हुँदै नभएको वडामा कताबाट पुल हाल्ने होला ?

हुँदै नभएको वडामा कताबाट पुल हाल्ने होला ?

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेट वक्तव्यमा उत्साह देखिएको छैन । योजना तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह तामाङले प्रस्तुत गरेको बजेटको आकार ६३ अर्ब ६० करोड छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सामाजिक सञ्जाल फेसबुकमै बजेटप्रति गुनासो गरेका छन् । गाउँपालिकाले बहुचर्चित परेवाभीर खण्डलाई ट्रयाक निर्माण गरेर ९ महिना चल्ने बनाएको उल्लेख गर्दै उनले प्रदेश सरकारसँग १२ महिना नै मोटर चल्ने बनाउन माग गर्दा २० लाख रुपैयाँ विनियोजन गरिदिएको प्रसंग उठाएका छन् ।

जबकि, हालका मुख्यमन्त्री एवं तत्कालीन योजना तथा आर्थिक मामिलामन्त्री शालिकराम जमकट्टेलले परेवाभीर खण्डमा बहुवर्षे ठेक्का लाग्ने र सोको लागि २२ करोड रुपैयाँ बिनियोजन भएको अघिल्लो आर्थिक वर्षमै परेवाभीर खण्डमै पुगेर घोषणा गरेका थिए । 

अर्काे रमाइलो कुरा पनि छ बागमतीको बजेटमा । हेटौँडा उपमहानगरपालिकामा जम्मा १९ वटा वडा छन् । तर, बजेट वक्तव्यमा २० र २२ नं वडा जोड्ने गरी कर्रा खोलामा पुल निर्माण गर्ने भनेर बजेट छुट्याइएको छ । हुँदै नभएको वडा जोड्नका लागि पुल हाल्ने बजेट आएपछि वडाध्यक्षहरूले सत्ताधारी दललाई उडाइरहेका छन् । 

मकवानपुरमा यसपटक कांग्रेस नेता इन्द्रबहादुर बानियाँभन्दा पनि सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायको पहुँच भएकाले बजेट आफूअनुकूल र मन परेका ठाउँमा मात्रै खन्याइको चर्चा छ । मन्त्रीले बजेट वक्तव्य सार्वजनिक गरे पनि ‘बजेट पारिदिनु भएकामा दिदीलाई धन्यवाद’ भन्दै सामाजिक सञ्जालमा कांग्रेस कार्यकर्ताले उपाध्यायलाई धन्यवाद दिइरहेका छन् । 

०७९ को मंसिर ४ गते भएको संसदीय चुनावपछि बानियाँ र उपाध्यायको सम्बन्ध बिग्रेको छ । देउवा प्यानलमै रहेका दुबै नेताले एक अर्कालाई हराउने खेल खेलेको आरोप लगाइएको छ । जसकारण उपाध्याय माओवादी, समाजवादीसहितको गठबन्धन हुँदासमेत हारिन् भने बानियाँ झिनो मतान्तरले जित्न सफल भए । 

 

टिप्पणीहरू