हामी कता जाँदै छौँ र कहाँ पुग्छौँ ?

हामी कता जाँदै छौँ र कहाँ पुग्छौँ ?
सुन्नुहोस्

 – लेखनाथ भण्डारी 

पटक पटक मर्नेमाथि 
खै, कति झार्नु आँशु ।
‘आत्महत्या गर्न परेन
प्रकृतिको विप्लवी मुद्राले खायो हामीलाई 
कसैमाथि दोष गएन 
बस्, मृत्युवरण ढिलो भयो 
र, यही गुनासो थियो 

हो, 
कतिपटक मर्नु 
पर्व र काण्डहरूमा 
बाँचेकै कहाँ थियो र यो जाति

अनि भुइँचालोमा मर्न ?
मृत्यु त स्वभिमानको हुनुपर्छ 
देश र जनताको लागि 
होइन र ?
हो, 
प्रत्येकपटक मरेको छ 
हस्ताक्षर र सम्झौतामा 
सन्धि र समझदारीमा 
नाका, भाका र धोकामा 
प्रलोभन र आशामा । 

 – हरिराज भट्टराई

२०७२ को भूकम्पका कारण तथा नेपालको इतिहासका अनेक कालखण्डमा भएका राजनीतिक नेतृत्वको अदूरदर्शिता, बेइमानी र लापरबाहीहरूका कारण पटक पटक मारिएका नेपाली जातिलाई सङ्केत र सम्झना गर्दै कवि हरिराज भट्टराईले लेख्नु भएको ‘अघोरीको काव्य प्रलाप’ शीर्षक कविताका केही पंक्ति हुन् यी । केही लामो सो कवितामा नेपाल एकीकरणदेखिकै नेपाली जनताले नेतृत्वबाट पाएको भुक्तमानको फेहरिस्तको मार्मिक सङ्केत छ । कुन कुन कालखण्डमा कुन कुन नेतृत्वको कुकर्मका कारण नेपाली जनले जिउँदै मर्नुप¥यो र कहिले साँच्चिकै मर्नुप¥यो भनेर कवितामा वक्रोक्ति शैलीमा प्रश्न गरिएको छ । 

आजको नेपाली समाजमा चरम निराशा र अविश्वास छ । यसो हुनुमा पहिलो राजनीतिक पार्टी, तिनको नेतृत्व र तोकेर नै भन्दा ठूला भनिएका राजनीतिक पार्टीका शीर्ष नेता र तिनको सुमेरु परिक्रमा गर्ने स्वार्थ समूहका बिचौलिया नेता हुन् । कुनै पनि राजनीतिक पार्टी र तिनको नेतृत्वमा सामुहिकता, पारदर्शिता तथा प्रजातान्त्रिक व्यवहार होइन निषेध र प्रतिशोध मात्र छ । त्यसलाई मलजल गर्ने अर्को संगठित माध्यम हो – पत्रकारिता अर्थात् सूचना सञ्चारका सबै माध्यमहरू । र, यहाँ संकेत गरिएको पत्रकारिताको स्रोत, सञ्चालन र नियन्त्रण गर्नेहरू पनि तिनै राजनीतिक पार्टी र सुमेरु परिक्रमारतः बिचौलियाहरू नै हुन् । राज्य सञ्चालनको बागडोर र भ्रमपूर्ण सूचनाको खेति पनि एकसाथ सम्हालेका राजनीतिक पार्टीहरूले जनतासम्म पु¥याएको एक मात्र सन्देश हो– चरम निराशा, एक अर्काप्रतिको अविश्वास, घृणा र प्रतिशोध तथा विदेशी हस्तक्षेपको कथा । 

नेपाली जनबोलिमा एउटा कथा छ– स्यालले बाख्रो खायो । कुनै समय, कुनै अमुक गाउँमा एउटा गोठालोले सध स्यालले बाख्रो खायो भनेर झुक्याउँदो रहेछ, आज पनि स्यालले बाख्रो खायो भनेर हारगुहार गर्छ, गाउँलेहरू हतारिएर वनतिर दौडेर जान्छन् । गोठालो रूखमाथि बसेर गाउँलेहरूलाई हेर्दै हाँसिरहेको हुन्छ । भोलि पनि, पर्सि पनि लगातार गोठालो त्यसरी नै कराउँछ र झुक्याइरहन्छ – स्यालले बाख्रो खायो, गुहार गुहर  तर स्यालले बाख्रा खाएको भने हुँदैन । केही दिनपछि गाउँलेले गोठालोलाई विश्वास गर्न छोड्छन् । कुनै एकदिन साँच्चिकै स्यालले बाख्रो खान्छ तर गाउँलेहरूले गोठालोलाई विश्वास गर्दैनन् र बाख्रा जोगाउन वनतिर दौडिन छोडिसकेका हुन्छन् । यो कथामा आफ्नो मूर्खता र अरुलाई दुःख दिएर रमाउने परपीडक स्वभावका कारण गोठालोले उसका बाख्रा स्यालले खाँदा पनि गाउँलेको साथ सहयोग पाउँदैन ।नेपाली समाज वा राजनीतिमा पनि यस्तै बाख्रा गोठालोको कथाको पुनरावृत्ति भइरहेको महसुस हुन्छ ।

तर, नेपाली समाजको कथामा भने गाउँलेलाई झुक्याउने गोठालोले बाख्रा गुमाएको जस्तो होइन, गोठालोलाई अरूले नै झुक्याएर उसका बाख्रा स्यालले खाने खतरा देखिन्छ ।

माथि उल्लेख नेपाली समाजमा जुन चरम निराशा र अविश्वास फैल्याइँदै गरेको छ, त्यसको परिणाम जनताचाहिँ झुक्किने र मूल्य चुकाउनुपर्ने त होइन ? राजनीतिक पार्टी र तिनका नेता आफूले गरेका सबै रामराज्यका लागि र अरुले गरेका सबै रावणका कैफियत भनेर थाकेका छैनन् । 

आधुनिक नेपालको समयावधिको सीमांकन कहिलेदेखि कसरी गर्ने त्यसबारे अहिले प्रश्न नगरौं । नेपाल एकीकरणको सन्दर्भमा प्रवेश नगर्ने हो भने पनि भट्टराईको कविताले त्यसपछिका पर्व, काण्ड र सन्धि–सम्झौतामा मारिएका नेपालीको जीवन रक्षा हुन नसकेको प्रश्न उठाएको छ ।सुगौली सन्धिको २ सय वर्षयता भएका अनेक घटनामा नेपाली ठगिए । नेपाली जनताको स्वाभिमानमाथि अपमान र खेडबाड गरियो । बृहतर हो वा ग्रेटर नेपाल वा चुच्चे नक्साका चर्चाले पनि नेपाली ठगिएकै सन्दर्भ बोकेको छ । राणाशासनविरुद्धको सन्दर्भमा भएको दिल्ली सम्झौता होस् वा माओवादीसँगको १२ बुँदे सहमति नेपाल नै ठगिएकोमा खबरदारी हुने गरेको छ ।

कोशी, गण्डकी कहाँ मात्र नेपाली ठगिएनन् ? महाकाली, शारदा । टनकपुर, पञ्चेश्वर, कर्णाली, काली गण्डकी, अरुण, एमसीसी, बिआरआई यी सबै नेपालीको हितमा भएनन् भनेर नारा–जुलुस रोकिएका छैनन् । भाषा वा वर्णमालादेखि धर्ममा विदेशी हस्तक्षेप, सरकारमा होस् वा न्यायालयमा विदेशीको घुसपैठ, नुन होस वा सुन, तरकारी होस् वा मसला यसरी पाइला पाइलामा विदेशीका बल्छीको धराप थापिएको सदनदेखि सडक गल्लीसम्म एकनाशले बहस हुने गरेको छ । विदेशीले सरकार बनाइदिने र विदेशीले नै फालिदिने गुनासो दोहोरिरहेकै छ । के साँच्चै यस्तै हो त ? हो नै भने कहाँ छ नेपाल सुरक्षित र होइन भने कहिलेसम्म हामी यो निराशा, अविश्वास र एक अर्कामाथि घृणाको प्रचार गरेर हाम्रो स्वाभिमान र राष्ट्रियताको ताज ओडिरहन सक्छौं त ?

पटक पटक मारिएका नेपाली बाँचेकै कहाँ थिए र फेरि–फेरि पनि मारिनलाई ? मारिएका र मरेका नेपालीको यो दुर्दिन गोठालोको स्यालले बाख्रा खाएको कथामा रूपान्तरण हुँदा आजको हुर्किंदै गरेको नेपाली पुस्ताले ‘ए ! यो त उहिल्यै हामी बच्चै हुँदा खै कुन–कुन पार्टीका शीर्ष नेताहरूले नै मिलाएका होइनन् र ?’ भनेर प्रतिप्रश्न गर्ने त होइनन् ? 
फेरि पनि यही प्रश्नमा लेखिएको माथि उल्लेख कवि भट्टराईका कविताका थप केही अन्तिम अंश –

अस्ति राजाले मारे 
हिजो राणाले मारे 
आज तिनैका अवतारले मारे 
माओ र गान्धीका वनसेनाले मारे 
पटक पटक मारिएको नेपाली 
बाँकी कहाँ थियो र मर्नलाई 
र भूकम्पले मारोस् उसलाई
शंकै लाग्छ ।
अबको मृत्यु वरणीय हुनुपर्छ
मृत्यु स्मरणीय बनोस् 
त्यो गौरवपूर्ण हुनुपर्छ 
अबको मृत्यु
एकपटक हुनुपर्छ र अन्तिम पटक
र त्यो, 
जातीय स्वाभिमानमा दरिनुपर्छ 
अमर पृष्ठहरूमा साँचिनुपर्छ ।

टिप्पणीहरू