सरकारी टिभीमा झण्डै कुटाकुट

सरकारी टिभीमा झण्डै कुटाकुट

सरकारी मुखपत्रको रुपमा रहेको नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने विधेयक संसदको दुवै सदनबाट पारित भइसकेको छ । यही बेला नेपाल टेलिभिजनमा करारका पत्रकारले सिंहदरबारस्थित समाचार कक्षमै पुगेर आक्रमण गर्न खोज्दा स्थायी र वरिष्ठ पत्रकार ज्यान जोगाइपाऊँ भन्दै निवेदन हाल्न बाध्य भएका छन् ।

रेडियोमा साताैँ तहको निवृत्तिभरणप्राप्त कर्मचारी समीरजंग शाह अहिले टेलिभिजनमा तेह्रौं तहको कार्यकारी अध्यक्ष छन् । कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पहिले रेडियो नेपाल र पछि टेलिभिजनमा भर्ती गरेका हुन् । 

उनी आएपछि २५ करोड आम्दानी घटेको हिसाब लेखा शाखाले निकालेको छ । समीरले ३१ जना पत्रकार र अरुलाई करारमा जागिर दिएका छन् । विद्यमान मापदण्डअनुसार करारमा भर्ती गर्दा पनि प्रतिस्पर्धा गराएर अब्बललाई छनोट गर्नुपर्ने हुन्छ । तर ३१ सै जनालाई तोकआदेशबाट टेलिभिजनमा ल्याइएको हो ।

लालकुमार भट्टराई तिनैमध्येका हुन् । उनले हालै चिफ रिपोर्टरको भूमिकामा रहेका निरज साउदलाई समाचार कक्षमै पुगी हमला गर्न खोल्दा टेलिभिजनमा तनाव सिर्जना भएको बताइन्छ । अध्यक्षले भर्ना गरेका मानिसबाट आफ्नो ज्यान असुरक्षित रहेको निरजको निवेदनमा उल्लेख छ तर अध्यक्षले भने स्थायी कर्मचारीलाई पाखा लगाएर लालकुमारबाटै प्रमुख रिपोर्टिङ गराउँदै आएका छन् ।

केही समयअघि लालकुमारले नै बेलुका ८ बजेको समाचारमा तामाङ भाषाको रिपोर्ट भूलवश बजाइदिएका थिए । चिफ रिपोर्टर निरजले खटाएको रिपोर्टिङ नगर्ने भन्दै असार ६ गते दिउँसो अन्दाजी १२ बजे लालकुमारले आक्रमण गर्न खोजेको उजुरी समीरजंगकोमा पुगेको छ । 
 

टिप्पणीहरू