सबै श्रेणीहरू

अन्तर्राष्ट्रिय विमानस्थलमा अचम्म

अन्तर्राष्ट्रिय विमानस्थलमा अचम्म

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा यात्रुहरूको सहजताका लागि सञ्चालन गरिने २२ वटा सेवा केन्द्रमध्ये एक हप्तादेखि करिब एक दर्जन मात्र खुल्ने गरेका छन् । सेटिङमा रहेका भनिएका कर्मचारीलाई अध्यागमन कार्यालयबाट ठूलो हल्लिखल्लीका साथ खेदाइयो तर दरबन्दीमा रहेका ती कर्मचारीको स्थानमा नयाँ सरुवा गर्न नसकेपछि सेवा केन्द्र नै बन्द गर्नुपर्ने अवस्था बनेको छ । 

सरुवा र पदस्थापन नियमित भइरहने सरकारी कार्यालयमा अन्त खटाइएका कर्मचारीको स्थानमा नयाँ कर्मचारी ल्याई काम सिकाएर मात्र पुरानालाई रमाना दिने गरिन्छ । तर, जनआस्थामा अध्यागमनमा कर्मचारी जान नमानेपछि सरुवा गरिएका कर्मचारीबाटै काम गराउन बाध्य भएको समाचार प्रकाशित भएलगत्तै मन्त्रालयले सरुवा गरिएका स्थानमा नयाँ कर्मचारीको पूर्ति नै नगरी हतारमा कथित सेटिङका कर्मचारीलाई खेदायो । नयाँ कर्मचारी जान नमान्ने र पुरानालाई आरोप लगाएर खेदाएपछि अहिले २२ वटा सेवा केन्द्रमध्ये आधा मात्र सञ्चालन गरिएको हो ।

विदेशी यात्रुको मुख्य प्रवेशद्वारका रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल उनीहरूलाई नेपालबारे प्रथम प्रभाव पार्न सकिने र देशको छवि निर्माण गर्न सहयोग पुर्याउने स्थान पनि हो । तर विदेशीहरू नेपाल प्रवेश गर्ने यही स्थानको अध्यागमनमा घण्टौंसम्म कुर्नुपर्ने भएपछि मुलुककै छविमा समेत नकारात्मक असर नपर्ला भन्न सकिन्न । 

कर्मचारी अभावका कारण अहिले नेपाल भित्रिने यात्रुले आफूलाई वैध यात्री बनाउन घण्टौं कुर्नुपर्ने मात्र नभई काम जानेका कर्मचारीलाई सट्टामा अरू कर्मचारी नल्याई पठाइदिनाले कार्यालयीय चिठ्ठीपत्र बनाउन र दैनिक प्रशासन चलाउन पनि कठिन हुने अवस्था बनेको बताइएको छ । गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमनबाट दर्जनौं कर्मचारीलाई सेटिङमा बसेको आरोप लगाएर अन्त पठाइनु र त्यहाँ अरू कर्मचारी जान नमान्नुको प्रमुख कारणका रूपमा अध्यागमन विभागका महानिर्देशक र विमानस्थल अध्यागमन कार्यालयका प्रमुखको रिपोर्टिङ रहेको छ ।

उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई एयरपोर्ट अध्यागमनमा कार्यरत अधिकांश कर्मचारी सेटिङमा चल्ने गरेको र आफूहरूले भनेको कुरा नसुन्ने तथा निर्देशन अटेर गर्ने गरेको भनेका छन् । दुई प्रमुखका कुरा सुनेर प्रभावित बनेका मन्त्रीले सेटिङमा चल्नेहरूलाई किन सरुवा नगर्ने भन्दै नाम मागेपछि हाकिमले नै नाम दिएका आधारमा उनीहरू त्यहाँबाट हटाइएका हुन् । सेटिङमा रहेका भनी झण्डै दुई दर्जन कर्मचारीलाई हटाइएपछि अध्यागमन कार्यालयमा के–कस्ता सुधार भए त भन्न सकिने अवस्था नभएको अध्यागमन विभागका एक उपसचिव बताउँछन्  । 

गृहका आमकर्मचारीको बुझाइ भने हाकिमहरूले मन्त्रीका सामु आफूहरूलाई पानी माथिको ओभानो बनाउन केही कर्मचारीलाई आरोपसहित खेदाएका हुन् भन्ने छ । जुन हाकिमको मातहत काम गरिन्छ उसले नै कर्मचारीबारे अत्यन्त नकारात्मक रूपले माथिकालाई सुनाएपछि कर्मचारी त्यहाँ जान हच्किने नै भए । फेरि भोलि कार्यसम्पादन मूल्यांकन गरी यसवापतको वृत्ति विकाससँग जोडिने नम्बर समेत दिने यस्ता हाकिमका भर परेर कुनै कर्मचारीले आफ्नै भविष्यमा लात कसरी हानोस् ? गृहकै एक प्रथम श्रेणीका कर्मचारीको दुखेसो छ ।