भवन पैसा नपाएपछि बिद्यालयमा तालाबन्दी
रुकुम पश्चिमको एक सामुदायिक विद्यालयमा ताला लगाईएको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ७ फुक्रुमा रहेको जनज्योती आधारभूत विद्यालय ताला लगाइएको हो ।
बिद्यालय भवन निर्माण गर्दा लिएको निर्माण सामग्रीको भुक्तानी नपाएपछि व्यावसायिले ताला लगाएका हुन् ।सानीभेरी हार्डवयरका सञ्चालक मनिषा बिसी ओलीले २०७५ सालमा विद्यालय भवन निर्माणको लागि लिएको सामाग्रीको भुक्तानी नपाएकोले तालाबन्दी गर्न बाध्य भएको बताउनुभयो । समितिले लगेका सरिया, सिमेन्ट, रङ लगायतका निर्माण सामग्रीको रकम विद्यालयले अहिलेसम्म पनि भुक्तानी नगरेको उहाँको भनाइ छ ।
विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ। यस अघि पनि ताला लगाउन खोज्दा गाउँपालिका र स्थानीयले केहि दिनमा रकमको व्यवस्था गर्ने आश्वासन दिएपनि अहिलेसम्म रकम नपाएपछि विद्यालयमा ताला लगाइएको हार्डवेर सञ्चालक ओलीले जानकारी दिनुभयो। रकम नपाएसम्म तालाबन्दी नखोल्ने उहाँको अडान रहेको छ ।

विद्यालयको भवन निर्माणमा केहि रकम पहिले दिएपनि करिब नौ लाख रकम बाँकी रहेको र हाल सम्म व्याज जोडेर १४ लाख ९० हजार रुपियाँ पुगेको उहाँको भनाइ छ ।
विद्यालयको गेटमा ताला लागेपपछि अहिले शिक्षक र विद्यार्थीहरु गेटबाहिर रहेको प्रधानाध्यापक भीमबहादुर ओलीले बताउनुभयो । कक्षा ५ सम्म संचालन भएको उक्त विद्यालयमा ५० जना विद्यार्थीले पठनपाठन गर्दै आएका छन् ।
प्रधानाध्यापक ओलीका अनुसार सानीभेरी हार्डवयरबाट जम्मा नौ लाख ९७ हजारको निर्माण सामाग्री खरिद गरेको र चार लाख रुपियाँ तिरिएको छ । हाल व्याज जोडेर धेरै रकम भएको उहाले उल्लेख गर्नुभयो । प्रधानाध्यापक ओलीले विद्यालय भवन निर्माणको जिम्मा लगेको खड्का एण्ड केसी निर्माण सेवालाई पनि करिब ६ लाख रुपैया तिर्ण बाँकी रहेको र पटक पटक उक्त निर्माण व्यवसायीले पनि विद्यालय बन्द गर्ने चेतावनि दिइरहेको बताउनुभयो । भवन निर्माणका लागि आएको बजेट जग्गा खरिदमा खर्च भएपछि पूरा रकम भुक्तानी हुन नसकेको बताईएको छ ।

टिप्पणीहरू