सचिवको खातामा रातारात लाखौँ सञ्चय

सचिवको खातामा रातारात लाखौँ सञ्चय

मासिक ७२ हजार हाराहारी तलब थाप्ने सचिव टेकनारायण पाण्डेको खातामा चार महिनामै ८५ लाख रुपैयाँ बैंक ब्यालेन्स कसरी थपियो ? यसरी नक्कली भुटानी प्रकरणमा संलग्न सचिव पाण्डेसहितका प्रतिवादीको बैंकिङ कारोबारसम्बन्धी विवरण अध्ययन गर्दा पैसाको डरलाग्दो जालो फेला परेको छ । पाण्डेले सञ्चयकोषका लागि खोलेका एभरेष्ट र हिमालयन बैंकका दुई खातामा ०७८ मंसिर २ गतेदेखि ०७९ वैशाख २३ सम्मको अवधिमा ८४ लाख ९४ हजार ९८ रुपैयाँ १३ पैसा जम्मा भएको छ । उक्त रकम उनका पिएसओ धर्मराज शाहीले जम्मा गरिदिएका हुन् । 

त्यस्तै, तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) का सुरक्षा सल्लाहकार इन्द्रजित राईले नक्कली शरणार्थी प्रकरणमा पैसा उठाउँदै जग्गामा लगानी गर्ने गरेको भेटियो । नेपाल इन्भेष्टमेण्ट र मेघा बैंकस्थित उनको ०१९००५०७६१८८२ नम्बरको खातामा ०७८ भदौ १४ देखि असोज १७ गतेसम्ममा ३ करोड ४५ लाख ५३ हजार रुपैयाँ जम्मा भएको देखिन्छ । सोही बैंकमा इन्द्रजित र श्रीमती भुवनदेवी राईको संयुक्त खाता नंं ०१९०१७४०७२९६ मा ०७८ वैशाख २१ मा ७३ लाख कर्जा लिई ७८ भदौं १२ मा ७३ लाख ८५ हजार कर्जा चुक्ता गरेको भेटिएको छ ।

इन्द्रजितले २०७६ असोज ९ मा पत्नी भुवनदेवीको नाममा कित्ता नं.९८७ क्षेत्रफल ०–८–१–० भएको जग्गा साविक जग्गा धनी अम्बिका राई र नवीना राईबाट ३६ लाख ५० हजारमा खरिद गरेको लिखत देखिएको छ । तर, कागज गर्दा ७७ लाखमा खरिद गरिएकोमा ६२ लाख तिरिएको र १५ लाख तिर्न बाँकी रहेको देखाइएको छ । उनैले २०७८ वैशाख १४ गते साविक जग्गाधनी समिरा कार्कीबाट चार आना जग्गा भुवन देवी राईको नाममा खरिद गर्दा एक करोड ८३ लाख तिरिएको कागज भेटिएको छ । २०७७।०६।०२ मा साविक जग्गाधनी श्याम महर्जनबाट कित्ता नं. ११२७ को चार आना क्षेत्रफल भएको जमिन १० लाख ३५ हजारमा खरिद गरेको पाइएको छ । 

त्यस्तै, रामेछापका कांग्रेस नेता आङटावा शेर्पाको कुमारी बैंकको खाता नम्बर ०१९००१२६५४५००००२ मा जाहेरीवाला तेञ्जीफुटी शेर्पा, लामाडोमा शेर्पा र सोनी शेर्पाले २०७९ असोज १३ मा ६/६ लाखका दरले १८ लाख जम्मा गरेको पाइएको छ । एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप र अर्का प्रतिवादी सानु भण्डारीको पार्टनरसीपमा रहेको लियोन ट्रेडर्स प्रालिमा सानु भण्डारीले ४० लाख जम्मा गरेको देखिन्छ । केशव तुलाधरको नाममा रहेको सिद्धार्थ बैंकको खाता नम्बर ००४११५१४९३९ मा ०७८ साउन २६ मा १ करोड ७८ लाख जम्मा भएको र भोलिपल्टै केशवले झिकेका छन् । ०७८ साउन ३१ मा गजेन्द्र बुढाथोकीले २० लाख जम्मा गरिदिएको पाइन्छ । सोही खातामा ०७८ असोज १५ मा १५ लाख जम्मा भएको छ । 

लक्ष्मी महर्जनको खाता नम्बर ००२०३८४६९००१८ बाट ०७८ मंसिर २८ मा हरिभक्त महर्जनको खातामा १० लाख ८, भदौ २७ मा केशव तुलाधरको खातामा ९ लाख ५० हजार, हरिभक्तको खातामा ०७८ भदौ ५ मा ९ लाख ९९ हजार १५ रुपैयाँ पठाइएको छ । यस्तै, साम्बेर तामाङले १० जनवरी २०२१ मा ९ लाख ५० हजार र भोलिपल्टै ९ लाख ९९ हजार जम्मा गरिदिएका छन् । २४ अगस्ट २०२१ मा गजेन्द्र बुढाथोकीले ९ लाख ९९ हजार, सोही दिन विनोद लामाले ९ लाख ५० हजार र २४ डिसेम्बर २०२१ मा गजेन्द्र बुढाथोकीले १० लाख जम्मा गरेको देखिन्छ । 

यस्तै सानु भण्डारीको हिमालयन बैंकको खाता नम्बर ०३६०८२२६२३००१६ मा प्रेमराज पन्थीले ३० लाख, टीका चौधरीले दुईपटक गरी १० लाख, केशवप्रसाद दुलालले ८ लाख, रामशरण केसीले दुईपटक गरी १३ लाख, दिनेशनाथ योगीले ४ लाख, निमबहादुर खत्रीले दुई पटक गरी १० लाख, दिनेशबहादुर महताराले ५ लाख, श्रद्धा बुढामगरले ७ लाख, विपिन रोकामगरले ६ लाख, विष्णुप्रसाद पुरीले ५ लाख, टंकप्रसाद शिवाकोटीले २ लाख, इन्द्रजित राईले ७ अगष्ट २०१९ मा ९ लाख ९९ हजार र भोलिपल्टै ९ लाख ९९ हजार जम्मा गरिदिएको देखिन्छ । यस्तै, टंकप्रसाद शिवाकोटीले ९ लाख, रामशरण केसीले ३५ लाख, धिरेन राईले १० लाख, निरञ्जनकुमार खरेलले चार पटक गरी २९ लाख र टीकाराम चौधरीले १० लाख जम्मा गरेको देखिन्छ । 

उता, भुटानी शरणार्थी नेता टेकनाथ रिजालले ५ लाख, अशोक पोखरेलले पाँच लाख, निरञ्जनकुमार खरेलले ९ लाख ९९ हजारका दरले दुई पटक रकम झिकेका छन् । केशव दुलालले ५ लाख, रामशरण केसीले दुई पटकमा २६ लाख र निरञ्जनकुमार केसीलाई अर्काे पटक उनको खाताबाट नौ लाख भुक्तानी भएको देखिन्छ ।
 

टिप्पणीहरू