एमालेलाई किन रिस उठ्छ ?

एमालेलाई किन रिस उठ्छ ?

एयरपोर्टमा सुन समातिएपछि देशवासी त सारा खुशी नै भए । तर, एमालेलाई चाहिँ के भएछ कुन्नि, तनावग्रस्त छ बाऽ । अहिले एमालेले गृहमन्त्रीलाई प्रश्न गरिरहेको छ– ए, सुन किन समाएको ? कसले भनेर समाएको ? के कारणले समाएको ?

एयरपोर्टमा सुन समाएदेखि एमाले विचलित छ । त्यसैले एमाले यतिबेला गृहमन्त्रीविरुद्ध जुलुस निकालिरहेको छ्, मसाल बालिरहेको छ् । यदि, गृहमन्त्रीले अर्को पनि सुन समायो भने पुत्ला बाल्न पनि बेर छैन । 

एयरपोर्टमा सुन समाएको समायै गरेको देखेर एमाले सायद चकित छन् । एक तोला सुन ल्याए पनि समाएको छ । एक किलो ल्याए पनि समाएको छ । एक क्विन्टल ल्याए पनि समाएको छ । हैन, सरकारले गर्न खोजेको चाहिँ के हो ? अहिले व्यापारघाटा लागेर देश खत्तम भएको अवस्था छ । जे कुरा पनि आयात गर्‍या छ,गर्‍या छ ।

यो सुन त भारततिर निर्यात हुनेवाला थियो नि ! यति सुन निर्यात हुन सक्या भए व्यापार घाटा त केही घट्थ्यो ! निर्यात हुन लाग्या सुन समाउने, अनि ब्यापार घाटा भयो भनेर कराउने ? यस्तो काम गरेपछि नेपाल कहिले समृद्ध बन्छ ? एमाले चाहन्छ, नेपाली जनता सबै सुखी होउन् । अहिले समाएको सुन अलिअलि बाँडेको भए जनता सुखी हुन्थे होलान् । सरकारले त्यो पनि गरेन । सुन लगेर राष्ट्र बैंकमा थन्क्याइदियो । यसो गरेपछि एमालेलाई रिस उठ्दैन ? अनि राँको नबाली भयो ?

टिप्पणीहरू