ज्यान जोगाउन नेपाल छिर्दा पनि बोल्न जोखिम

ज्यान जोगाउन नेपाल छिर्दा पनि बोल्न जोखिम

हिंसाग्रस्त मणिपुरबाट डरै–डरको पहाड बोकेर गत सोमबार साँझ काठमाडौँ आइपुगे– मणिराम । श्रीमती गोमा र जेठो नाती विक्रमसहित पूर्वी नाका काँकडभिट्टा हुँदै काठमाडौँ भित्रिएका उनी थकित र चिन्तित छन् । 

मणिपुर तीन महिनादेखि जलिरहेको छ । चारैतिर दंगा छ । रैथाने मैतेई र अल्पसंख्यक कुकी समुदाय इम्फालदेखि पहाडसम्मै भिडिरहेको छ । र, साम्प्रदायिक हिंसाको रापमा पिल्सिएका छन्, ‘भारतीय नेपाली गोर्खा । ’

‘हामीहरू तोरीबारीबाट आएका हौं । हाम्रो राज्य जलिरहेको छ । कुकी र मणिपुरेहरूले दंगा मच्चाएका छन् । हामी नेपालीलाई हिंसाले नछोए पनि गाउँ–घरको अवस्था डरलाग्दो छ, ’ मणिरामले भने । मणिपुरमा दिन प्रतिदिन ‘एकपछि अर्को अमानवीय घटना’ थपिँदै–जाँदा त्रासै–त्रासमा बाँचिरहेका छन्, नेपाली मूलका भारतीय । जातीय हिंसाले गाउँ–टोलसम्मै हिंसा फैलाएपछि थातथलो छाड्न बाध्य भएको बताउँछन् उनी । 

‘डरलाग्दो’ दंगा छिचोल्दै मणिपुरको तोरीबारी, असमको तेजपुर–सिलगुडी हुँदै पुख्र्याैली भूमि नेपाल आइपुगेका उनी ‘कुकी–मैतेई’ र नेपाली समाजको ‘मणिपुरे कथा’ सुनाउँछन् । आफूले देखेर–भोगेर आएको क्रुर हिंसाबारे लहरो तन्काउन खोज्छन् तर मौन हुन्छन्, ५८ वर्षीय मणिराम । 

जलिरहेको मणिपुर बिर्सिएर ‘चैनको सास फेर्न’ नेपाल आउने उनी एक्ला व्यक्ति होइनन्, उनीजस्ता दर्जनौँ ‘मणिराम’ यतिबेला पूर्वी–नेपालदेखि काठमाडौँसम्म छरिँदैछन् । दोस्रो विश्व–युद्धताका नेपालतिरै छुटेका परिवारका सदस्य र आफन्त खोज्दैछन् उनीहरू । 

दुई महिनायता कैयन नेपाली ‘मणिपुरमा शान्तिको कामना’ गर्दै नेपाल भित्रिएको सीमा क्षेत्रको सुरक्षामा खटिएका अधिकारीहरूले जनाएका छन् । उनीहरू भारतीय आधारकार्ड देखाएर आश्रयस्थल र नानीबाबुहरूका लागि स्कूल खोज्दै खुला सीमा पार गर्छन् ।

कतिपय नेपालीभाषी मेचीपारि भारततिरै छन् । ‘काँकडभिट्टा चहलपहल भइरहने सीमानाका हो । यो रुटमा प्रायः भारतीय र नेपालीहरू नै आउने–जाने गर्छन् ।

हिजोआज मणिपुर र आसामका नेपालीहरू बढेका छन्, फर्किनेहरूको संख्या थोरै छ,’ ती सरकारी अधिकारीले भने, ‘तर कसैले पनि मणिपुरमा बस्न नसकेर आएका हौँ भनेका छैनन् ।

मेरो ख्यालमा उनीहरूको समस्या भनेकै मणिपुरको हिंसा हो ।मणिपुर हिंसाको भुङ्ग्रोले नेपालीभाषीको दैनिकी पनि बिथोलेको छ । नयाँपुस्ताको भविष्यको चिन्ताले पिरोलिरहेको छ । दुबै पक्षको चेपुवामा पर्ने भयले तर्साइरहेको छ । त्यसो त एकताका भरिभराउ मणिपुरका नेपाली गाउँबस्ती एक दशकदेखि रित्तिँदै गइरहेका छन् । 

बेलाबखतको थिचिमिचो र ‘मैतेई आतंक’ले नेपालीभाषीहरू कहाँ–कहाँसम्म गएनन् ! भारतीयहरू आधारकार्ड वा रासनकार्डको भरमा सहजै छिर्छन् नेपाल । र, मणिपुर, आसाम, मेघालय वा सबै भारतीय राज्यका नेपालीभाषी वा अन्य भारतीय नागरिकको तरिका पनि त्यही हो । कतिपय नेपालीभाषी म्यान्मारसमेत पुगेका छन् । 

मणिपुरबाट ‘भारतीय गोर्खा’ समाजको पंक्ति समात्दै काठमाडौँस्थित ‘माइली दिदी’कहाँ आइपुगेका मणिरामले भने, ‘तीन दिन असमको तेजपुरमा बस्यौँ, त्यहाँ कान्छी बहिनीको घर छ । त्यसपछि सिलगुडीबाट काँकडभिट्टा आयौँ । अनि काठमाण्डू आइयो, यहाँ माइली दिदीको घर छ ।’ मणिरामको एउटै चिन्ता– छोरातर्फको जेठो नाती विक्रमको पढाइ बिग्रियो । अब नातीलाई नेपालमै पढाउन चाहन्छन् उनी । कक्षा सात पढ्दै गरेका विक्रम मणिपुर हिंसाले त्रसित छन् । स्कूल जान मान्दैनन् । विक्रमका बुबा, आमा र सानो भाइ बैङ्ग्लोरमै बस्छन् । 

जातीय दंगाले मणिपुरका जनताको सपना नराम्रोसँग उडाइरहेको बताउँछन्, मणिराम । उनी साहित्यकार हुन्, बेलाबेला कविता, कथा र निबन्ध लेख्छन् । तर वास्तविक पहिचान लुकाउन आग्रह गर्छन् । र, मणिपुरका सबै नेपालीभाषी अहिले चर्किरहेको हिंसाबारे बोल्न, लेख्न र आफ्नो नाम–ठेगाना दिन डराउँछन् । ‘नेपाल आउँदा ढुक्कसित बोलेर मात्र भएन नि हजुर! फेरि फर्केर जाने त मणिपुरै हो । अब धेरै नबोलौँ होला, ’ उनी ठट्यौली शैलीमा भन्छन् । 

मूलतः कुकी र मैतेईबीच हिंसात्मक द्वन्द्व फैलिए पनि सानो संख्यामा रहेका गोर्खासमेत त्यसको मारमा छन् । कृषि र व्यापारमा रमाइरहेका नेपालीभाषीको तीन महिनादेखि व्यापार ठप्प छ । गाडी–घोडा चल्दैनन् । खेतबारीमा उब्जिएका वस्तुभाउ बिक्दैनन् । एकातिर हिंसा, अर्कातिर परिवार पाल्नै मुश्किल । 

मणिपुर अन्धकारमय छ । ठाउँ–ठाउँमा झडप भइरहेको छ । मणिपुरका स्थानीयवासी हिंसा छल्न भागिरहेका छन् । भाग्दा–भाग्दै मरिरहेका छन् । मैतेई र कुकीहरू एकअर्कालाई देख्न सक्दैनन्, देख्यो कि हत्या–हिंसामा उत्रिहाल्छन् । दुबै समुदायको बीच–बीचमा बाँचिरहेका नेपालीभाषीहरू दुबैतिरको चेपुवामा छन् । मौन हुँदासमेत बेलाबेला मैतेई र कुकी समुदायकै धम्की खान्छन् । मणिपुरको चुराचाँदपुर, काङोकपी, टेंनौपाल, थौबल, कमजोङ र चन्देलमा हिंसाले विकराल रुप लिइरहेको छ । यी क्षेत्रमा नेपालीभाषीहरू कमै छन् अनि चुपचाप छन् । 

दुईतिरबाट चेपिँदा नेपालीभाषीहरू गाउँ–गाउँबाट निस्किँदै छन् । मणिपुरमा गरिखाने बाटो बन्द हुँदै गएपछि मानिसहरू अहिले बेंग्लोर, मुम्बई र दिल्लीतिर पलायन भइरहेको बताउँछन् काङ्लातोम्बीका युवा साहित्यकार सुरज चापागाईं । सन् २०११ को जनगणनाअनुसार मणिपुरमा लगभग ७० हजार नेपालीभाषी इम्फालदेखि पहाडसम्मै छन् । खासगरी, दुईसय वर्षअघि नेपालबाट मणिपुर वा नेपाल, बर्मा हुँदै फेरि मणिपुर गएका नेपालीभाषीहरू काङ्लातोम्बी, काङ्पोक्पी, तोरीबारी, मुकुली, चन्द्रमान, कालापहाड, सेतीखोला, नुनपानीमा फैलिएका छन् । ‘सबैभन्दा धेरै हिंसा चुराचाँदपुरमा छ । त्यहाँ थोरै मात्रामा नेपाली छन् तर उनीहरू सबै सुरक्षित छन् । मणिपुरमा नेट छैन । व्यापार ठप्प छ । मानिसहरू धमाधम गाउँ छाड्दै अर्को शहरमा गइरहेका छन् । भोलिका लागि खासै राम्रो छैन, ’ सुरजले भने । 

मणिपुरको जातीय द्वन्द्व विस्तारै ‘इम्फाल उपत्यका जलाएर’ पहाडतिर सल्किँदैछ । उकालोलाग्दो जातीय द्वन्द्वले नेपाली समाजको भविष्यलाई थप गिजोलिरहेको छ । मणिपुरका नेपालीहरू यतिबेला आफ्नै धुनमा छन् । उनीहरू कुनै समुदायको समर्थन वा विरोधमा छैनन् । तर अहिले भड्किरहेको जातीय द्वन्द्वबाट परै बस्न चाहन्छन् । 

मणिपुरको इम्फाल उपत्यका वरपर साम्प्रदायिक हिंसा भुसको आगो सरी फैलिएपछि कतिपय पहाडी गाउँ भने शान्त छन् । समान जनसंख्या भएका वा ‘उपत्यका र पहाड’को सीमा छुट्याउने भेगका बस्ती–बस्तीबीच हिंसा मच्चिए पनि कुकी बाहुल्य वा मैतेई बाहुल्य गाउँहरू प्रायः शान्त रहेको नेपालीभाषीहरू बताउँछन् । ‘कालापहाड शान्त भएपनि मोबाइल–फोन र नेट चलेको छैन । हाम्रोतिर मैतेईहरू छैनन् । कुकी, नागा र नेपालीहरू मिलेर बसिरहेका छौँ । त्यो हिंसा चाडै शान्त होस् भन्ने कामना छ, ’ मणिपुरका साहित्यकार मुक्ति गौतमले भने । 

मणिपुर रणभूमि बनेको छ । सशस्त्र जत्थाले गाउँबस्ती कब्जा गरेका छन् । बाटोछेउ र खेतबारीमा सुरुङ खनेका छन् । मन्दिर र गिर्जाघरहरू जलिरहेका छन् । सशस्त्र भीडले गाउँ–घरमा आगो लगाइरहेको छ । बजार सुनसान छ । सडकमा आगो दन्किरहेको छ । गोलाबारी भइरहेको छ । भारतीय केन्द्रीय सरकारले हिंसा नियन्त्रणका लागि ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । गत मे ३ देखि मणिपुरमा शुरु भएको हिंसामा १६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । हजारौँ मानिस विस्थापित भएका छन् । राज्यमा रक्तपात मच्चिएको छ । रैथाले मैतेईले अल्पसंख्यक कुकीलाई जहाँ भेट्यो त्यहीं कुट्छन् । सामूहिक बलात्कार गर्छन्, टाउको काटेर बाँसको डण्डीमा झुन्ड्याउँछन् । राज्यसँग मिलेर मैतेईहरूले सबैलाई तर्साइरहेका छन् । त्यसो त मणिपुरले मानवता भुलिसकेको छ । मणिपुरमा जंगली राज चलिरहेको छ । राज्यसत्ता मौन छ ।

मणिपुरका युवाहरू हातहतियार बोकेर युद्धमैदानमा उत्रिएका छन् । मणिपुरको गृहयुद्ध– अन्तरदेशीय युद्ध होइन, भाइभाइको युद्धको हो । कुकी र मैतेईको युद्ध हो । हिन्दू र ईसाईको युद्ध हो । पहाडी र उपत्यकाको युद्ध हो । खास अर्थमा भन्ने हो भने ‘भारतीय–भारतीय’ बीचको युद्ध हो । जातीय द्वन्द्वबाट फैलिएको मणिपुर हिंसा धार्मिक हुँदै राजनीतिक राजमार्गमा फैलिँदै गएकोप्रति चिन्तित छन् युवा–पत्रकार वैभव पलनीटकर । उनी एक महिनादेखि मणिपुरमा छन्, ‘दैनिक भाष्करका लागि मणिपुर हिंसा’को स्थलगत रिपोटिङमै छन् । मणिपुर हिंसाको रापमा पिल्सिएका दर्जनौं पीडितहरूको दैलोसम्मै पुगेका छन् । उनीहरूको दैनिकी र ‘जलिरहेको समाज’ देखेर ‘लेखिरहेको कलम’ र ‘दृश्य कैद गरिरहेको क्यामेरा’ बन्द गर्न खोज्छन् तर कर्तव्यबाट बिमुख हुन सक्दैनन् । 

‘मैले नग्न बनाएर हिँडाइएकी महिला र जिउँदै टाउको काटिएको युवाको परिवारसँग कुराकानी गरेँ, त्यसपछि निकै विचलित भएँ । तर पनि मेरो जमिनी रिपोर्टिङ गर्ने जिम्मेवारी थियो, दायित्व पूरा गरेँ । अहिले पनि पीडितसँगै छु, मणिपुरको स्थलगत रिपोर्टिङ गरिरहेको छु,’ वैभवले भने । वैभव २२ जुलाई, शनिबारका दिन– साँझ ६ बजेतिर मैतेई र कुकीबीच ‘एकाएक चलेको सशस्त्र लडाइँ’को भिडियो बंकरभित्र लुकेर कैद गरेको बताउँछन् । जातीय दंगाले मणिपुरको जनजीवन नराम्रोसँग प्रभावित भइरहेको उनको भनाइ छ । 

साम्प्रदायिक हिंसाबाट आक्रान्त मणिपुरे जनता अहिले ‘आफूहरू राज्यविहीन भएको’ बताउँछन् । मणिपुर हिंसापछि झण्डै ७० हजार मानिस विस्थापित भएका छन् । उनीहरू स्थानीय शिविरमा आश्रय लिन बाध्य छन् । कतिपय राज्य र देशबाट भाग्दैछन् । 
अशान्त मणिपुरको अनुमानित जनसंख्या ३३ लाख छ । मणिपुरमा तीन समुदाय छन्– मैतेई, कुकी र नागा । मैतेईहरू प्रायः हिन्दू हुन् । मुस्लिमसमेत छन् । कुकी र नागाहरू सबै ईसाई हुन् । त्यसमध्ये आधाभन्दा बढी मैतेई समुदायका हुन् । कुकी र नागा समुदाय दुबै जोड्दा ४३ प्रतिशत पुग्छ । 

राजनीतिक प्रतिनिधित्व– मणिपुरका कूल ६० विधायकमध्ये ४० जना मैतेई समुदायका छन् । बाँकी २० जनाले कुकी र नागा आदिवासीको प्रतिनिधित्व गर्छन् । मणिपुरमा ३३ वटा जातीय समुदायको बसोबास रहेको बताउँछन्, काङ्लातोम्बीका युवा साहित्यकार सुरज चापागाईं । 

मणिपुरको फ्रेमभित्र अटाएका नेपालीभाषीहरूको गर्वलाग्दो इतिहास छ । सबैसँग मिलेर बस्ने जातिका रुपमा चिनिन्छन् उनीहरू । तर साम्प्रदायिक हिंसाले चारैतिर विष छरिरहेको छ । ‘राज्यमा विविधता छ । तर एकता छैन, ’ उनले भने । मैतेई, कुकी र नागा एकअर्का र राज्य–सत्तासँग लडिरहेका छन् । मणिपुरमा मे महिनामा ठूलो हिंसा भड्कियो । मैतेई समुदायले आफूलाई पनि जनजातिको मान्यता दिनुपर्ने माग राखेपछि कुकी समुदायले त्यसको विरोध गर्दा तनाव चर्किएको थियो । 

फैलिँदो हिंसाले सबै जाति, सबै धर्म र सबै वर्गलाई तहसनहस बनाउँदै लगेको छ । एउटा जातिले अर्को जातिलाई घृणाले हेर्दा मणिपुरको समाज विभाजित छ । द्वन्द्वयता मानिसहरूले चैनको सास लिन सकेका छैनन् । जलिरहेको मणिपुरभित्र अमानवीय र क्रूर हिंसाको सिकार भइरहेका छन् युवती । 
 

टिप्पणीहरू