कोशी प्रदेशमा माओवादी नेतृत्व अस्वीकार गर्दै एमालेसँग सहकार्य शुरु गरेको नेपाली काँग्रेसको शेखर कोइराला गुटले संघमा पनि प्रचण्ड सरकारको विकल्प खोज्नुपर्ने माग राखेको छ ।
आजको प्रतिनिधिसभा बैठकमा शेखर समूहका सांसद सञ्जय गौतमले सरकार असफल भएको आरोप लगाउँदै विकल्प खोज्नुपर्ने धारणा राखेका हुन् । प्रचण्ड नेतृत्वको सरकारले निकास दिन नसक्ने समेत उनको दाबी छ ।
गौतमले तत्काल काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने पनि जनाएका छन् । सरकारले सुकुम्बासीको समस्या समाधान गर्न नसकेको, विकासको काम नगरेको, महँगी नियन्त्रण गर्न असफल रहेको जस्ता आरोप लगाएर उनले आफ्नै पार्टीको नेतृत्वको सर्वपक्षीय सरकार गठनको प्रस्ताव गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग पहिलो पटक उठेको हो । यसअघि शेखर समूहले सरकारको चर्को विरोध गर्दै आएपनि औपचारिक फोरममा भने मुख खोलेको थिएन ।