लमजुङको बेसीशहर नगरपालिकाले कारागारका कैदी-बन्दीलाई दशैंका लागि खसी दिएको छ । नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा खसी कैदीहरुलाई सहयोग गरेको हो ।
नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आज कारगारमा पुगेर जेलर कमलापती अधिकारी र कैंदी–बन्दीका नाईकेलाई संयुक्तरुपमा उक्त खसी सहयोग गरेका हुन् । कारागारमा बन्दी जीवन विताइरहेकाहरू परिवारबाट टाढा रहने भएकोले थोरै भएपनि चाडपर्वमा खुसी मिलोस् भनेर खसी प्रदान गरेको उनले बताए ।
नगरपालिकाले चालुतर्फको अन्य सामाजिक सहायता शीर्षकबाट कैदी/बन्दीलाई ४० हजार रुपैयाँको दुई वटा खसी सहयोग गरिएको मेयर अर्यालले जानकारी दिए ।
खसी सहयोग कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, नगरप्रमुखका स्वकीय सचिव कुमार अर्याल लगायत कर्मचारी र संचारकर्मीको उपस्थिति रहेको थियो ।
लमजुङ कारागारमा ७ जना महिलासहित ८८ जना कैदी-बन्दी रहेका छन् ।