यताका उर्वर भूमि बाँझै, उताका पखेरामा उब्जनी

यताका उर्वर भूमि बाँझै, उताका पखेरामा उब्जनी
सुन्नुहोस्

नमस्कार शाह

पाओसान, चीन ।

चीन विकासको सन्दर्भमा निकै जोडतोड र मेहनतका साथ लागिरहेको छ । चीनको चौतर्फी विकासको लेखाजोखा गरेर साध्य छैन ।

उदाहरणको निम्ति पाओसानदेखि लिजिङ्पा पहाड पुग्न एक घण्टा समय लाग्छ । पाओसान उपत्यका जस्तो देखिन्छ भने लुजिङ्पा पहाडी क्षेत्र हो । निकै छोटो सडक यात्रामा पनि तीन वटा सुरुङ् मार्ग पार गर्नुपर्छ । एउटा सुरुङ पार गर्न दुई मीनेटदेखि पाँच मीनेटसम्म लाग्छ ।

नेपालमा पुल नदी, खोला र खोल्सामा मात्र बनाइन्छ । तर चीनमा सडकमार्गलाई सोझो बनाउन भीमकाय अग्ला पुलहरु बनाइएको पाइयो । तर सडक बनाउने नाममा डोजर लगाउँदै मोडैमोडयुक्त भिरालो सडक बनाउने गरेको देखेका हामी नेपालीलाई चीनको सडक विकासले आश्चर्यमय बनाउनु कुनै नौलो होइन ।

चीनमा सडक सोझो बनाउन पहाडलाई छेडेर सुरुङ् मार्ग निकालिएको छ । बाटो भिरालो वा उकालो हुने सम्भावना देखेपछि पुल बनाउने यहाँको विकासको पर्यायबाची नै भएको पाइयो ।

तर नेपालमा पुल सिधा बनाउने गरेको देखिए पनि चीनमा बाङ्गो पुल बनाउने गरेको धेरै ठाउँमा देखिएको छ । छदेखि आठ लेनसम्मको सडक बनाउने चिनियाँ विकासे मोडल अनुकरणीय छ ।

लिजिङ्पा पहाड चीनबाट बर्मा जाने सडक मार्गमा पर्छ । भौगोलिक रुपमा खतरनाक भन्ने गरिएको नुजियाङ उपत्यका पार गरेपछि आउने उक्त भीरलाई अहिले उत्पादनयोग्य बनाइएको बताइन्छ । लुजियाङपाको उक्त भीरका कैयौं हेक्टर जमिनमा बगैंचा बनाइएको छ । सोही स्थानमा कफी र केरा खेती गरिएको छ । सो क्षेत्रमा ताई, लिसु, मियाओ, यी र हान जातीको बसोबास छ ।

कफी उत्पादनमा विश्वको २२ औं स्थानमा रहेको चीनले यसको उत्पादन बढोत्तरीमा लिएको आक्रामक रणनीतिले छिट्टै माथिल्लो स्थान लिने निश्चित झैँ छ । तर, हाम्रो सन्दर्भमा खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन् । चीनमा भीर, पाखाहरुमासमेत खेती गरेर त्यसको उत्पादनलाई विश्वमा निर्यात गरिएको पाइन्छ । 

लुजियाङ्पाको तल्लो भागमा सुन्दर नुचियाङ नदी देखिन्छ । त्यसमा लामो, अग्लो भीमकाय पुल हालिएको छ । किनारमा व्यवस्थित बस्ती छन् । ती बस्ती वरपरका फाँटमा पनि व्यावासायिक तरकारी खेती गरिएको छ ।

चिनियाँहरुले जमिन सरकारसँग भाडामा लिएर खेती गर्छन् । सरकारले दिने अनुदान, सरकारले नै गरिदिने बजारीकरणले कृषकहरु उत्साहित भएर कृषिकर्ममा लागेको सहजै अनुमान गर्न सकिन्छ ।

सोही उपत्यकामा गरिएको कफी र केरा खेतीमा सयौं स्थानीय रोजगार छन् । यहाँको उत्पादन चीनका विभिन्न शहरलगायत विश्वका विभिन्न देशमा निर्यात हुने गरेको उनीहरु बताउँछन् ।


 

टिप्पणीहरू