रवि लामिछानेपछि युवराज प्रधानमन्त्रीहरुमाथि खनिए

रवि लामिछानेपछि युवराज प्रधानमन्त्रीहरुमाथि खनिए

अधिवक्ता तथा नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरु लगायतमाथि अनुसन्धान गर्नुपर्ने माग राखेका छन् । उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै हिजो गृह मन्त्रालयमा निवेदन दर्ता गराएका हुन् ।

दर्ता नम्बर १०७६० रहेको सफलको निवेदनमा अनुसन्धानमा संलग्न प्रहरीहरुले सत्ता, शक्तिको आडमा वा दबाबमा सोचेजति भिभिआईपीहरुलाई कारबाहीको दायरामा ल्याउन नसकेको उल्लेख गर्दै गर्दै उक्त माग गरेका छन् । उनले पदमा रहँदा प्राप्त जानकारीलाई लुकाएको, भुटानी नक्कली शरणार्थीबारे आवश्यक जानकारी रहेको बताए पनि सार्वजनिक नगरेकाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने उल्लेख गरेका छन् । 

त्यसैगरी, आफ्नै क्याबिनेटका सदस्य मानव तस्करी, राज्यविरुद्धको अपराधमा संलग्न भए पनि त्यस्तो अपराध रोक्न कुनै पहल नगरेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पनि पक्रेर अनुसन्धान गर्नुपर्ने सफलको माग छ । 

साथै प्रकरणमा मुछिएका भिभिआईपीहरु डा.आरजू राणा देउवा, मञ्जु खाँण, रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, अजय क्रान्ति शाक्य, राजेश बज्राचार्यलगायतमाथि पनि अनुसन्धान गर्नुपर्ने निवेदनमा उल्लेख छ ।

युवराज उनै हुन् जसले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको दोहोरो नागरिकताको विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा लामिछाने दोषी ठहर भएपछि उनी मन्त्री, सांसद, पार्टी सभापतिलगायत जिम्मेवारीबाट मुक्त भएका थिए । गत उपनिर्वाचनमा विजयी भएपछि उनीविरुद्ध सफलले पुनः दोहोरो राहदानीको विषय उठाउँदै मुद्दा दायर गरेका छन् ।

टिप्पणीहरू