महँगीको मारमा सर्वसाधारण, सरकार मुकदर्शक

महँगीको मारमा सर्वसाधारण, सरकार मुकदर्शक

चाडबाडको पूर्वाद्र्धमा आकाशिएको महँगीले सर्वसाधारण मर्कामा परेका छन् । महँगीले खुशियालीका साथ चाडबाड मनाउनु त परको कुरा बिहान बेलुकी छाक टार्न पनि धौ–धौ पर्ने अवस्था उत्पन्न भएको छ । 

खाद्यान्नमा दिनप्रतिदिन मूल्यवृद्धि भइरहेको छ । चामल, दाल, तेल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुमा भएको अस्वाभाविक मूल्यवृद्धिले गरिब र निम्न वर्गका सर्वसाधारण थप समस्यामा परेका छन् । 

उनीहरुलाई जीविका चलाउन महाभारत हुँदै गएको छ । सर्वसाधारणको ढाड सेक्नेगरी सामानको मूल्य बढाइएको छ । तर, सरोकारवाला निकायको ध्यान यसको रोकथामतर्फ केन्द्रित हुन सकेको छैन । बिहान खाए बेलुका के खाने भनेर सोच्नुपर्ने बाध्यता महँगीले बनाइदिएको छ । 

खाना पकाउने एलपी ग्यासमा निरन्तर मूल्यवृद्धि भइरहेको छ । एक वर्ष अगाडि एक हजार तीन सय रुपैयाँ पर्ने ग्यासको एउटा सिलिण्डर दुई हजार रुपैयाँ नाघेको छ । एक बोरा चामलमा दुई सयदेखि पाँच सय रुपैयाँसम्म बढेको छ । 

जिरा छोइनसक्नु भएको छ । एक किलोग्राम जिराको एक हजार २५० रुपैयाँ पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य पनि बढेको बढ्यै छ । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने बित्तिकै नेपाली तरंगित हुनुपर्ने अवस्था आएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेपछि विद्यार्थी संगठनहरुले औपचारिकतास्वरुप विरोध जनाउने गरेका छन् । 

तर, खाद्यान्नको मूल्यले सर्वसाधारणको ढाड सेकिरहँदा कसैले सामान्य रुपमा पनि विरोधको आवाज निकालेका छैनन् । एक वर्षअघिको तुलनामा अहिले मँहगी ह्वात्तै बढेको छ । बिहान बेलुका दालभात खान पनि समस्या परेको गुनासो सर्वसाधारणले गर्दै आएका छन् । विडम्बना, उनीहरुको आवाज सरकारको कानसम्म पुग्न सकेको छैन । सरकार महँगी र आर्थिक अवस्था न्यून भएकाको समस्याप्रति संयमित देखिँदैन । 

सरकारले मँहगी नियन्त्रण गरी सर्वसाधारणलाई राहत दिन कुनै पनि पहलकदमी भूमिका नदेखाएका आरोप उपभोक्ताकर्मीहरुको छ । कोरोनापछि बजारमा व्यापार आर्थिक मन्दी देखिएको छ । व्यापार–व्यवसाय र रोजगारी सुकेका छन् भने बेरोजगारीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । ज्याला मजदुरी गर्नेहरु कामविहीन बनेका छन् । व्यापारिक क्षेत्रमा आबद्धहरु पनि बेरोजगार बनेका छन् । सहकारीमा काम गर्ने लाखौंको रोजगारीसमेत खोसिएको छ । 

यस्तो अवस्थामा आकाशिएको मूल्यवृद्धिले दिएको समस्याको बयान गरिसाध्य छैन् । मुलुक हरेक वस्तुमा आश्रित छ । छिमेकी भारतसहित तेस्रो मुलुकबाट आयात गरिएको सामानले नेपालीको आवश्यकता परिपूर्ति भएको छ । अन्तर्राष्ट्रियस्तरमा सामानको मूल्यवृद्धि हुँदा त्यसको असर नेपाललाई पनि पर्दै आएको छ । सरकारले स्वदेशी उत्पादन र प्रयोगलाई जोड दिँदै आत्मनिर्भरताको बाटो समात्नुपर्ने जानकारहरु बताउँछन् । अहिलेको महँगीले जनताको बाँच्न पाउने अधिकार नै खोसिएको उनीहरुको भनाई छ ।

टिप्पणीहरू