थियो भने अर्कोतिर भारतीयहरुले नै नेपाल जान सुझाव दिएपछि रायमाझीसंग अझै भाग्ने विकल्प रहेन । अर्थात्, उनीसामु अब आत्मसमर्पण गर्नुको बिकल्प बाँकी रहेन । 

तथापि उनी भेष बदलेर लुकिछिपी हिंड्न सिपालु नै मानिन्छन् । जनयुद्धका बेला सुरक्षाकर्मी अगाडि परेपछि साडी-चोलो लगाएर थुप्रै पटक ज्यान जोगाएको चर्चा हुने गर्थ्यो । तर, अहिले त्यो अवस्था थिएन । र, विकल्प नभएपछि बाध्य भएका रायमाझी  आत्मसमर्पण गर्ने निष्कर्षमा पुगेर नेपाल फर्किएको प्रहरी स्रोतको दाबी छ ।

टिप्पणीहरू