कुन नेताको स्वास्थ्यमा कस्तो समस्या

कुन नेताको स्वास्थ्यमा कस्तो समस्या

राजनीतिको पनि मूल नेतृत्वमा पुस्तान्तरण नहुँदा उही पात्रले निरन्तर काम चलाइरहे । अहिले तिनै नेता फ्याट्ट–फ्याट्ट बिरामी हुन थालेका छन् । रोग सबैजसो नेतासँग छ, कसैको ठूलो र कसैको सानोमात्रै हो ।

अहिले देशवासीका निम्ति चासोको विषय बनेको छ– सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल कुन स्थितिको बिरामी हुनुहुन्छ, जसलाई घरिघरी कहिले गंगालाल त कहिले शिक्षण अस्पताल महाराजगञ्जको सिसियु (संवेदशील सघन उपचार कक्ष) मा राखेर उपचार गरिँदैछ । 

अनुमान त अनेक छन्, तर वास्तविकता हो– उमेरजन्य समस्या । अर्थात्, उमेर बढेसँगै सामान्य भनिने रोगको प्रतिरोधक क्षमतामा पनि कमी आउनाले उहाँ घरी भारत, घर गंगालाल त घरी शिक्षण अस्पताल पुर्‍याइनुभएको छ । उहाँको उपचारमा अहिले र पहिला संलग्न चिकित्सकहरू भन्छन्, ‘समस्या ठूलो होइन, बूढेशकालले अप्ठेरो पारेको मात्रै हो ।’ पुरानै समस्या हो, ब्रोंङकाइटिसको । यो भनेको घ्यारघ्यार हुँदै छाति बज्ने समस्या हो । मुटुको चालमा त्यति गम्भीर हैन, तर सामान्य समस्या देखिएको पनि २०६४–६५ सालदेखि नै हो । अहिले उमेर ८२ वर्ष भयो । त्यसैले १४–१५ वर्षअघि सामान्य भनिएका समस्याले अहिले गलाएको हुुनुपर्ने उपचारमा संलग्न चिकित्सक बताउँछन् । 

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै दिल्ली लगेर उपचार भयो । ठूलै समस्या (फोक्सोको क्यान्सर) होला भनी लगिएकोमा मामिला रहेछ निमोनियाको । त्यहाँ डा.निरज बमले उपचार गरेका थिए । उनले राष्ट्रपतिको मुटुमा कुनै समस्या छ कि भनेर उपचारमा संलग्न चिकित्सकहरूलाई सोधे । ‘समस्या त छ, तर सामान्य’ भनेपछि निमोनिया ठीक पारेर मुटुको स्थिति जाँच्ने योजना थियो । निमोनिया निको हुनासाथ नेपाल फर्किन हतार भयो । त्यसपछि मुटुतिर ख्याल गरिएन । अहिले शिक्षण अस्पतालमा भर्ना हुनुअघि बाँसबारीस्थित शहीद गंगालाल अस्पताल पुर्‍याइयो । त्यहाँ डा.चन्द्रमणि अधिकारीले मुटुको भल्भ खोलिदिएपछि फेरि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा लगिएको छ । 

०६७ सालदेखि नै समय समयमा शरीर अनियन्त्रित हुने, ढल्ने समस्या थियो । बिरामी भएको सुनेर छोरी डा.अनुज्ञा अमेरिकाबाट आएकी छन् । उनी आएपछि डा.सुदिपराज भण्डारी र डा.रोशन राउतसँग सल्लाह गरियो । मुटुको चाल, अर्थात् इसिजीको समस्या नभएर मान्छे नै कमजोर भएको हुनसक्ने चिकित्सकहरूले अनुमान लगाए । कोही रगत देख्दा, कोही कुनै भौतिक संरचना देखेर आत्तिने, बेहोस हुनेजस्तै समस्या हुनुपर्ने उनीहरूको ठहरमा छोरी अनुज्ञा पनि सहमत भइन् । त्यसपछि गंगालाल लगेर मुटुको एउटा भल्भ खोली स्टेण्ट प्रत्यारोपण गरियो । त्यसपछिको उपचार मनमोहन कार्डियो भास्कुलरका निर्देशक रत्नमणि गजुरेलले गरिरहेका छन् ।

अर्कातिर, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यबारे जे–जस्ता हल्ला चले पनि उहाँका सम्पूर्ण प्यारामिटर सामान्य अवस्थामा चलिरहेको चिकित्सकहरू बताउँछन् । भनिन्छ, स्वास्थ्यमा आएको सुधारका कारण फेरि एकचोटि पार्टी अध्यक्ष र प्रधानमन्त्री हुने उद्देश्यका साथ उहाँले ७० वर्षे उमेरहदलाई निलम्बन गर्नुभएको छ । भन्नलाई एकीकृत समाजवादी छाडेर फर्किएका नेता मुकुन्द न्यौपानेका निम्ति उक्त प्रावधान निलम्बन गरिएको भनिए पनि खासमा आफ्नै स्वास्थ्यको अनुकूलताका कारण उहाँले त्यसो गर्नुभएको हो ।

उता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा नशाको समस्या रहेको उहाँनिकट चिकित्सकहरू बताउँछन् । त्यसैले हिँड्दा विस्तारै चाल चल्ने अवस्था भएको उनीहरूको भनाइ छ । यस्तो समस्यालाई पार्किन्सनको प्रारम्भिक लक्षण पनि भनिन्छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले फिजिसियन डा. युवराज शर्मालाई नियमित रूपमा आफ्नो स्वास्थ्य जाँच गराउने गर्नुभएको छ । उहाँको मुटु र फोक्सोमा कुनै समस्या नरहेको बताइन्छ । एसका अध्यक्ष माधवकुमार नेपालमा चाहिँ सोडियमको अभाव देखिने गरेको छ । 

रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्रीसमेत रहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने हट्टाकट्टा नै देखिनुहुन्छ । 
 

टिप्पणीहरू