बुध्नीको जीवन बर्वाद, नेहरूलाई बिहे गर्न बाधा

बुध्नीको जीवन बर्वाद, नेहरूलाई बिहे गर्न बाधा

६ डिसेम्बर १९५९ को दिन तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू दामोदर नदीमा निर्माण भएको पन्चेत बाँध उद्घाटन गर्न पुगे । यो बाँध पश्चिम बंगाल र झारखण्डको सिमानामा बनेको थियो । समारोहका आयोजकले फूलको गुच्छा दिएर नेहरूको स्वागत गर्न १६ वर्षीया बुध्नी मझियाइन र अर्का एक युवक रावन माझीलाई चयन गरे । बुध्नी र रावन दुबै जना सन्थाल जनजातिका थिए ।

सन्थाल भारतको झारखण्ड, उदिसा, पश्चिम बंगाल, आसाम, बिहार साथै नेपाल र बंगलादेशमा बसोवास गर्ने आसिवासी हुन् । भारतका वर्तमान राष्ट्रपति द्रौपदी मुर्मू पनि सोही आदिवासी जनजातिकी हुन् । उक्त बाँध निर्माण सन् १९५२ मा शुरु गरिएको थियो । बाँध बनाउन सरकारले जग्गा अधिग्रहण गर्दा बुध्नीको परिवारको जग्गा पनि पर्‍यो । त्यसबेलादेखि उनको परिवार घरवारविहीन बने । तैपनि, जब बाँध बन्न शुरु भयो, बुध्नीले पनि त्यहाँ मजदुरी गर्न थालिन् ।

नेहरू जब त्यहाँ पुगे, बुध्नी र रावनले फूलको माला पहिर्‍याएर उनको स्वागत गरे । उद्घाटन गर्न जानुअघि कसैले उनलाई बुध्नी र उनको परिवारले पाएको दुःखको कथा सुनाए । बाँधकै कारण घरवारविहीन बने पनि बाँध बनाउन बुध्नीले पसिना बगाएको गाथा सुनेपछि नेहरू प्रभावित बने । सम्मानस्वरूप उदघाटनको स्वीच उनै बुध्नीलाई थिच्न लगाएर बाँधको उद्घाटन गराइयो ।

उद्घाटनपछि प्रसन्न भई नेहरूले आफूले लगाइराखेको फूलको माला बुध्नीलाई लगाइदिए । यसरी पन्चेत बाँध एउटी आदिवासी युवतीले उद्घाटन गरेको पहिलो बाँध बन्न पुग्यो । नेहरूले गरेको आफ्नो प्रशंसा र बाँधको उद्घाटन नै आफैँले गर्न पाएर बुध्नी खुशीले गद्गद् थिइन् । तर, उनलाई के थाहा, यो घटना उनको जीवनमा अभिशाप बन्दै छ भनेर । जीवनभरका लागि दुःख बन्दै छ भनेर ।

सन्थाल आदिवासीमा पुरुषले महिलालाई फूलको माला लगाइदिनुको अर्थ बिहे सम्पन्न भएको मानिन्छ भने गैरसन्थाल पुरुषसितको बिहेलाई अपराध । 

आफ्नो समाजभन्दा बाहिरको केटो वा केटीसँग बिहे गरेमा समाजबाट बहिस्कृत हुनुपर्ने परम्परा थियो । सन्थालहरूको बाक्लो बस्तीमा भएको उक्त उद्घाटन कार्यक्रममा गाउँका अन्य सन्थालको पनि सहभागिता थियो । र, जब पण्डित नेहरूले बुध्नीलाई माला लगाइदिए उनीहरूले सम्झे कि नेहरू र बुध्नीको बिहे भयो । लगत्तै सन्थाल समाजले गाउँमा पञ्चायत डाक्यो । गैरसन्थालसित बिहे गरेको अपराधमा समाजबाट बहिष्कार गर्ने निर्णय गरीे बुध्नीलाई गाउँ छाडेर जान आदेश दिइयो । उक्त आदेशपछि दामोदर परियोजनामा गर्दै आइरहेको कामबाट पनि बुध्नीले हात धुनुपर्‍यो ।

गाउँ छाडेर जानुपरेपछि उनले गाउँ नजिकै छाप्रो बनाएर बस्न थालिन् । कहिले कता त कहिले कता, ज्यालादारी मजदुरी गरेर गुजारा चलाउन थालिन् । सन्थालहरूले उनलाई पछिसम्म पनि प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूकी आदिवासी पत्नीको रूपमा हेर्ने गरे । नेहरूका लागि त कसैलाई पनि त्यसरी माला लगाइदिनु सामान्य कुरा थियो, जसकारण उनले कहिल्यै बुध्नीलाई फर्केर पनि हेरेनन् । सन्थाल आदिवासीबाहेक अरु समुदायले पनि यसलाई खासै महत्व दिएनन् ।

बुध्नी मझियाइन् र पण्डित नेहरूबीचको बिहेको कुरो गत वर्ष सन् २०२३ को नोभेम्बर १७ मा फेरि एकपटक जोडतोडले उठ्यो, किनभने त्यसदिन बुध्नीको निधन उनी बस्दै आएको छाप्रोमा भयो । बुध्नीलाई श्रद्धाञ्जली दिन र अन्तिम संस्कारमा भाग लिन ठूलो जनसमूह एकत्रित भए, उनीहरूले बुध्नी नेहरूको आदिवासी पत्नी भएको ठोकुवा गरे । त्यहाँ अवस्थित नेहरूको शालिकसँगै बुध्नीको शालिक पनि राख्नुपर्ने माग गरे । पन्चेत गाउँ पञ्चायतका मुखिया भैरव मण्डलले एक वक्तव्य नै जारी गरी सरकारसित यो माग राखे । 

सन् १९८५ मा तत्कालीन प्रधानमन्त्री राजीव गान्धी दामोदर कर्पोरेशनअन्तर्गत सञ्चालन भइरहेको कामको निरीक्षण गर्न पुगेका थिए । उनले आफ्ना बाजे नेहरू र बुध्नीको सम्बन्धको जानकारी लिएपछि बुध्नीलाई पुनः दामोदर परियोजनामा काम दिलाइदिएका थिए । बुध्नीले उक्त परियोजनामा सन् २००५ सम्म काम गर्न पाए पनि आफ्नो गाउँमा भने आजीवन छिर्न सकिनन् । निधनको समय उनी ८० वर्षकी थिइन् ।

सन् १९३६ मा पत्नी कमलाको निधनपश्चात् नेहरू आफूलाई अत्यन्त एक्लो महसुस गर्न थाले । यसैबीच पद्मजा नायडूसित नजिकिए । पद्मजा भारतको स्वतन्त्र सेनानी सरोजनी नायडूकी छोरी थिइन् अनि नेहरूकी बहिनी विजयलक्ष्मी पण्डितकी मिल्ने साथी । नेहरू र पद्मजाको सम्बन्ध कमलाको निधन पूर्व नै शुरु भइसकेको धेरैको दाबी छ । उमेरमा नेहरूभन्दा ११ वर्षले कान्छी पद्मजा पहिला हैदराबादका नवाब सालार जंगसित प्रेम गर्थे । तर पछि विजयलक्ष्मीसित भेट्न नेहरूको घर जान थालेपछि उनले सालारलाई चटक्कै बिर्सिन् र नेहरूलाई मन पराउन थालिन् । कमलाको निधनपश्चात् नेहरू र उनको सम्बन्ध बाक्लिन थाल्यो । नेहरूले पद्मजालाई १ वर्षको अवधिमा ५० वटा पत्र लेखेका छन् । पत्रको संकलक नेहरूकी पुत्री इन्दिरा आफैँ भएकाले ती पत्रको आधिकारिकतामा शंका गर्ने ठाउँ छैन ।

नेहरू पद्मजाको प्रेममा कति धेरै पागल थिए भन्ने कुरा उनले लेखेका पत्र काफी छ । उनले पत्रमा पद्मजालाई ‘बेबी’ भनेर सम्बोधन गर्ने गरेका थिए । ४ डिसेम्बर १९३७ मा आसामबाट लेखेको एउटा पत्रमा उनले लेखेका छन् ‘प्यारी तिमी कस्ति छ्यौ ?’ तिम्रोबारे जान्न नपाएर मरेतुल्य भइसकेँ । तिमीलाई देख्न, अँगालोमा बेर्न र तिम्रो आँखामा डुब्न छटपटाइरहेको छु ।’

त्यस्तै, १९ फेब्रुअरी १९३७ मा लेखेको अर्को पत्रमा उनी लेख्छन्, ‘के म जान्न सक्छु कि तिमी मलाई कति माया गछ्र्याै ?’ होइन, न मैले न तिमीले यो कुरो कहिले थाहा पाउँछौँ । हाम्रो प्रेमबारे न कसैलाई थाहा छ, न कहिल्यै थाहा हुन्छ किनभने स्थिति फरिँदै गइरहेको छ । हुन पनि समय परिवर्तनशील छ । कहिलेकाहीँ लाग्छ, परिस्थितिले हामीमाथि मजाक गर्दै छ, हामीलाई टाढा पु¥याउँदै छ । कहिले हठी त कहिले आवाराजस्तै लाग्छ, ‘अचम्म लाग्छ जसरी हाम्रो प्रेम शुरु भयो ! अब हाम्रो प्रेम टुट्छ कि भनेर सोच्न पनि सकिँदैन । यस्तो सोच्नु पनि बेवकुफी नै हुन्छ ।’

नेहरूका स्वकिय सचिव एम.ओ.मथाइले आफ्नो पुस्तक ‘रेमिनिसेन्स अफ द नेहरू एज एन्ड माइ डेज विध नेहरू’मा लेखेका छन् कि सन् १९४६ सम्म आइपुग्दा नपुग्दै पद्मजाले नेहरूको इलाहाबादस्थित घरै सम्हाल्न थालिसकेकी थिइन् । पछि दिल्लीको घर पनि सम्हाल्न थालिन् । उनी सधैँ नेहरूको सामीप्य चाहन्थिन् । नेहरूकै अघिपछि घुमिरहन्थिन् । नोभेम्बरको पहिलो साता जसरी पनि नेहरूको घर पुग्थिन् ताकि नेहरूको जन्मदिन सँगै मनाउन पाइयोस् । यद्यपि, आफ्नो पितासित पद्मजाको अधिक निकटता इन्दिराले मन पराउँदैन थिइन् । उनको कोसिस हुन्थ्यो, पद्मजाले रात आफ्नो घरमा नबिताओस् । सन् १९४७ को शरद ऋतुमा नेहरूलाई लखनऊ जानुपर्ने भयो । त्यसबखत सरोजनी नायडू उत्तरप्रदेशकी राज्यपाल थिइन् । सरोजनीसितको भेटमा नेहरूले बिहेको प्रस्ताव राख्न गइरहेको खबर चारैतिर फैलियो । तर, नेहरूको साथमा लेडी माउन्टबेटनलाई पनि देखेपछि पद्मजाको मन दुख्यो । ढोका थुनेर बसिन् । पछि उनले नेहरूको शयनकक्षमा पनि लेडी माउन्टबेटनको फोटो देखिन् र सहन सकिनन् । उनले ढिपी नै कसेर आफ्नो फोटो पनि राख्न लगाइन् ।

सन् १९४८ मा पद्मजा हैदराबादबाट सांसदमा निर्वाचित भएपछि दिल्लीस्थित प्रधानमन्त्री निवासमै बस्न थालिन्, त्यो पनि नेहरूको शयनकक्षसँगैको कोठामा । नेहरू र पद्मजा दुबै जना बिहे गर्न चाहन्थे, जबकि त्यो बेला नेहरू ५० वर्षका भइसकेका थिए । तर, पद्मजाले बिस्तारै थाहा पाइन् कि नेहरूको उनीबाहेक अरु स्त्रीसँग पनि सम्बन्ध छ, उनी निराश बनिन् । यसको बावजुद पनि बिहेका लागि उनी तयार थिइन् तर इन्दिरा बाधक बनिदिइन् । नेहरूले छोरीको कारण प्रेमिका पद्मजालाई धर्मपत्नी बनाउन नपाए पनि पछि पश्चिम बंगालको राज्यपाल भने बनाए । 

इन्दिराकै कारण नेहरू र पद्मजाको बिहे हुन नसकेको सत्य पछि विजयलक्ष्मीले आफूलाई बताएको इन्दिराकी मिल्ने साथी तथा इन्दिरा गान्धीको जीवनी लेखेकी पुपुल जयकरले आफ्नो पुस्तकमा उल्लेख गरेकी छन् । इन्डियन समर : द सेक्रेट हिस्ट्री अफ द इन्ड अफ एन इम्पायर’ का लेखिका एलेक्स भोन टुन्जेलमनले एउटा इन्टरभ्यूमा भनेकी थिइन्– एकपटक इन्दिराले रिसाएर नेहरूको शयनकक्षमा भएको पद्मजाको फोटो फ्याँकिदिएकी थिइन् । यो कुरालाई लिएर पिता र पुत्रीबीच तँ–तँ र म–म समेत भएको थियो । इन्दिराकै कारण नेहरूसित बिहे गर्न नपाएको कुरो पद्मजालाई राम्रोसित थाहा थियो, त्यसैले एकपटक उनले इन्दिरालाई आफू आत्महत्या गर्न गइरहेको धम्कीसमेत दिन भ्याएकी थिइन्।

नेहरूका स्वकीय सचिव मथाइले आफ्नो पुस्तकमा यो पनि लेखेका छन् कि भारत स्वतन्त्र भएपछि र (एडविना) लेडी माउन्टबेटन सधैँका लागि भारतबाट लण्डनतर्फ प्रस्थान गरेपछिको एक भेटमा ‘नेहरू एउटी स्त्रीसँग मात्र सन्तुष्ट हुने पुरुषै होइनन्’ भनेर पद्मजाले भनेको कुरो । उनका अनुसार यसपछि फेरि एकपटक नेहरू र पद्मजा नजिकिए ।

पद्मजा, नेहरूको मृत्युको ३ वर्ष पछिसम्म राज्यपालको पदमा रहिन् । सन् १९६७ मा पदबाट निवृत्त भइन् र त्यसपछि पुनः दिल्लीस्थित नेहरूको तीनमूर्ति भवनको कम्पाउण्डमा बनेको सानो बंगलामा बस्न गइन् । उनको निधन त्यहीँ सन् १९७५ मा भयो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू