बर्दीका कोही मर्ने, कोही बहुलाउने

बर्दीका कोही मर्ने, कोही बहुलाउने

‘ठूलालाई चैन, सानालाई ऐन’ सम्म त भनिन्थ्यो, अब सानाको हकमा ‘ऐन’ पनि नहुने भएपछि सशस्त्र प्रहरीका कोही मर्न थाले, कोही बहुलाएर हिँडेका छन् । 

कसैलाई एआइजी बनाउनुपरे दरबन्दी थपेर रातारात एकल बढुवा गरिने सशस्त्र प्रहरीमा एकजना असईले लोकसेवा भिडेर इन्स्पेक्टरको परीक्षा उत्तीर्ण गर्दा पनि बाटो छेकियो । लोकसेवाको नतिजामा उत्तीर्ण भइसकेको मान्छेलाई दुई जना भूपूडिआइजीले आन्तरिक परीक्षण (जिटिओ टिओ) गर्ने नाममा रोकेपछि सामाजिक सञ्जालमा आफ्नो मनका भडास पोखे । फलस्वरुप अहिले ती असई छानवीनका लागि हेडक्वार्टर तानिएका छन् ।

लोकसेवाको कठिनतम् परीक्षा पार गरिसकेपछि उनले काँधमा ‘क्रस खुँडा’ भिरेको सपना देखे । तर, त्यो सपनालाई आफ्नै संगठनका भूपूडिआइजीहरु राजेन्द्र बस्नेत र बाबुराम पाण्डेहरुले आन्तरिक परीक्षणका नाममा चकनाचुर बनाइएपछि मानसिक रुपमा पनि विचलित भएका थिए । त्यही अवस्थामा फेसबुकमा लेखेका विभिन्न प्रसंगलाई आधार मान्दै अहिले छानबिन चलिरहेको छ । ती दुबै पूर्वडिआइजी सैनिक पृष्ठभूमिबाट सशस्त्रमा जोडिएका हुन् ।

उता, डिप्रेसनमा परेपछि सशस्त्रको गण नम्बर १६ मा कार्यरत सहायक हवल्दार विजय नकर्मीले घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । काभ्रेस्थित गणको कार्यालय भवनको छतको पिल्लरमा उनी झुण्डिएका थिए । इन्स्पेक्टर उत्तीर्ण हुने र अन्यायपूर्वक फेरि अनुत्तीर्ण गराइने उनै असईका कारण सशस्त्रभित्र पूर्व र सुदूरपश्चिमका नाममा मानिसमाथि विभेद हुने गरेको चर्चा छ । पूर्वका वंशीराज दाहाललाई एआइजी बनाउनका लागि रातारात दरबन्दी थप्ने र बढुवा दिने काम हुँदा सुदूरपश्चिमका ती असईको हकमा उत्तीर्ण भएको दर्जामा पनि अनुत्तीर्ण गराइने भनी असन्तुष्टि चुलिएको हो ।

– नरोत्तम कुँवर
 

टिप्पणीहरू