विप्लवलाई बोक्ने, बाबुरामलाई रोक्ने

विप्लवलाई बोक्ने, बाबुरामलाई रोक्ने

माक्र्सवादी दृष्टिकोणमा आधारित वैज्ञानिक समाजवादका पक्षधर दलबीच भएको मोर्चाबन्दीले नेपालको राजनीतिमा कस्तो असर गर्छ ? सोमबार माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेकपा विप्लव सम्मिलित समाजवादी केन्द्र नेपालको घोषणापछि यस्ता जिज्ञासा आम बनेका छन् । 

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको बुझाई छ, ‘नेकपा भत्किएपछि, अर्थात् विभाजनको जुन प्रक्रिया शुरु भएको थियो, त्यो सकियो र अर्को पुनर्गठन एकता र सहकार्य, समझदारी गरी संयुक्त मोर्चातिर गयो ।’ उनले समाजवादी केन्द्र एउटा राम्रो सुरुवात पनि हुन सक्ने आकलन गरेका छन् । भन्छन्, ‘यसको अर्थ हो, त्यसले मुभमेन्ट फेरि रिअर्गनाइज हुने, एकताको प्रक्रिया नयाँ दिशातर्फ जाने । 

शुरुमा नेकपा, त्यसपछि एमाले–माओवादी विभाजनको शून्यता, त्यसबाट उत्पन्न रिक्ततालाई पछि जन्मिएका रास्वपाजस्ता दलहरूले चिर्न खोजिरहेको स्थितिबीच समाजवादी केन्द्रले त्यसलाई निस्तेज पार्न खोजिरहेको विश्लेषकहरूको भनाइ छ । प्रश्न उठ्छ रास्वपाजस्ता विचारविहीन जमातलाई निस्तेज गर्ने मामिलामा समाजवादी केन्द्र कत्तिको असरदार हुन सक्ला ? भुसालको भनाइ छ, ‘त्यसो भन्ने कि नभन्ने अर्को कुरा भयो । तर, वामपन्थीबीचको एकतातर्फ वातावरण फर्कियो ।’ एकतामा फर्किनु आधारभूत वा पहिलो विषय भन्दै भुसालले एकतातर्फ जाँदा त्यसले क–कसलाई प्रभावित पार्छ ? भन्ने विषय ‘परिणाम’ सँग सम्बधित हुने बताए । उनले भने, ‘तत्कालका लागि एउटा मोर्चा सरकारमा समान धारणासहित निर्णायक शक्तिका रूपमा रहने भयो ।’ कारण हो, मोर्चासँग उपलब्ध संख्यात्मक शक्तिका आधारमा कसैले पनि सरकारलाई यताउता गर्न सक्दैन । 

मोर्चाले मूलधारको राजनीति वा संसदीय अभ्यासभन्दा बाहिरबाट आएको विप्लव नेतृत्वको नेकपालाई समेत जोडेको छ । समाजवादी नेताहरू यसलाई ‘प्लस प्वाइन्ट’ का रूपमा चित्रित गरिरहेका छन् । भुसाल भन्छन्, ‘विप्लवजत्तिको नेताले संविधानलाई रक्षा, कार्यान्वयन र आवश्यकताअनुसार परिमार्जित गर्दै जाने भन्नु स्वागतयोग्य छ ।’अहिले बाबुराम अलग दलको हैसियतले मोर्चामा सामेल नभए पनि प्रकारान्तरमा उनको उपस्थिति हुने विश्वास स्वयं प्रचण्डबाट व्यक्त भएको छ । 

मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा छ । बाबुराम भर्खरै त्यहीँबाट विभाजित भएका कारण एकले अर्काको अस्तित्व स्वीकार नगर्ने स्थितिमा छन् । फेरि संसदीय राजनीतिलाई हेर्दा जसपासँग १२, डा.बाबुरामसँग एउटा मात्रै सीट छ । एउटालाई बोकेर १२ लाई गुमाउनेतिर अरु नेताले मन लगाएनन् ।

हल्ला थियो, वामदेव गौतम नेतृत्वको एकता अभियान पनि सामेल हुने । तर, ‘जोखना’ हेर्दाहेर्दै उनी छुटेका छन् । अरु नेतालाई वामदेवसँग डर भयो, उनको ढुलमुले शैलीको । ‘आज उहाँ मोर्चामा सामेल हुनुहोला, भोलि नै फेरि म त छैन है भन्ने मान्छे’, एकजना नेताले भने, ‘बरु, उहाँ एमालेतिर गएकै बेश ।’यसबीच, फेरि पनि समाजवादी केन्द्रमा डा.बाबुराम भट्टराई किन सामेल हुनुभएन ? बाहिर चर्चा छ, उपेन्द्र यादवको आपत्ति रह्यो । तर, कुरा यत्तिमात्रै होइन रहेछ । 

भनिन्छ नि, ‘जहाँ बाबुराम, त्यहीँ प्रचण्डलाई समस्या !’ वाह्य राजनीतिमा प्रचण्डभन्दा बढी ‘खेल्न’ सक्ने, आन्तरिक राजनीतिमा हावी हुने पुरानै चरित्र कायमै रहेको स्थितिमा बाबुरामलाई बोक्दा फेरि समस्यामा परिएला भनेर उहाँलाई प्रचण्डबाटै पन्छाउने काम भएको मोर्चाका एक नेताले बताए । माओवादीभित्र अहिले पनि जनार्दन शर्मासहित प्रचण्डसँग असन्तुष्ट नेताहरूको एउटा पंक्ति छ ।

बाबुराम भित्र छिर्नासाथ उक्त पंक्तिलाई नेतृत्व गर्नुहोला र अर्कोखाले ध्रुवीकरणको विकास होला भन्ने भयमा प्रचण्ड देखिनुहुन्छ । समाजवादी केन्द्र गठन गर्नेबारे चलेका प्रायः छलफलमा बाबुराम सहभागी हुनुभयो । उहाँले ट्वीट गरेरै त्यो कुरा प्रस्तुत पनि गर्नुभयो । तर, करिव करिव निर्णायक छलफल गर्ने बेला भएपछि बाबुराम देखिनु भएन । माओवादी केन्द्रकै एक नेताले बैठकमा कुरा उठाए, ‘खै त बाबुरामजी ?’ उनले कुरा उठाएपछि अर्को दिनको बैठकमा स्थिति उल्टो भयो । बाबुराम त बैठकमा बोलाइनु भएन नै, उहाँको अनुपस्थिति खड्किएको भनेर अघिल्लो दिन कुरा कोट्याउने माओवादी नेताले पनि भोलिपल्टदेखि बैठकमा ढिम्किन पाएनन् ।

एकातिर बाबुराम स्वयंलाई निषेध गर्ने, अर्कातिर उहाँका सांसद महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठलाई बालुवाटार बोलाई–बोलाई आफूतिर ल्याउने प्रयास जारी छ । त्यसमध्ये सर्लाहीबाट माओवादीकै चुनाव चिह्नमा संघीय सांसद भएका महिन्द्रराय यादव आजै, अहिल्यै गइहालौं भन्नेमा देखिन्छन् । प्रचण्डका निम्ति बाबुरामको उपयोगिता त्यतिबेलासम्म मात्रै थियो, जब उहाँले गोरखाको चुनाव जित्नुभयो । त्यसपछि समाजवादी केन्द्रको अभ्यास शुरु भयो । ‘नेकपा (समाजवादी) बनाएर जाऔं, बहस छलफल गर्दै जाऔं’ भनेर प्रचण्डले बाबुरामसँग चुनावअघिदेखि नै कुरा गर्दैै हुनुहुन्थ्यो । बाबुरामले राजनीतिमा सक्रिय हुनेभन्दा आर्थिक, सामाजिक विषयमा केन्द्रित हुने भन्ने गर्नुभएको थियो । पछि प्रचण्डले साह्रै भन्नुभयो भन्दै बाबुराम समाजवादी केन्द्र बनाउनेतिर अग्रसर पनि हुनुभयो । बाबुरामको पार्टीलाई माओवादीमा गाभ्ने कुरा थियो । तर, अन्तिममा नारायणकाजीलाई ‘तगारो’ बनाइयो । भनियो, ‘सब कुरा नारायणकाजीले बिगारेपछि मेरो त केही चलेन !’ यसरी बाबुरामलाई प्रचण्डले पन्छाउनुभएको चर्चा नेताहरूको बीचमा छ ।

चुनावका बेला शुरुमा प्रचण्डले आफू गोरखा हैन, चितवनबाटै उठ्ने भनेपछि बाबुरामले नारायणकाजीलाई टोखास्थित आफ्नो घरमै बोलाएर यो कुरा सुनाउनुभयो । भन्नुभयो, ‘अब प्रचण्डपछिको नेतृत्वका रूपमा तपाईं विकास हुनुपर्छ ।’ त्यहाँबाट नारायणकाजी ‘अब एकता गरेर अगाडि बढ्नुपर्छ’ भन्नेमा पुगिसकेपछि फेरि उनलाई नै देखाएर प्रचण्डले बाबुरामको बाटो रोकेको चर्चा छ । यद्यपि, प्रचण्डले भनेजस्तो नारायणकाजी बाबुरामको हकमा त्यति बाधक थिएनन् । एकताका निम्ति वार्ता टोली बन्यो । आधार तय गरियो । तर, प्रचण्डबाट रेस्पोन्स भएन । पहिला जसरी नारायणकाजी देखाएर बाबुरामलाई रोकियो, अहिले उपेन्द्र यादवलाई देखाएर रोकिएको चर्चा मोर्चाका नेताबीच हुने गरेको छ । 

बाबुरामप्रति प्रचण्डमा निर्णायक विचलन आउनुको घटना हो, भारतीय विदेश सचिव विनयमोहन क्वात्राको माघमा नेपाल आगमन । क्वात्राले प्रचण्डलाई भन्दा बाबुरामलाई महत्व दिएपछि उहाँमा झस्का पसेको नेताहरूले बताउने गरेका छन् । प्रचण्डलाई पार्टीभित्र बाबुरामपछि पहिलोपटक खुला च्यालेञ्ज गर्ने व्यक्तिका रूपमा जनार्दन शर्मा (प्रभाकर) हुन् । त्यसैले कृष्णबहादुर महरा लगाएर विप्लवलाई माओवादी प्रवेश गराइने र महासचिव बनाइने पक्कापक्कीजस्तै छ ।

वर्षमान पुनसँग विप्लवहरूको पनि कुरा मिल्दैन । त्यसो त वर्षमान स्वास्थ्यका कारण अब पहिलाजस्तो सक्रिय हुने स्थितिमा छैनन् । यो घटनाले जनार्दन, वर्षमान एक ठाउँमा आउँदा प्रचण्डलाई खासै समस्या हुँदैन । तर, त्यहाँभित्र बाबुराम छिर्दा र उहाँले त्यो कित्तामा मिलेमतो गर्दा भयंकर समस्या पर्छ भन्ने बुझेर पन्छाइएको बुझिन्छ । तर, विप्लवबाट आफूविरुद्ध गुटबन्दी हुँदैन भन्ने कुरामा स्वयं प्रचण्ड विश्वस्त हुनुहुन्छ । त्यसैले उहाँलाई अहिले पार्टी बनाउनेभन्दा बढी मोर्चाका नाममा बार्गेनिङ पावर बढाउने र कहिले एमाले, कहिले कांग्रेसलाई आफ्नो बशमा राखिराख्ने नियत रहेको नेताहरू बताउँछन् । 
 
 

टिप्पणीहरू