सेनाले कतिसम्म अत्याचार गर्नसक्छ

सेनाले कतिसम्म अत्याचार गर्नसक्छ

भियतनाम युद्धमा अमेरिकाको लज्जास्पद पराजय भयो । भियतनामीले वर्षौसम्म युद्ध लडे, कहिले जापानसित त कहिले फ्रान्ससित । अमेरिकाजस्तो शक्तिशाली मुलुकसित झण्डै २० वर्ष लामो युद्ध जितेर छाडे । जापानी सेनालाई पराजित गरी कम्युनिष्ट नेता हो चि मिन्हको नेतृत्वमा समाजवादी सरकार गठन भएपछि पहिला फ्रान्स र पछि अमेरिका त्यहाँ भिड्न पुगे । अमेरिकासितको पछिल्लो युद्ध भयानक रह्यो । युद्धमा उत्तरी भियतनामतिर चीन, सोभियत संघ, उत्तर कोरिया, पोलपोटको नेतृत्वमा गठित कम्बोडियाको खमेर रुज लाल सेना र लाओसमा गुरिल्ला युद्ध लड्दै गरेको पाथेत लाओ समूह प्रत्यक्ष अप्रत्यक्ष रूपमा लागे भने दक्षिण भियतनामलाई अमेरिका, दक्षिण कोरिया, लाओस, अष्ट्रेलिया, न्युजिल्याण्ड, कम्बोडिया, थाइल्याण्ड, फिलिपिन्स आदि देशको सहयोग रह्यो । अमेरिकाले सम्भवतः इतिहासमै ठूलो मात्रामा सेना उतारेको (५ लाख ४३ हजार) यो नै पहिलो र आजसम्मको अन्तिम युद्ध थियो तैपनि पराजित हुन पुग्यो ।

सन् १९६६ मा युद्ध चरमोत्कर्षमा थियो । भियतनाममा अमेरिकी सेनाको तैनाथीपश्चात् अमेरिकी पक्षधर र अमेरिकाद्वारा समर्थित दक्षिण भियतनामी सरकारका सैनिकद्वारा महिलाहरु अपहरणमा पर्ने र बलात्कृत हुने घटना निकै बढ्न थाल्यो । यौन चाहना बढ्नेबित्तिकै गस्ति गर्ने निहुँमा सैनिकहरू कम्युनिष्टहरूको गढ मानिएका गाउँमा पस्थे र अविवाहित होउन् वा बिवाहित महिला, जबर्जस्ती उठाएर लैजान्थे । यौन चाहना मेट्थे र बिहान रिहा गरिदिन्थे । बलात्कृत कतिपय युवती गाउँमा मुख देखाउन नसकी इनारमा हाम्फाली आत्महत्यासमेत गर्थे । सेनाको यस्तो अत्याचारको घटना सामान्यजस्तो भइसकेको थियो । दक्षिण भियतनामको पहाडी इलाका ‘पहाड १९२’ मा कम्युनिष्ट छापामार समूह भियतकोंगका छापामारहरूको प्रभाव बढेको सूचना अमेरिकी सेनाले पाइसकेको थियो । सोही अनुसार गाउँ पस्ने र राम्री युवतीको ‘शिकार’ गर्ने योजना पैदल सैनिक इकाइका चार जना सैनिक जवान सर्जेन्ट डेभिड गेर्भास, प्रथम श्रेणीका स्टिभन थोमस, सिप्रियानो गार्सिया र जोसेफ गार्सियाले बनाए । 

योजनाअनुरूप ती चार जनासहित ५ जनाको टोली भोलिपल्टै (नोभेम्बर १८) बिहानको झिसमिसेमै क्याट तोउङ गाउँ पस्यो । खानतलास गर्ने निहुँमा आधा दर्जनजति छाप्रोमा जबर्जस्ती घुस्ने काम भयो । अविवाहित केटी खोज्दै हिँड्ने क्रममा २० वर्षीया फान थि माओ आफ्नी आमा र बहिनीसँग सुतिरहेकी थिइन् । जोसेफले देख्नेबित्तिकै ‘यहाँ लुकेर बसेकी छन् एउटी सुनको दाँत लगाएकी राम्री केटी, छिटो आउनू’ भनी चिच्याएर साथीहरूलाई बोलाए । पाँचै जना दगुरेर उक्त घर पुगे अनि माओलाई देख्नेबित्तिकै गेर्भासले ‘हो, हामीले खोजेको यस्तै केटी त हो नि !’ प्रसन्न हुँदै भने । यति भन्दै चार जना माओलाई समात्न हुत्तिए । टोलीका पाँचाँै सदस्य रोबर्ट स्टरबीले भने त्यसो नगर्न साथीहरूलाई अनुरोध गरिरहे । तर अरु चार जना उनको कुरोलाई परवाह नगरी माओमाथि झम्टिन पुगे ।

माओ आमा र बहिनीसँग बेडमै पल्टिरहेकी थिइन् । चार जनाले उनलाई जबर्जस्ती तानेर छाप्रो बाहिर निकाले । माओले सुनको दाँत लगाएकी थिइन् । आँखा गाढा खैरो रंगको थियो भने गाउँलेले लगाउने कालो रंगको परम्परागत खुकुलो सुरुवाल ‘आओबाबा’ पहिरेकी थिइन् । सैनिकले हात डोरीले बाँधे अनि घिसार्दै अघि बढे । त्यतिञ्जेलमा माओकी आमा र बहिनी घरबाट निस्किसकेका थिए । आमाचाहिँले छोरीलाई कतै नलान रोइकराइ गरिन् । सैनिकको खुट्टा समाती बिन्ती बिसाइन् । माओकी बहिनी भने दिदीलाई सैनिक जवानले घिसार्दै लगिराखेको दृश्य जिल्लिएर हेरी बसिन् । त्यो बेलासम्म छिमेकी पनि जम्मा भइसकेका थिए । जोसेफले तीमध्येका एक जनाले लगाइराखेको सल खोसेर लिए अनि सोही सलले माओको मुख छोपिने गरी बाँधीदिए ताकि माओले अरुलाई गुहार्न नसकुन् । स्टरबीले फेरि पनि साथीहरूलाई रोक्न खोजे । तर, कसैले सुनेनन् । अझ थोमसले त झण्डै कुटौंलाजस्तो गरी झपारे । साथीहरूको योजनामा साथ दिन नसक्ने ‘नामर्द’ ‘नपुंशक’ सम्म भनी गाली गरे ।

उनीहरूले माओलाई करिब २०० मीटर परसम्म त्यसरी नै घिसार्दै लगे । अनि एउटा छाप्रोभित्र हुले । सबैभन्दा पहिला सर्जेन्ट डेभिड पसे । माओमाथि बलात्कार गर्ने पहिलो सैनिक थिए । छाप्रोभित्रबाट शुरुमा माओ चिच्याएको आवाज बाहिर निस्क्यो । एकछिनपछि उक्त चिच्याहट रोदनमा परिणत भयो । डेभिड २५ मीनेटपछि बाहिरिए । त्यसपछि थोमस भित्र पसे । माओ टेबुलमा लम्पसार परेकी थिइन्, उनको शरीरमा कुनै लुगा थिएन । दुइटै हात पछाडि बाँधिएको थियो । थोमसले त्यसै अवस्थामा माओमाथि बलात्कार गरे । तेश्रो र चौथोमा दुई जना गार्सियाहरूले यौन प्यास मेटे । चारै जनाले बलात्कार गर्न ९० मिनेट लगाएका थिए ।

उनीहरू निस्केपछि स्टरबी भित्र पसे । माओले सम्झिन् उनी पनि आफूमाथि झम्टिन आइपुग्नेछन् । उनी फेरि रुन थालिन् । उनी अत्यन्त थकित र अस्वस्थ देखिन थालिसकेकी थिइन् । स्टरबीले उनैको सुरुवालले उनको नांगो र घाइते शरीर छोपिदिए । उनले माओलाई कुकिज, गाईको मासु र पानी खान दिए । साथै, साथीहरूलाई उक्त अपराध गर्नबाट रोक्न नसकेकामा क्षमा पनि मागे । त्यसबेला उनका साथीहरू ड्युटी गर्न अन्तै हिँडिसकेका थिए । उनले अनुमान लगाए कि कम्तिमा ४ सय मिटर पर पुगिसके होलान् र फर्कन कम्तीमा एक घण्टा लाग्छ । उनले माओलाई भगाउने सोचे । तर, साहसै गर्न भने सकेनन् । राति फेरि चारै जनाले माओसित शारीरिक सम्बन्ध राखे र सुते । भोलिपल्ट बिहान सबै जना ६ बजे उठे । गेर्भासले साथीहरूलाई ‘अब यसलाई मार्ने हो’ भने । उनलाई ‘कारवाहीमा मारिएको’ भनी रिपोर्टिङ गर्न उनीहरू तयार भए । भियतकङ छापामार भनी शंका लाग्नेबित्तिकै गोली हानेर मार्न सक्ने अधिकार जो–कोही सैनिकलाई दिइएको थियो । बिहानै थोमसले माओलाई एकान्त स्थानमा लगे । पछिपछि अरु लागे ।

थोमसमा न दयाभाव जाग्यो न उनी हिच्किचाए नै, छुरा निकालेर माओको टाउकोमा ३ पटक प्रहार गरे । माओ उत्नीखेरै भुइँमा लडिन् तर मरिनन् । ज्यान बचाउन सकिन्न भन्ने थाहा भइकन पनि फेरि उठिन् र भाग्ने कोसिस गरिन् । थोमसले कपाल समातेर ताने । माओ भुइँमा पछारिनेबित्तिकै काँधमा भिरिराखेको एम १७ राइफल झिकेर गोली फेरि टाउकोमै हानिदिए । मारिसकेपछि माओको शवमा पेट्रोल छर्केर जलाउने अथवा भीरबाट खसालिदिने योजना थियो तर ठीक त्यसैबेला नजिकै भियतगहरू आइपुगेको संकेत पाए र लाशलाई त्यहीँ छाडेर भागे । घटनालगत्तै डेभिडले वाकीटाकीबाट प्लाटुन कमाण्डरलाई ‘भियतकङ’ जस्तै देखिने एउटी युवती नजिकैको झाडीबाट हिँड्दै गरेको देखेको रिपोर्टिङ गरे । कमाण्डरले युवतीलाई तुरुन्त पक्रेर ल्याउन आदेश दिए । एकछिनपछि फेरि डेभिडले ‘पक्रन नसकेकाले गोली हानेर मारेँ’ भनी रिपोर्टिङ गरे ।

स्टरबीले आफ्ना साथीहरूलाई अपराधको सजायँ दिलाउने निधो गरे र सिधै क्याप्टेनकोमा गएर रिपोर्टिङ गरे । तर, क्याप्टेनले आफ्ना सैनिक जवानहरूले गरेको अपराधप्रति आँखा चिम्लिदिए । आफ्नो हाकिमको यस्तो व्यवहारबाट हौसिएका ती चारै जना अपराधीले स्टरबीलाई ज्यान मार्ने धम्कीसमेत दिए । तैपनि, उनी पछि हटेनन् र ती क्याप्टेनभन्दा माथिका सैनिक अधिकृतसमक्ष रिपोर्टिङ गर्न पुगे । उता, माओकी बहिनी लोकले आफ्नी दिदीको शव फेला पारिन् । स्टरबी र लोकको वयानकै आधारमा चारै जनामाथि सेनाले मुद्दा चलायो । न्यायाधीश थिए– फिलिप डर्बिन । सरकारी पक्षका वकिलले थोमसलाई फाँसी दिन माग गरेका थिए तर डर्बिनको इजलासले थोमसलाई आजीवन कैद, गेर्भासलाई १० वर्ष, जोसेफलाई १५ वर्ष र सिप्रियानोलाई ४ वर्ष कैदको सजायँ सुनायो । युद्ध इतिहासमा उक्त घटना ‘पहाड १९२ को घटना’ भनी चर्चित छ । यो घटना सार्वजनिक भएपछि अमेरिकाले विश्वसमक्ष ठूलो बदनामी खेप्यो । युद्धको बेला अमेरिकी सैनिकले भियतनामी महिलामाथि गरेका यस्ता कैयौं यौनजन्य हिंसाको पाना खुल्दै गयो । बलात्कृत कैयौं भियतनामी महिलाले साहस गरेर आफूमाथि गरिएको अत्याचार विश्वसमक्ष ल्याए । फान थि माओमाथि गरिएको सामूहिक बलात्कारलाई लिएर त पछि चलचित्र निर्माणसमेत भयो । अमेरिकी चलचित्र कम्पनी कोलम्बिया पिक्चर्सले सन् १९८९ मा ऋबकगबतिष्भक या ध्बच चलचित्र बनाएको थियो । 

भियतनाम युद्धताका अमेरिकाले सन् १९७५ मा पराजय भोगेको हो । कम्युनिष्ट शक्तिले दक्षिण भियतनामको राजधानी सैगोन कब्जा जमाएपछि युद्ध सकियो हो र एकीकृत भियतनाममा समाजवादी सरकार बन्न सक्यो । त्यसो त अमेरिकाले सन् १९७३ मा नै भियतनामबाट सेना फिर्ता लगिसकेको थियो, तर अप्रत्यक्ष तवरमा अन्तिम समयसम्म पनि दक्षिण भियतनामलाई सामरिक सहयोग प्रदान गर्दै रह्यो । भियतनाम युद्धमा ३० लाख मानिस मारिएको अनुमान छ जसमा ५८ हजार अमेरिकी थिए । मारिनेमा आधाभन्दा बढी त सर्वसाधारण नागरिक थिए । युद्धकालमा अमेरिकाले ७६ लाख ६२ हजार टन बम खसालेको थियो । जबकि उसले दोस्रो विश्वयुद्धमा मात्र २० लाख ५७ हजार २ सय ४४ टन बम खसालेको थियो ।
 

टिप्पणीहरू