आरजू राणाले भनिन्- मेरो चरित्रमाथि बलात्कार भयो

आरजू राणाले भनिन्- मेरो चरित्रमाथि बलात्कार भयो

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा-पत्नी तथा त्यस पार्टीकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जबर्जस्ती मुछेर बद्नाम गरिएको भन्दै चर्को असन्तुष्टी जनाएकी छन् । 

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै उनले फेक अडियोको सहारा लिएर आफ्नो चरित्रहत्या गरिएको गुनासो पनि गरिन् । त्यसक्रममा काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी उनले ‘फेक न्युज’ र ‘फेक मिडिया’ पराकाष्ठामा पुगेको बताइन् । 

महिलाहरुलाई आत्महत्या गर्न मिडियाले फोर्स गरेको समेत उनको आरोप छ । 'साँच्चै भन्ने हो यो क्यारेक्टर असासिनेसन होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार) हो’, उनले भनिन् ।  

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राणाले अगाडि भनिन्, ‘मैले पहिलो पटक यो अनुभव गरेँ कि नेपालमा ‘फेक न्युज’ र ‘फेक मिडिया’ को पराकाष्ठा नाघेको छ,यसलाई सरकारले नियमन गर्न सुरु गरोस् ।'

उनले  नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सृजना गरिएको दाबी गर्दै त्यसको सत्यता जाँच गरी यथार्थ बाहिर ल्याउन माग पनि गरेकी छन् । आफूले त्यसबारे प्रहरीको साइबर विभागमा उजुरी गरेपनि कुनै जवाफ नपाएको उनको दु:खेसो पनि छ । 

‘मैले फेक अडियोका बारेमा उजुरी दर्ता गराएको छु, त्यो दर्ता गराउन पनि प्रहरीले मानिरहेको थिएन, हुन त म जतिको मान्छे गए पछि फेक अडियोका बारेमा उजुरी दर्ता सहजै हुन्छ भन्ने लागेको होला, मलाई पनि त्यो उजुरी दर्ता गराउन तीन घन्टा लागेको थियो,’ राणाले गुनासो गर्दै भनिन्, ‘तर, आज ६ दिन नाघिसक्दा पनि प्रहरीले त्यसको यथार्थ सार्वजनिक गरेको छैन, यो दुःखद कुरा हो । म त्याे अडियाेका बारेमा तत्कालै सत्यतथ्य सार्वजनिक हाेस भन्ने चाहान्छु ।’ 

नक्कली भुटानी शरणार्थी प्रकरण जघन्य अपराध भएको भन्दै सांसद राणाले दोषीलाई कारबाही गर्न मागसमेत गरेकी छिन् ।

टिप्पणीहरू