लिपुलेक नजिकबाटै कैलाश लाने तयारी

लिपुलेक नजिकबाटै कैलाश लाने तयारी

अतिक्रमित नेपाली भूमि लिपुलेकको छेउछाउबाट तीर्थयात्रीहरूलाई पवित्र कैलाश मानसरोवरको दर्शन गराउने गृहकार्यमा भारत सरकार जुटेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश–मानसरोवर तीर्थस्थलसम्म नपुगेर सीमाक्षेत्रबाटै तीर्थयात्रीलाई दर्शन गराउनेगरी संरचना निर्माण भइरहेको छ । 

कोभिड महामारीले अन्तर्राष्ट्रिय सिमानाका बन्द भएसँगै सन् २०२० देखि लिपुलेक भएर कैलाश–मानसरोवर यात्रा रोकिएको छ । भारत र चीनको सीमाक्षेत्रमा सैन्य तनावले दुई देशको सम्बन्ध बिग्रिँदा अहिलेसम्म कैलाश यात्रा सञ्चालनमा आएको छैन । 

लिम्पियाधुरा नजिक महाकाली पश्चिम (भारत)तर्फको आदि कैलाश पर्वत र अतिक्रमित नेपाली भूमिमा पर्ने ॐ पर्वतको पर्यटकीय प्रवद्र्धनमा भारत सरकार सक्रिय छ । कैलाश–मानसरोवर यात्राको विकल्पमा गतवर्षदेखि आदि कैलाश र ॐ पर्वत दर्शन यात्रा शुरु गरिएको छ । तिब्बत भूमि प्रवेश नगरिकनै सीमाक्षेत्रबाट भ्यु प्वाइन्टमार्फत कैलाश–मानसरोवरको दर्शन गराउने तयारीमा भारत सरकार जुटेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सोमबार मात्रै पिथौरागढ जिल्लाको लिपुपास (लिपुलेक) नजिकको क्षेत्रबाट शिवभक्तहरूले चाँडै कैलाश पर्वतको दर्शन गर्न सक्ने भन्दै ट्विट गरेका छन् । मुख्यमन्त्री धामीले भनेको पिथौरागढ जिल्लाको लिपुपास अतिक्रमित नेपाली भूमि हो । 

दुई हप्ताअघि मात्रै उत्तराखण्ड पर्यटन परिषद्ले लिपुलेक आसपासबाट कैलाश–मानसरोवरको दर्शन गर्न सकिने विन्दु पत्ता लगाउन एउटा अध्ययनटोली हिमालय क्षेत्रमा पठाएको थियो । परिषद्का सचिव एवं मुख्य विकास अधिकारी सचिन कुर्वेले कुमाउँ मण्डल विकास निगम, धारचुलाका उपजिल्लाअधिकारी (एसडिएम), राजश्व विभाग, सेना र जिल्ला पर्यटन विभागको संयुक्त टोलीलाई लिपुलेक क्षेत्रमा पठाएको भारतीय पत्रिका अमर उजाला दैनिकले छापेको छ । 

यो वर्ष पनि अहिलेसम्म १५ हजार यात्रुले उच्च हिमालय क्षेत्रको भ्रमण गरिसकेको भारतीय मिडियाले जनाएका छन् । नोटिफाइड एरिया (निषेधित क्षेत्र) बनाइएको यसक्षेत्रको भ्रमण भारतीय नागरिकले मात्रै गर्न पाउँछन् । 
 

टिप्पणीहरू