स्वास्थ्य मन्त्रालयले भन्यो, ‘आइतबारको विज्ञप्ति अर्कै हो’

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘आइतबारको विज्ञप्ति अर्कै हो’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आइतबार जारी गरेको विज्ञप्तिप्रति केही सरोकारवालाको बुझाई अन्यथा हुन गएकोमा आफ्नो ध्यानकर्षण भएको जनाएको छ । 

मन्त्रालयले सो विज्ञप्ति औषधी व्यवस्था विभागमा दर्ता भएका आयुर्वेद औषधी तथा नेपाल गुणस्तर चिन्ह प्राप्त पेन्ट, श्रृंगारका सामग्री, नुडल्सको विषयमा नभएको स्पष्ट पारेको हो । 

‘उक्त विज्ञप्ति सम्बन्धित परिषद्मा दर्ता भएका चिकित्सक एंव स्वास्थ्यकर्मीहरुको परामर्शमा सेवन गर्ने औषधी व्यवस्था विभागमा दर्ता भएका आयुर्वेद औषधी तथा नेपाल गुणस्तर चिन्ह प्राप्त पेन्ट, श्रृंगारका सामग्री, नुडल्सको विषयमा नभएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । 

जथाभावी रुपमा शरीरमा दुष्प्रभाव पार्ने सम्भावना भएका जडिबुटी, गह्रौं धातु, खनिज पदार्थ रहेका पेन्ट, श्रृंगारका सामग्री र नुडल्सका बारेमा उक्त विज्ञप्ति जारी गरिएको मन्त्रालयको भनाइ छ । 

आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले आयुर्वेद औषधी सेवन गर्ने बिरामीको रगतमा सिसाको मात्रा अत्याधिक पाइएको भन्दै सिसाको विषाक्तताबाट जोगिन सचेत गराएको थियो । विज्ञप्तिप्रति आपत्ति जनाउँदै आयुर्वेद चिकित्सक संघले आयुर्वेद औषधीको गुणस्तरीयता एंव लिडलगायत खनिज द्रव्यको विषाक्तता सम्बन्धमा नकारात्मक सन्देश प्रवाह गर्न खोजिएको गुनासो गरेको थियो ।
 

टिप्पणीहरू