बंगलादेशका कर्मचारीलाई भारतको उत्तराखण्डमा पढाइयो

बंगलादेशका कर्मचारीलाई भारतको उत्तराखण्डमा पढाइयो

बंगलादेशका ४५ जना सरकारी कर्मचारीहरुलाई भारतको उत्तराखण्ड पुर्याएर तालिम दिइएको छ । नेसनल सेन्टर फर गुड गभर्नेन्स ( एनसीजीजी) ले क्षमता अभिवृद्धिको निम्ति दुई साताको तालिम आयोजना गरेको बताइएको छ । 

उत्तराखण्डको मुसौरीस्थित एनसीजीजी क्याम्पसमा तालिम कार्यक्रम राखिएको भारतीय समाचार एजेन्सी इण्डिया न्युज नेटवर्कले जनाएको छ । उक्त तालिम एनसीजीजीले आयोजना गरेको ६० औं संस्करण भएको उल्लेख छ ।

भारतले आगामी सन् २०२५ सम्म तालिम लिने बंगलादेशी कर्मचारीको संख्या १८ सय पुग्ने जनाएको छ । पछिल्लो दुई वर्षमा ५१७ जता बंगलादेशी कर्मचारीले उक्त संस्थाबाट तालिम प्राप्त गरिसकेका छन् ।

भारतीय विदेश मन्त्रालयको सहकार्यमा उक्त केन्द्रले विश्वका १५ राष्ट्रका सरकारी कर्मचारीलाई तालिम दिने गरेको प्राप्त समाचारमा उल्लेख छ । बंगलादेश, केन्या, तान्जानिया, ट्युनिसिया, सिसेल्स, गाम्बिया, माल्दिभ्स, श्रीलंका, अफगानिस्तान, लाओस, भियतनामा, नेपाल, भुटान, म्यानमार र कम्बोडियाका कर्मचारीलाई विभिन्न चरणमा तालिम दिइएको पनि बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘न्यूनतम सरकार, अधिकतम सुशासन’ नीतिलाई उजागर गर्दै नागरिक र सरकारबीचको खाडललाई कम गर्न र पुरानो औपनिवेशिक मानसिकतालाई अन्त्य गर्न निजामती कर्मचारीलाई आग्रह गरिएको केन्द्रले जनाएको छ ।

टिप्पणीहरू