भीम रावलसँग वार्ता जारी कि भंग ?

भीम रावलसँग वार्ता जारी कि भंग ?

एमालेमा रहे पनि अध्यक्ष ओलीसँग विमति राख्दै आएका डा. भीमबहादुर रावललाई पार्टी काममा फर्काउन गठित वार्ता टोलीको अस्तित्वबारे प्रश्न उठ्न थालेको छ । तीन महिनाअघि बनेको टोलीले आफ्नो काम सकेको बताउनु, नेतृत्वले कुनै वास्ता नगर्नु र सुदूरपश्चिमसँगै जोडिएकाहरू रहेको वार्ता टोलीका सबैको जिम्मेवारी फेरिनुले अनेक प्रश्न उठेको हो । 

चैत १८ गते एमालेको सचिवालयले बनाएको टोलीमा उपाध्यक्ष विष्णु पौडेल, सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट र सहइञ्चार्ज कर्णबहादुर थापा थिए । संयोजक पौडेललाई त्यतिबेला सुदूरपश्चिम दुईमहिने ग्रासरुट कार्यक्रमको संयोजक बनाइएको थियो भने सो जिम्मेवारीपछि उनी पुरानै काममा फर्किएका छन् । यस्तै भट्ट कर्णाली र थापा केन्द्रको विभागमा सरुवा भएका छन् । 

वार्तामा रहेकाहरूकै कार्यक्षेत्र परिवर्तन भएपछि सो टोली अस्तित्वमा छ र ? भनेर एकजना केन्द्रीय सदस्यले महासचिव शंकर पोखरेललाई सोधेको तर पोखरेलले कुनै जवाफ नदिएको चर्चा छ ।  कर्ण थापाले पनि रावलसँग वैशाख ३ गते भएको छलफलबारे अध्यक्ष ओलीलाई जानकारी गराएपछि वार्ता टोलीको काम सकिएको टिप्पणी गर्ने गरेका छन् । ‘रावल एमाले हो, एमालेमा बस्नु हुन्छ नै ! उहाँलाई उपयुक्त जिम्मेवारी दिने काम नेतृत्वको हो’, थापाले भन्ने गरेका छन्​ । 

एमाले विभाजन हुनुअघि १० बुँदे सहमतिको खाका बनाएका डा. रावलले पनि वैशाख ३ गतेपछि वार्ता टोली र एमाले नेतृत्वसँग कुनै कुरा नभएको बताउँदै आएका छन् । केन्द्रीय सदस्य दयालबहादुर शाहीसँगै एमालेमा रावलको भूमिका आवश्यक छ भन्दै ओलीको घरसम्म पुगेका केन्द्रीय पर्यटन विभागका सदस्य रमेश कुँवर पनि वार्ता टोलीको अस्तित्व सकिएकाले अध्यक्षले छलफल गरेर रावललाई जिम्मेवारीमा फर्काउनुपर्ने बताउँछन् । 
 

टिप्पणीहरू