रवि लामिछानेको दावी र काठमाडौँ प्रशासनको जवाफ बाझियो

रवि लामिछानेको दावी र काठमाडौँ प्रशासनको जवाफ बाझियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पेश गरिसकेको दाबी गरेका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पेश गरी नेपाली नागरिकता पुनः कायम भएको दाबी गरेका हुन् । उनले लेखेका छन्, ‘अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेश गरी नेपाली नागरिकता पुनः कायम गराएको छु ।’

साथै,अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँग भएकाले गत ज्येष्ठ ९ गते सर्वोच्च अदालतमा बुझाएको उल्लेख गर्दै उनले नागरिकता र राहदानीको विषय बारम्बार उठाएर आफूलाई इरिटेट पारिएको गुनासो पनि गरेका छन् । 

‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ,’ लामिछानेले भनेका छन्, ‘सर्वोच्च अदालतको २०७९ माघ १३ गतेको फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य पुष्टि गरेको छ । अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले गत ज्येष्ठ ९ गते अदालतमा बुझाइसकेको छु ।’

यसको जानकारी र सक्कल बमोजिम नक्कल २०७५ असार ६ गते अध्यागमनलाई सप्रमाण बुझाउनुका साथै टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलेको भन्दै उनले चेतावनीयुक्त भाषामा लेखेका छन्, ‘घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ ।’  

सिन्धुलीका युवराज सफलले लामिछानेविरुद्ध पुनः दोहोरो राहदानीको विषय उठाउँदै हिजो सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

तर,केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँले लामिछानेले अमेरिकी नागरिकता त्यागेको प्रमाणको निस्सा आफूसँग नभएको बताएको थियो । सर्वोच्च अदालतले गत वैशाख २७ गते पत्र पठाएर निस्सा मागेकोमा प्रशासन कार्यालयले जेठ ३ गते जवाफ लेखी ‘उक्त राहदानी त्यागसम्बन्धी निस्साको यस कार्यालयसङ्ग सम्बन्ध नरहेको’ बताएको थियो ।
 

टिप्पणीहरू