अनेकौं शौखका कतारी राजा

अनेकौं शौखका कतारी राजा

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको राजकीय नेपाल भ्रमणको विषयले सामाजिक सञ्जाल तातेको छ । कतिपयले थानीको भ्रमणलाई सामान्य रुपमा लिएका छन् भने केहीले मध्यपूर्व एसियाबाट हुन लागेको पहिलो उच्चस्तरीय भ्रमणको रुपमा खुशी व्यक्त गरेका छन् । आज सरकारले दिएको सार्वजनिक बिदा, सुरक्षा व्यवस्थापन, राष्ट्रिपतिद्वारा हुन लागेको स्वागत र बिदाई एवम् राजधानीका सडक ध्वजापताकाले सजाइएको विषयमा सर्वसाधारणले आफ्नै खालका धारणा बनाएका छन् ।

राजा थानीको पृष्ठभूमि :

सन् १९८० जुन ३ मा जन्मिएका थानी कतारका नवौँ राजा हुन् । यसअघि उनका बाबु हमाद विन खलिफा थानीले १८ वर्ष शाषन गरेका थिए । उनको आमाको नाम मौजा विन्त नसिर हो । 

मातापिताका चार सन्तानमध्ये थानी कान्छा छोरा हुन् । उनले रोयल मिलिटिरी एकेडेमीबाट अध्ययन र सैन्य तालिम पूरा गरेका छन् । त्यसो त, राज परिवारमा जेठो सन्तानले बागडोर सम्हाल्ने परम्परा हुन्छ । तर उनका जेठो दाईले राजा बन्ने इच्छा नदेखाएको बताइन्छ । सन् २००३ मा दाइको राजकीय परम्परा, शाषन र सम्पत्तिसँग कुनै मोह नभएको खबर सार्वजनिक गरियो । 

सन् २०१३ जुन २५ मा बाबुले टेलिभिजन सम्बोधनमा राजगद्दी त्यागको घोषण गरेपछि उनी कतारको राजा बनेका हुन् । ४३ वर्षका उनले ३२ वर्षको उमेरमा राजगद्दी सम्हालेका थिए । पछिल्लो समय थानी विश्वका प्रभावशाली व्यक्तिहरुको सूचीमा पर्न थालेका छन् । आफ्नो राजनीतिक, कुटनीतिक सम्बन्धसँगै व्यवसाय र लगानी पनि विश्वका विभिन्न भागमा फैलाएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार थानी आफूलाई मनपरेपछि जे गर्न पनि तयार हुन्छन् । सन् २०१९ मा उनले टर्किका राष्ट्रपति तैइप उर्दुगनलाई ५०० मिलियन डलरको विमान उपहार दिए । लगत्तै टर्कीमा उनले १५ बिलियन अमेरिकी डलर लगानी गरे । 

उनी खेलप्रति निकै चासो राख्छन् । विगतमा उनी फुटबल खेलाडीसमेत थिए । राजगद्दी सम्हालेपछि सन् २०१५ मा दोहा एसियन गेम्सका अध्यक्ष बने । उनको खेलप्रतिको मोहका कारण सन् २०२२ को फिफा वल्र्डकप दोहामा आयोजना गरिनुले पनि देखाउँछ । 

सामान्यतयाः फिफाले अत्याधिक गर्मी हुने देशमा विश्वकप आयोजना गर्दैन । तर, शेख तमिमले कतारमा वल्र्डकप गराइछाडे । विश्वकप सम्पन्न गर्न कतारले एसीसहितका आधा दर्जन स्डेडियम, होटल व्यवस्थापन, यातायात, स्वास्थलगयात क्षेत्रमा २२० बिलियन डलर खर्च गरेका थिए । 

उनको वैवाहिक जीवन पनि रोचक नै छ । हालसम्म तीनवटी श्रीमती छन् । सन् २००५ मा पहिलो विवाह जावहिर विन्त हमादसँग गरे । चार वर्षपछि २००९ मा दोस्रो विवाह अल अनौद विन्त मानासँग र, २०१४ मा तेस्रो विवाह नोरा विन्त हतालसँग गरेका हुन् । तीन वटै श्रीमतीबाट उनका एक एक सन्तान छन् । उनीहरु सबै दोहाको दरबारमा बस्दै आएका छन् । 

कतारका अमिर कारको पनि सौखिन हुन् । उनीसँग विभिन्न कम्पनीका महँगा निजी २३ वटा कार छन् । त्यसबाहेक दरबारमा सयौं कारको प्रयोग हुने गरेको छ ।

टिप्पणीहरू