'के छ र दिऊँ तिमीलाई मैले शुभकामना भनेर'

'के छ र दिऊँ तिमीलाई मैले शुभकामना भनेर'
सुन्नुहोस्

दशैं आइनै सक्यो, तिहार र छठ आउन पनि धेरै छैन । छोराछोरीलाई नयाँ लुगा, श्रीमतीलाई नयाँ नोट, खसीको मासु र चुरम चुरमवाला चिउरा र आफैँलाई सोमरस जुटाउने कसरी होला !!! अल्लि पहिलेसम्म त यस्तो अवस्था थिएन ।

सानोतिनो कामबाट, व्यापार व्यवसायबाट या कहीँ–कतैबाट धेरथोर आम्दानी हुन्थ्यो । छोछ्छोरीले बा बा यस्तो गर्नु थियो भनेर टाउको कन्याउनेबित्तिकै के हो अलि छिटो भन् भनेर फ्याट्ट हजार रूपैयाँ दिन कुनै गाह्रो थिएन । यसपालिको तिहारमा यो यो बनाएर लाने हो है मैले त भनेर म्याडमले भन्दा के भो त लैजाऊ न, यति सानो कुरामा पनि किन कराउनुपर्छ त भनेर खुशी पारिन्थ्यो । अब यस्तो छैन अवस्था । घरमा दाल पातलो हुन शुरु भएको धेरै भइसक्यो । भान्सामा मासु नपाकेको पनि कति भयो कति । तरकारी एकथरी भन्दा बन्दैन हिजोआज । चामलको त कुरै गर्नुपरेन, बास्मतीबाट सिधै मोटो चामलमा झरिएको छ । दूध र अण्डा पनि हुन छोडेको छ भान्सामा । अब कसरी चल्छ जिन्दगी ? 

परिवारका सदस्यमध्ये को को र कसरी गाउँ जाने भनेर घरमा बहस चल्थ्यो आफू आफूमा । र, फलानो–फलानो प्लेनबाट जाने र फलानो–फलानो बसबाट जाने भनेर सामूहिक निर्णय गरी हिसाब गरिवरी पैसा छुट्याइन्थ्यो । त्यो छुट्टयाइएको पैसाले भाडा पुग्थ्यो पनि । तर अब यस्तो छैन । चाडपर्व शुरु हुनेबित्तिकै बस र प्लेनले भाडा बढाइहाल्छन् । अहिले कुनै छलफल नै गर्नुपर्दैन । किनभने आम्दानीले नै भ्याउन्न भाडा व्यहोर्न । काठमाडौंबाट दिल्ली पुग्न आठ हजार मात्रै छ तर धनगढी पुग्न भने १७ हजार छ । यस्तो भएपछि भाउन्न हुनु स्वाभाविक हो । 

यसपटकको दशैंमा खसीको मासु पुग्ने गरी घरभित्र नभित्रिने भएको छ । तिहारमा सेलरोटी र फिनीरोटी पनि ठूली एकादशीसम्म खान पुग्ने गरी नपाक्ने भएको छ । छठमा बतासा पनि नबन्ने भएको छ । किनभने बचत खातामा पैसा नभएको निकै लामो समय भइसकेको छ । म्याडमको थैलीमा पनि लुसुक्क लुसुक्क झिकेर राखेका गैंडाका नोट छैनन् । गरगहना पनि बैंकको ब्याज तिर्न, साहुसँग लिएको ऋणको ब्याज तिर्न सुनारकोमा सयकडा पाँचमा अडना राखिएको छ । छोराछोरीलाई नयाँ लुगा भनेर स्कुल ड्रेस पो दिइयो लाजै पचाएर । मेडमको हात र कान पनि बुच्चै हुने भएको छ । चाडवाड नजिकै आएको यो खुशी हुने समयमा पनि उनको अनुहारमा कान्ति देखिन्न । घर बाहिरतिर निस्केर अनुहार देखाउन पनि लाजलाग्ने अवस्था छ । साहुले देख्ला कि भनेर मुख लुकाउँदै हिँड्नुपर्ने अवस्था छ । हेर्दाहेर्दै आफ्नै अवस्था यस्तो हुन पुग्यो । अरू धेरैको हालत पनि यस्तै हो । 

कोरोनापछि लक डाउन भएर व्यापार उद्योग बन्द भएपछि, युक्रेन र रसियाको बीचमा युद्ध शुरु भएपछि तेलको भाउ अकासिएर महँगी बढेर गएपछि धेरै धनी मानिस धनीबाट गरिबमा झरे । धेरैजसो गरिब मानिस अतिगरिबीको अवस्थामा धकेलिए । तर, केही धनी मानिस भने यही समयमा झन् धनी बन्न सफल भए । विश्वमै गनिने गरी धनी बन्न सफल भए । यस्तो कसरी सम्भव हुन सक्यो होला ? यो धेरैजसो गरिब झन् गरिब बन्दै जाने र केही धनी मानिस भने झन् धनी बन्दै जाने कुरा कुनै पनि हिसाबले हुन नहुने हो । तर यस्तै भयो, के गर्ने ?
उद्योगी र व्यवसायीमध्ये धेरैजसोसँग अहिले पैसा नै छैन । उद्योग व्यवसाय । धेरैजसो बन्द भइसके र अरू पनि बन्द हुने लाइनमा छन् । धेरै होटलका पार्किङमा झार उम्रिएका छन् । टुरिष्टका गाडी एउटा पनि देखिन्नन् पार्किङमा । रेष्टुरेन्टका कुर्सी र टेबलमा धुलोको लेयर बनेको छ । होटलका कोठा बन्द हुनाले ढुसी परेर गन्हाएका छन्, सिलिङमा माकुराले जालो लगाएका छन् । धेरैजसो डिपार्टमेन्टल स्टोरमा सामान किन्ने ग्राहक देखिन्नन् । धेरैले सटर बन्द गरेर राखेका छन् । एसी पनि बन्द हुन्छ र बत्ती पनि निभाएका हुन्छन् । अरू त अरू साइकलमा तरकारी बेच्नेले समेत होलसेलमा गएर एक टोकरी तरकारी किन्न नसकी साइकलमा तरकारी घुमाउन छोडेको छ । कपडा पसलेहरू धुलो टकटकाउँदै, माखा धपाउँदै बसेका देखिन्छन् । लुगा सिलाउने सुचिकार कलमाथि टाउको राखेर निदाइरहेका देखिन्छन् । जता हे¥यो उतै बिजोग देखिन्छ । किन भइरहेको छ होला यस्तो ? यस्ता अनेकौं अनेक प्रश्न छन् । 

के हुन खोजेको होला भनेर डर पनि लाग्छ । सबै तहका सरकार जनता चुस्नकै लागि बनेका हुन् किजस्ता देखिन्छन् । जेसुकैमा पनि मनलाग्दी र औचित्यहीन तरिकाले कर बढाएका छन् । फुटेको कौडी आम्दानी नहुने जनताले यस्तो चर्को तर कसरी तिर्लान् भनेर छुट्याउने विवेक पनि देखिन्न । विभिन्न बहानामा गरिबका घर टहरा भत्काएका छन्, फलफूलसमेत बेच्न नदिएर तिनका डोका लखेटिलखेटी लुटेका छन् । यस्तो गरेर राज्य चल्ला त ? कुनै कुराको पनि अतिलाई खास राम्रो मानिन्न ।

यस्तो अति हुँदा पनि धेरै मान्छे नबोलेर मौन बसेका छन् । तर तिनका मनभित्र आँधी चलिरहेको कुरा भने सहजै अनुमान गर्न सकिन्छ । कहिले मौनता तोड्छन् त्यो हेर्न बाँकी नै छ । तर, यदि त्यो मौनता सामूहिक तरिकाले तोडियो भने त्यसले धेरैको भलाइ नै गर्नेछ । अब मौनता तोड्नुपर्छ । जनताले मौनता तोड्दा देशमा उथलपुथल भएको इतिहास छ । देशमा जनमतसंग्रह भयो, बहुदल आयो, गणतन्त्र आयो र सेक्युलर बन्यो देश । जनताले मुख खोल्दा के होला यसै भन्न सकिन्न तर फेरि पनि उथलपुथल त आउँछ आउँछ । र त्यही उथलपुथलले गरिबको मिठो खाने, राम्रो लाउने र रमाउने रहरलाई फेरि फिर्ता ल्याउनेछ । 

दशैं सबैले रमाइलोसँग मनाउन पाउनुहोस्, सबैलाई र शुभकामना ! 

टिप्पणीहरू