महेश काफ्लेका गीत, पाँच वर्षदेखि लगातार हिट

महेश काफ्लेका गीत, पाँच वर्षदेखि लगातार हिट

पछिल्लो समय मानिसको हात–हातमा मोबाइल सेट छ । दर्शक/स्रोताले हातमै हजारौँ गीत बोकेका छन् । मन परेको गीत सुन्छन्, मन नपरेको स्कीप गर्छन् । को–कतिबेला हिट हुन्छ र कतिबेला फ्लप, कुनै अनुमान गर्न सकिँदैन । समग्रमा प्रविधिको विकासले संगीतको क्षेत्राधिकार जति फराकिलो बनाएको छ, उत्तिकै चुनाती पनि थपिदै गएको छ । 

दशक अघिसम्म भने यस्तो थिएन । यूटुब अहिलेजस्तो प्रयोगमा आएको थिएन । फेसबुक र इन्स्टाग्राम पनि सिमित मानिसको पहुँचमा थियो । टिकटक र स्पटीफाइ झन् धेरैपछि विकास भएका हुन् ।    

ठीक यस्तोबेला १४/१५ वर्षका एक किशोर सिन्धुलीबाट भर्खर काठमाडौँ आएका थिए । ती किशोरलाई रहर थियो, रेडियो नेपालमा स्वर परीक्षा दिने । यद्यपि, रेडियो नेपालबाट प्रशारण हुने चौतारी नामक बाल कार्यक्रममा उनले त्यसअघि केही गीत सुनाइसकेका थिए । तर, स्वर परीक्षा भने दिएका थिएनन् । 

उनले जसोतसो रेडियो नेपालको आवदेन फारम भरेर स्वर परीक्षा दिए । तर उनको स्वर सुनेपछि निर्णायक मण्डललाई दुविधा भयो । केही निर्णयकले भने– किशोरको स्वर मिठो छ, पास गराउनुपर्छ । तर केही निर्णायकले फरक मत राखे– किशोरको स्वर उमेरसँगै परिवर्तन हुँदैछ, पास गराउन मिल्दैन । 

लामो छलफलपछि सबै निर्णायक एउटा कुरामा सहमत भए । त्यो के भने, कलाकारको कुनै उमेर हुँदैन । र अन्नतः ती किशोर स्वर परीक्षामा पास भए । वास्तवमा, ती किशोर अरु कोही नभएर अहिलेका चर्चित गायक महेश काफ्ले थिए ।   

त्यसो त, महेश सांगीतिक वातावरण भएको परिवारमै जन्मे/हुर्के । उनका बाबु भोजराज काफ्ले लोक गायक हुन् । उनका दाई दिनेश काफ्ले पनि गीत गाउँथे । सायद यसकारण सानैदेखि उनीभित्र संगीतको पालुवा पलाएको थियो । 

महेशले आफू संगीतमा लाग्नुको श्रेय बुबा र दाइलाई नै दिन्छन् । घरमा सांगीतिक वातावरण नभएको भए आफू गायक बन्नै नसक्ने उनको ठहर छ । भन्छन्, ‘बुबा र दाइको गीतहरु सुनेरै म भित्र पनि संगीतप्रति रहर जागेको हो ।’ 

रमाइलो त के भयो भने, रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि महेशले संगीतलाई नै निरन्तरता दिन्छन् भन्ने धेरैको अनुमान थियो । तर उमेर र संगतको कारण उनी केही समय संगीतबाट टाढा रहे । यद्यपि, उनीभित्र संगीतप्रतिको भोक भने बाँकी नै थियो । 

डाक्टरी पढिरहेका साथी देखेपछि उनलाई पनि डाक्टर बन्न मन लाथ्ग्यो । इन्जिनियरिङ पढिरहेको साथी देखेपछि इञ्जिनियर बन्ने रहर जाग्थ्यो । कतिसम्म भने, उनले निजामतीको तयारी गरिरहेका केही साथीहरुको संगत गर्ने मौका पाए । त्यसपछि महेशले पनि लोकसेवा आयोगको परिक्षा फारम भने । तर उनी परिक्षा दिन गएनन् । त्यस्तै, उनले लहलहैमा सेकेण्ड लेन्टिनेन्टको फारम पनि भरे । तर त्यहाँ पनि परीक्षा दिन गएनन । 

उनी त्यो क्षण सम्झन्छन्, ‘के–के रहर जाग्यो, जाग्यो ! तर जहाँ जे गर्न खोजे पनि म यसको लागि होइन, संगीतकै लागि बनेको हुँ कि भन्ने लाग्थ्यो ।’ 
 
उमेर बढ्दै जाँदा महेशलाई खेलकुदप्रति पनि रुची र चासो बढ्दै गयो । यो रहरले उनलाई खेलकुद पत्रकार समेत बनायो । उनले तीन वर्ष खेलकुद रिपोर्टिङ गरे । तर यसमा पनि उनी लामो समय टिक्न सकेनन् ।  भन्छन्, ’यो मेरो पहिलो व्यवसायिक जागिर थियो । तर लामो समय टिक्न सकिएन, संगीतले तानिरह्यो ।’ 

पहिलो गीत नै हिट 

महेशले खेलकुद पत्रकारिता गर्दै–गर्दा आफ्नै शब्द र लयमा एउटा गीत गोप्य रुपमा तयार पारेका थिए, नाच फिरीरी । साथीहरुसँगको भेटमा उनले दुई चार पटक योे गीत सुनाए । त्यसपछि साथीहरुले महेशलाई सुझाव दिए– यो गीत त दामी छ, रेकर्ड गर । 

महेशले घरमा कसैलाई खबर नगरी यो गीत रेकर्ड गराए । गीतको भिडियोमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्स भए । र अन्ततः गीत युटुबमा सार्वजनिक गरियो :

हावा चल्यो सिरीरी, आँटै जिरीरी
म बजाउछु मुरली तिरीरी 
तिमी नाच फिरीरी...

यही गीतबाट महेशले नेपाली संगीतको दुनियाँमा हस्तक्षेप उपस्थिति देखाए । पहिलो गीत नै करोड क्लबमा प्रवेश गर्यो । यो गीतलाई अहिले पनि कतिपयले एकान्तमा गुन्गुनाएको देखिन्छ । यूटुबमा अहिलेसम्म यो गीतलाई आठ करोड ६३ लाखले हेरिसकेका÷सुनिसकेका छन् । 

अनि दोश्रो गीत पनि उस्तै

कुनै गायकको एउटा गीत हिट भयो भने लगातार अर्को गीत पनि हिट हुन गाह्रै हुन्छ । तर महेशको हकमा अपवाद बन्यो । उनको दोश्रो गीत ‘माया विरानी’ पनि हिट साबित भयो । 

नाच फिरीरी हिट भएपछि महेशलाई दोश्रो गीतलाई अब्बल सावित गर्न सकस थियो । तर उनको कठिनाईमा निर्देशक आशिफ शाहले हातमालो गरिदिए । पहिलो गीतमा निश्चल र स्वस्तिमा फिचर्स थिए । तर दोश्रो गीतमा आशिफले महेशलाई नै फिचर्स गराउने प्रस्ताव सुनाए । जुन प्रस्ताव महेशको लागि नयाँ र फरक थियो । जे होस्, लजालु स्भावका महेश भिडियोमा देखिन तयार भए । नाजिर हुसेन, आचल शर्मा र महेश फिचर्स भएको यो गीत पनि यूटुबमा सार्वजनिक गरियो :

न ओखती खाएर निको भो
न त झारफुक गरेरै ठिक भो
माया बिरानी,
बिस्तारामा तिमीलाई सम्झेर च्याप्छु सिरानी...

संयोगवशः यो गीत पनि हिट भइदियो । यतिसम्म कि देशभरका विभिन्न सांस्कृति कार्यक्रममा यही गीत गुञ्जियो । अहिलेसम्म यो गीतलाई नौ करोड ८६ लाखले हेरिसकेका÷सुनिसकेका छन् । 

हरेक वर्ष हिट गीत 

गायकहरुलाई धेरै गीत गाउने लोभ हुन्छ । कुनै गीत हिट भयो भने त झन् केही महिनामै अर्को गीत निकालिहाल्छन् । तर महेश यसमा पनि फरक देखिन्छन् । 

उनलाई संख्यात्मक रुपमा धेरै गीत गाउनभन्दा पनि दर्शक–स्रोताले रुचाउने गीत गाउन मन छ । उनले पाँच वर्षयता हरेक वर्षमा एउटा नयाँ गीत सार्वजनिक गर्दै आएका छन् । समग्रमा हेर्दा उनले एउटा गीत सिर्जना गरेर बजारमा ल्याउदासम्म एक वर्ष खर्चेको देखिन्छ । महेशको मेहनतलाई भाग्यले पनि साथ लिएर होला, उनका पाँच वर्षमा आएका पाँच वटै गीत हिट छन् ।  जस्तो कि, उनको ‘लज्जावती झार’ लाई अहिलेसम्म तीन करोड ४० लाखभन्दा बढीले हेरेका छन् । उनको ‘तातो गोली’ गीतलाई पनि निकै रुचाइएको पाइन्छ । अहिलेसम्म यसलाई सात करोड ३२ लाखले हेरेका छन् । गत महिना मात्र उनको नयाँ गीत ‘चाइना जापान’ सार्वजनिक भएको थियो । यसलाई पनि अहिलेसम्म २१ लाखभन्दा बढीले हेरिसकेका छन् ।

आफूले सिर्जना गरेको हरेक गीत करोड क्लबमा प्रवेश गर्नुलाई महेश एउटा सुन्दर संयोग ठान्छन् । ‘बजारमा मभन्दा धेरै गायकहरु प्रतिभावान हुनुहुन्छ, तर उहाँहरु अझै ओझेल हुनुहुन्छ’, उनी थप्छन्, ‘यसमा चाही म आफूलाई भाग्यमानी नै ठान्छु, मेरो हरेक गीतलाई दर्शकले मन पराइदिनुभएको छ ।’

अस्मितासँगको ‘लभ’ र ‘ब्रेकअप’ अफवाह मात्र

एक वर्षअघि सामाजिक सञ्जालमा महेश र गायिका अस्मिता अधिकारी प्रेम सम्बन्धमा रहेको खबर छ्यापछ्याप्ती आयो । केही महिनाअघि फेरि विभिन्न सञ्चार माध्यमले उनीहरुको ‘ब्रेकअप’ भएको खबर प्रकाशित गरे । 

तर यो ‘लभ’ र ‘ब्रेकअप’ खबर भने सत्य नभएको महेश बताउँछन् । आफूहरु असल साथी मात्र भएको उनको दाबी छ । भन्छन्, ‘यो अफवाह मात्र हो । हामीले सँगै गीत गाएका छौ, सँगै स्टेज कार्यक्रम गरेका छौ । त्यसमा हाम्रो केमेष्ट्री मन पराएर शुभेच्छुकहरुले बढी सोच्नुभाको मात्र हो ।’ 

आफूहरु व्यवसायिक र व्यक्तिगत रुपमा एक–अर्कालाई चिनेको भए पनि प्रेम सम्बन्धको बारेमा आजसम्म सोच नआएको महेशले बताए । आफू अहिले सिंगल नै रहेको ठोकुवा गर्दै भने, ‘अस्मिता र म व्यवसायी मात्र होइन, व्यक्तिगत रुपमा पनि नजिक छौ । तर प्रेमको मामलामा म सिंगल नै हो ।’ 

मधेसमा ‘मेन स्ट्रिम’को म्युजिक पुगेको छैन

केही साताअघि सिराहको लहानमा महेशको भव्य कन्सर्ट सम्पन्न भयो । तर महेशलाई त्यो कन्सर्टले मधेशमा अझै नेपाली मुलधारको संगीत नपुगेको महसुस भयो । मधेस समुदायले नेपाली गीतभन्दा पनि स्थानीय भाषाको गीत र हिन्दी गीत बढि सुन्ने गरेको उनको तर्क छ । उनले भने, ‘मधेसमा अझै नेपाली मेन स्ट्रिमको म्युजिक पुगेकै छैन ।’

त्यस्तो ठाउँमा विशुद्ध नेपाली गायकको कन्सर्ट हुनु आफैंमा चुनौती र रमाइलो रहेको महेश बताउँछन् । थप्दै भन्छन्, ‘त्यहाँका जनता खासै नेपाली गीत सुन्नुहुँदैन । त्यस्तो ठाउँमा गीत गाउँदा रमाइलो पनि हुन्छ, चुनौती पनि हुन्छ ।’

टिप्पणीहरू