रावललाई वामदेवपछि इन्गेज गर्ने चाल

रावललाई वामदेवपछि इन्गेज गर्ने चाल

एमाले अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावललाई नेकपा (एस) वा सोमवार बनेको समाजवादी मोर्चामा जान नदिनका लागि इन्गेज मात्र गरेको आशंका बढ्न थालेको छ ।

स्वयं रावलले पटक–पटक अन्य पार्टीमा नजाने बताइरहे पनि एमाले नेतृत्व रावल एकीकृत समाजवादीमा जान्छन् भन्नेमा विश्वास गर्छ त्यसैले उनलाई अनेक तरिकाले अल्झाउने रणनीति लिइएको एमाले स्रोत बताउँछ ।नेकपाकाल र १० बुँदे सहमतिपछि पनि एमाले अध्यक्ष ओलीका क्रियाकलापको खरो आलोचना गर्दै आएका उनलाई लामो समयदेखि पार्टीको जिम्मेवारीभन्दा बाहिर राखिएको छ । 

उनलाई ओलीविरुद्ध चितवन महाधिवेशनमै लडेकै कारण जिल्लाबाट एकल नाम सिफारिस हुँदा पनि अछाम क्षेत्र नम्बर १ को उम्मेदवार बन्नबाट ओलीले रोकेका थिए । यो बीचमा चैत १८ गते शनिवार एमालेको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा उनीसँग कुरा गर्न वार्ता टोली बनाएको थियो । सुदूरपश्चिमेली नेताहरू लेखराज भट्ट र कर्ण थापासमेत सदस्य रहेको सो टोलीले वैशाख ३ गते आइतबार पार्टी कार्यालयमै रावलसित छलफल गरेको र जिम्मेवारी दिने प्रक्रिया थालिएकोसमेत भनिएको थियो । 

ओली र रावलको भेट गराउने कुरा पनि थियो । तर ओलीले रावलसित भेट्न चाँसो नदेखाएपछि जिम्मेवारीमा फर्काउने प्रयास असफल भएको एक नेताले बताए । ओलीले केही भूमिका दिन खोजेको भए तीन महिनासम्म अल्मराई राख्थे, वार्ता टोली बनेको तीन महिना भएन र ? ती नेताले प्रतिप्रश्न गरे । 

रावललाई समेट्नका लागि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दयालबहादुर शाही र केन्द्रीय पर्यटन विभागका सदस्य रमेश कुँवरले ओलीलाई पटकपटक भेटेको चर्चा पनि छ । 
 

टिप्पणीहरू