प्रदेशसभा बैठकमा प्रहरी प्रशासनको चर्को आलोचना

प्रदेशसभा बैठकमा प्रहरी प्रशासनको चर्को आलोचना

-राजेशचन्द्र राजभण्डारी

बागलुङका सहकारी संस्थाहरू एकपछि अर्को संकलित बचत रकम हिनामिना गरेर बेपत्ता हुन थालेपछि बचतकर्ताहरू बिचल्लीमा परेका छन् । सहकारीको ठगीबारे स्थानीय सरोकारवाला निकाय मुकदर्शक बनेपछि उजुरी दर्ता गराउनसमेत गृह मन्त्रालय धाउनुपर्ने बाध्यता उत्पन्न भएको स्थानीयले बताएका हुन् ।

गण्डकी प्रदेश सभाका सांसद कृष्ण पाठकले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सभामा हिजो विशेष समय लिएर सांसद पाठकले बेपत्ता भएका सञ्चालकहरुको चल अचल सम्पत्ति बेचबिखन गरी बचतकर्ताहरुको रकम फिर्ताका लागि गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।

दुवै सहकारीका सञ्चालकहरु बेपत्ता भएको र बचतकर्ताहरु यतिबेला आफ्नो रकम जोखिममा परेका कारण संकटमा रहेको भन्दै पाठकले गण्डकी प्रदेश सरकारले यस्ता विषयमा तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

बागलुङ र पोखरा क्षेत्रमा इमेज सहकारीले १ अर्ब ९९ करोड र शिव शिखरले ४५ करोड रुपैयाँ जोखिममा पारेको पाठकले बताए । नेकपा एमालेका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य पाठकले प्रदेश सरकारका तर्फबाट प्रभावकारी कदम चाल्न सके बचतकर्ताको रकम फिर्ता गर्न सहज हुने बताए ।

यस्तै गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले जनताको करोडौं रकम जोखिममा परेको हँदा जतिसक्दो छिटो सहकारीको रकम फिर्ता गर्न सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने धारणा राखेका थिए ।

जनतासँग करोडौं रकम संकलन गरि इमेज सहकारीका अध्यक्ष नेपालीले बचत गरेको रकम आफूखुशी अपचलन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना नारा जुलुस गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख योगेन्द्रकुमार खड्काले सयौं सहकारी बचतकर्ताले ठगीको बारेमा उजुरी गर्न जाँदासमेत आफ्नो कार्यक्षेत्र नपर्ने भन्दै पन्छिएको कारण यतिबेला ढोरपाटनका नगरप्रमुखसमेत रहेका नेपाली फरार हुन सफल भएका हुन् ।

सर्वसाधारणको धनजनको सुरक्षा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न खटाइएको प्रहरी प्रशासन मुकदर्शक बन्नुका पछाडिको कारण र जवाफसमेत बागलुङका जनताले जान्न चाहेको उनीहरुको भनाइ छ ।

टिप्पणीहरू