विरोधको स्वर चर्किएपछि रवि लामिछानेको प्रष्टीकरण - म नागरिकता विधेयकको विपक्षमा छैन

विरोधको स्वर चर्किएपछि रवि लामिछानेको प्रष्टीकरण - म नागरिकता विधेयकको विपक्षमा छैन

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता नपाउनुको पीडा आफूलाई पनि थाहा भएको बताएका छन् । 

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकता नपाउनुको पीडा आफूलाई राम्रोसँग थाहा भएकाले नागरिकता विधेयकको विपक्षमा नरहेको बताए । तर, विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति असहमति रहेको लामिछानेको भनाई छ । 

विधेयकप्रति आफूहरुको पनि स्वामित्व रहोस् भन्ने हेतुले सदनमा ल्याएर छलफल गराइनुपर्थ्यो भन्ने आफ्नो माग रहेको उनले बताए । लामिछानेले नागरिकविहीन जनताले नागरिकता पाउनुपर्नेमा आफूहरुको स्पष्ट धारणा रहेको बताए । 

लामिछानेले संसद्को रोष्टममा उभिएर आफू नागरिकता विधेयकको विपक्षमा नरहेको प्रष्टीकरण दिईरहँदा नागरिकताविहीन संघर्ष समितिले भने उनीविरुद्ध मूर्दावादको नारा लगाएको छ । आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका नागरिकताविहीनहरुले विधेयकको विपक्षमा उभिएको भन्दै लामिछानेको विरोध गरेका हुन् ।

टिप्पणीहरू