गुणस्तरहीन दुई औषधी बजारमा प्रतिवन्ध

गुणस्तरहीन दुई औषधी बजारमा प्रतिवन्ध

औषधी व्यवस्था विभागले दुई वटा औषधीमाथि प्रतिवन्ध लगाएको छ । बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएका ती औषधि किनबेचमा निषेध गरिएको हो । 

रुपन्देहीको एसियन फर्मास्युटिकलद्धारा उत्पादित आईएनडीएच ९०२९ ब्याच नम्बरको इन्सेफ ड्राइ सिरप र बाराको नेसनल हेल्थ केयरद्धारा उत्पादित पीडीडीटी २२०४९ ब्याच नम्बरको प्रोडोक्जिम ड्राइ सिरप न्यून गुणस्तर रहेको भेटिएको विभागले जनाएको छ । 

‘उक्त औषधीहरु न्यून गुणस्तर भएको पाइएकोले औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्नू,’ विभागले सूचना जारी गर्दै भनेको छ । 

साथै, सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुलाई निर्देशन दिँदै विभागले ती औषधीहरुको सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न पनि अनुरोध गरेको छ ।
 

टिप्पणीहरू