सबै श्रेणीहरू

बालेनको ‘अन्टसन्ट’ स्टाटसको अन्तर्य

बालेनको ‘अन्टसन्ट’ स्टाटसको अन्तर्य

स–साना घटनाक्रमले उद्धेलित भइहाल्ने नेपाली समाज तीब्र प्रतिक्रियात्मक पनि छ । प्रतिक्रियात्मक मात्र छैन, व्यक्ति केन्द्रितसमेत हुँदै गएको छ । समाजको त्यो प्रतिक्रिया मतदानमा व्यक्त हुनु बालेन, रवि र हर्कहरुको राजनीतिक उदयको कारण  हो । ‘राम्रो भनेकै नयाँ र नयाँ भनेकै राम्रो’ ठान्ने चिन्तनको उपजका कारण उनीहरुको उदय भएको बताइन्छ । 

गत वर्षको दुई वटा चुनावको नतिजाले पनि समाजले नयाँ व्यक्ति र विचारको खोजी गरेको थियो भन्नेमा विमति रहेन । तर, नयाँ खोज व्यक्तिमा कि विधिमा ? काठमाडौँका मेयरले सामाजिक सञ्जालमा ‘अन्टसन्ट’ लेख्दा हजारौँ लाइक, कमेन्ट र सेयर हुन्छ । नीतिगत बहस र बौद्धिक विमर्शहरु सञ्जालकर्ताको रोजाईमा पर्दैन । यस्तो अवस्था कुनैपनि लोकतान्त्रिक समाजका लागि चिन्ताको विषय हो । 

‘कालो पदार्थ खाएर’ मध्यराति स्टाटस लेख्ने गरेको आरोप लागेका मेयर बालेन्द्र शाहको सिंहदरबारमा आगो लगाइदिने अराजक अभिव्यक्तिले ‘बालेन’ भएकै कारण सञ्जालमा प्रशंसा बटुल्यो । बिदाको दिन सरकारी सवारी साधन निजी प्रयोजनका लागि प्रयोग गर्न बालेन बाहेकका लागि मात्रै बर्जित हुनुपर्ने आशयका प्रतिक्रियाले सञ्जाल रंगियो । 

अनुमान गरौँ, अन्य महानगरका मेयरले सरकारी सवारी साधन त्यसैगरी दुरुपयोग गरेको र सञ्जालमा मनपरी लेखेको भए कस्तो प्रतिक्रिया आउँथ्यो होला ? व्यक्तिमा नभई विधिमा परिवर्तन खोजिएको हो भने बालेनका गतिविधि र अराजक अभिव्यक्तिको निन्दा हुनुपथ्र्यो । सञ्जाल प्रयोगकर्ताले ‘गुड लक रवि दाई’ शैलीमा प्रतिक्रिया दिइरहे पनि लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने बौद्धिक तप्काको आलोचनामा परेपछि बालेन्द्रले स्टाटस एकाएक डिलिट गरेका छन् । फेसबुकमा लेखेर कुनै प्रतिक्रिया नजनाई क्रिकेट हेर्न श्रीलंका पुगेका उनी उतै हुँदा स्टाटस हटाइएको हो । लेखेको कुरा डिलेट गर्नु गल्ति स्वीकार गर्नु हो । बालेन्द्रले गल्ती स्वीकारे पनि उनका समर्थकहरु भने अहिले पनि फरक धारणा राख्नेहरुसँग सञ्जालमा ‘बाझेर’ समय खेर फालिरहेका छन् । 

त्यस अगाडि बालेन्द्रले फेसबुकबाटै चीन भ्रमण रद्द गरेको घोषणा गरेका थिए । चीनले जारी गरेको नयाँ प्रशासनिक नक्सामा नेपालको सुदूर उत्तरपश्चिम कुनामा रहेको नक्साको चुच्चो भाग हटाइएकाले नैतिकरुपले भ्रमण गर्न नमिल्ने उनको तर्क थियो । सञ्जालमा जथाभावी लेख्दासमेत वाहावाही पाइरहेका उनको ’देशभक्त’ स्टाटस नबिक्ने कुरै भएन । तर, उनै बालेन भारतले ’अखण्ड भारत’ को नक्सा निकालेको बखत बैंगलोर पुगेको सन्दर्भ भने सञ्जाल प्रयोगकर्ताका लागि मतलबको विषय बनेको थिएन ।

चुच्चे नक्सालाई अगाडि सारेर चीन नजाने निर्णय सुनाएका बालेन्द्र कतै सुत्केरी श्रीमतीको स्याहारमा बस्नुपर्ने भएपछि त्यस्तो निर्णयमा पुगेका हुन् कि ? तर क्रिकेट प्रतियोगिता हेर्न उनी श्रीलंकाको क्यान्डी पुगेका छन् । सधैँजस्तो क्षणिक आक्रोशको अभिव्यक्ति मात्रै हो भने चुच्चे नक्सा सम्बन्धमा लेखेको स्टाटस हटाउनुपर्ने थियो, तर त्यसो चाँही गरेका छैनन् ।