सुब्बाद्वारा प्रचण्डको नाम बिक्री, ओलीको सत्तोसराप

सुब्बाद्वारा प्रचण्डको नाम बिक्री, ओलीको सत्तोसराप

‘२ पटक निस्किन खोजें, बूढाले पर्ख पर्ख भने’ 
‘ओली आएर टाइम खाइदियो’
‘प्रधानमन्त्रीको भित्री च्याम्बरमा छिर्दा मोबाइल लान नमिलेर बाहिरै छुट्यो, तपाईंको तिर्न पर्ने पैसाको चेक काटिदिन्छु, भेट्न पाऊँ, असारभित्र मल ल्याइसक्छु, त्यसभन्दा अगाडि मुद्दाको सुनुवाइ नहोस् । मेरो मल काण्डको पेशी साउनसम्म जसरी पनि सारिदिनु पर्‍याे ।’

हेर्दा ठूलै दलको नेता या उच्च पदस्थ सरकारी पदाधिकारीको झल्को दिने यी लेखाई भर्खरका ठिटा र एकदमै तल्लो तहका कर्मचारीको हो भन्ने सुन्दा अचम्म लाग्ला । तर यो वास्तविकता हो । प्रविधिले सितिमिति झूठो बोल्दैन । त्यही प्रविधि गलपासो बन्ने प्रमाणसहितको समाचार हो यो । उच्च अदालत, पाटनका हाकिमलाई मल काण्डको पेशी सार्न प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको नाम बेच्ने नायव सुब्बाको थप कर्तुत छरपष्ट भएको छ । 

उनले गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दाको यही असार ३१ गतेलाई पेशी चढेको छ । करिब चार वर्ष सरकारी सेवामा बिताएका ती सुब्बासँग ६ करोड २४ लाख चार हजार रूपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको थियो । बैध, चलअचल सम्पत्ति ५० देखि ६० लाखको बीचमा रहेको तर ३ वर्षमै अस्वाभाविक ठहरिने गरी सवा ६ करोड कुम्ल्याउन सफल भीमकान्त भण्डारी थुनछेकलगत्तै १२ लाख धरौटीमा छुटेका थिए । 

होटलमा अफिस, करोडौंको कारोबार

गुल्मीका भण्डारी हुनेखाने परिवारका होइनन् । वर्षभरिको उब्जनीले तीन महिना पनि खान नपुग्ने परिवारमा जन्मिएका उनी छोटो अवधिमा करोडौंंको मालिक बनेका छन् । उनको अस्वाभाविक कमाइ देख्नेजति सबै आश्चर्यचकित छन् । ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा नायव सुब्बाको पदबाट जागिर शुरु गरेका उनी माओवादीका एक से एक मन्त्रीहरूको पिए बसेका थिए ।  त्यही आडमा करोडौंको सम्पत्ति जोडेका र कोपुण्डोलस्थित  विध म्यानेजमेण्टसँग जोडिएका उनले कोरोना महामारीको बेला सरकारी स्वास्थ्य सामग्री खरिद गर्ने ठेक्का पाए । रासायनिक मल आयात धन्दा पनि चलाए । 

पोहोर समयमै मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडद्वारा कालोसूचीमा परेको विधले फेरि पनि मल ल्याउने सुरसार गरेको छ । हिमालयन होटलका साहुजी नवीन तुलाधरसँग मिलेर यही असारभित्र मल ल्याउन लागेका उनको कारणले गत वर्ष कृषकहरूको बिचल्ली भएको थियो । 

किसानलाई मल आवश्यक परेको बेला बेपत्ता हुने ठेकेदार विश्वबजारमा मलको भाउ घटेपछि आधा मूल्यमा ल्याएर बेच्छु भन्दै हिँडेका छन् । यसअघि चार पटक म्याद थप्दा पनि मल नल्याएको विधलाई अहिले हतारो परेको छ । 

असार मसान्तभित्र करोडौंको मल भित्र्याउने योजनामा रहेका उनले मुद्दा सार्न हरसम्भव कोशिस गरिरहेको बुझिन्छ । उच्चमा रहेको मुद्दाले अप्ठ्यारो पार्ने भएपछि उनले पेशी सार्नका लागि धेरै नै दबाब दिएको अदालत स्रोत बताउँछ । हिमालयन होटलको सम्पर्क कार्यालयबाट अदालतलाई प्रभावमा पार्न राजनीतिक लबिङ तीव्र पारिरहेको प्रमाण भेटिएको छ । 

उनले आयात गरेको मल स्वीकारेमा सरकारलाई एक अर्ब रूपैयाँभन्दा धेरै घाटा लाग्ने स्रोतले बतायो । ‘यो व्यक्तिको आम्दानीको स्रोत खासै त्यस्तो देखिँदैन । तर, दिनको दुई गुणा र रातको चारगुणा गरेर सम्पत्ति जोडिरहेका छन् । पहिल्यैदेखि एकदमै विवादित व्यक्ति हो । धन्दा के के छ ? कसैलाई थाहा छैन । अहिलेसम्म शक्ति केन्द्रकै वरपर भएकाले बचेको छ’, उनीनिकट एक व्यक्तिले भने ।
 

टिप्पणीहरू