दशैं सकियो, बिक्रीमा राखिएका खसीबोका सकिएन

दशैं सकियो, बिक्रीमा राखिएका खसीबोका सकिएन

यस पटकको दशैंमा खसी, बोका र च्याङ्ग्राको व्यापार खस्किएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष दशैंमा पशु चौपायाको खपत घटेको बताइन्छ । 

विगतका वर्षमा काठमाडौं उपत्यकामा मात्र ५५ हजार बढी खसी, बोका, च्याङ्ग्रा, भेडा र राँगा बिक्री हुने गरेको थियो । तर यस वर्षको दशैंमा जम्मा ४४ हजार वटा मात्र बिक्री भएको पशु सेवा विभागले जनाएको छ । 

विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालका अनुसार आर्थिक मन्दीका कारण यस पटक दशैंमा खसी, बोका र च्याङ्ग्राको बिक्री खस्किएको हो । उनी उपत्यकामा मात्र नभई मुलुकभर नै खसी, बोका तथा च्याङ्ग्राको बिक्री घटेको बताउँछन् । 

यसपटक दशैंमा ४४ हजार एक सय ३७ पशु चौपाया (खसी, बोका, बाख्रा, भेडा, च्याङ्ग्रा, सिन्हाल, बोयर, राँगा, भैंसी, पाडा, पाडी, बंगुर र सुँगुर) उपत्यका ल्याइएको थियो । 

खसीबोका रुकुम, रोल्पा, सल्यान, झापा, इलाम, भोजपुर, ओखलढुंगा, खोटाङ, काभ्रेपलाञ्चोक, धादिङ, दाङ र सिन्धुपाल्चोक जिल्लाबाट ल्याइएको थियो । च्याङ्ग्रा मनाङ, मुस्ताङलगायत जिल्लाबाट भित्राइएको थियो ।

उपत्यकाका विभिन्न १० स्थान (कलंकी, लगनखेल, टुकुचा, सुकेधारा, लोकन्थली, चाल्नाखेल, बालाजु र मूलपानी) बाट पशु चौपायाको बिक्रीवितरण गरिएको थियो । तर, दशैं सकिए पनि अधिंकाश स्थानमा खसीबोका अझै बिक्रीमा राखेको पाइन्छ । 

हरेक वर्षको दशैंमा भक्तपुरको सल्लाघारीमा खसीबोका बेच्दै आएका सिन्धुपाल्चोकका केशव क्षेत्री यस पटक भने निराश देखिए । उनी यो वर्ष दशैंमा सोचेअनुरुप व्यापार नभएको सुनाउँछन् । भने, ‘विगतका वर्षमा खसीबोका बेचेर दशैंमा निकै राम्रो कमाइन्थ्यो । तर, यो वर्ष सोचेअनुसारको कमाइ भएन ।’ 

फूलपातीको अघिल्लो दिन सय वटा खसीबोकासहित भक्तपुरको सल्लाघारी आएका उनको सबै खसीबोका सजिलै बिक्री हुने आशा थियो । तर, उनको आशा केबल आशामै सीमित हुन पुगेको छ । झण्डै आधाभन्दा बढी संख्यामा रहेका खसीबोका अझै बिक्री भएको छैन । 

क्षेत्री यस पटक मानिसले दशैंमा मासुको खपत घटाएको बताउँछन् । उनका अनुसार आर्थिक समस्याका कारण एउटा खसी किन्नेले आधा किनेको र आधा भए पुग्नेहरु किलोमै सीमित हुन पुगेका छन् । 

‘यो वर्ष दशैंमा मानिसले मासु नै कम खाए । सिंगो खसी खानेले आधा खाए त आधा खानेले केही किलो मात्र खाए,’ उनले भने, ‘पैसा नभएकै कारण उपभोक्ताले मासुमा कम खर्च गरे ।’ 

बिक्री नभएपछि व्यापारीहरुले खसीबोका र च्याङ्ग्राको मूल्य पनि घटाउनुपरेको छ । विगतका वर्षमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने सहुलियत खसी, बोका र च्याङ्ग्राको मौज्दात सकिएलगत्तै निजी व्यवसायीले मूल्य बढाउने गर्थे । तर, यो वर्ष मूल्य घटाउने होड चलेको छ । सरकारकै खसी, बोका र च्याङ्ग्रा बिक्री नभएपछि मूल्य घटाइएको हो । दशैंका लागि खाद्य कम्पनीले दुई हजार २०१ वटा खसी, बोका र च्याङ्ग्रा ल्याएको थियो । 

गत असोज ३० गतेदेखि बिक्री सुरु गरेको खाद्यले खसी प्रतिकिलो ६८० र च्याङग्राको भाउ प्रतिकिलो एक हजार २६० रुपैयाँ मूल्य तोकिएकोमा १० रुपैयाँ छुट दिएर क्रमशः ६७० र एक हजार २५० रुपैयाँमा बिक्री गरेको थियो ।  त्यति गर्दा पनि बिक्री नभएपछि खाद्यले जिउँदो खसीबोकामा प्रतिकिलो ८० रुपैयाँ र च्याङ्ग्रामा सय रुपैयाँ घटाएर क्रमशः ५९० र एक हजार १५० रुपैयाँमा बिक्री गरेको हो । 

यता, निजी व्यवसायीले पनि खसी, बोका र च्याङ्ग्राको व्यापार नभएपछि मूल्य घटाएको बताएका छन् । भक्तपुरको सल्लाघारी खसीबजारमा यो वर्ष दशैंमा उपभोक्ताको भीड लागेपनि अपेक्षित रुपमा बिक्री कम भएपछि व्यापारीहरुले मूल्य घटाएका थिए । 

सुरुमा जिउँदो खसीबोका प्रतिकिलो ६९० र च्याङ्ग्रा एक हजार ३०० रुपैयाँ तोकिएकोमा व्यापारीहरुले मूल्य घटाउँदै क्रमशः ६०० र ११ सय रुपैयाँमा बिक्री गरेका हुन् । 

त्यस्तै, च्याङ्ग्राको तयारी मासु प्रतिकिलो दुई हजार ८०० रहेकोमा मूल्य घटाउँदै दुई हजार ५०० रुपैयाँमा बिक्री गरिएको हो । 

कुखुराको मासुको पनि व्यापार घट्यो 

यो वर्ष दशैंमा खसी, बोका र च्याङ्ग्राको व्यापारमा मात्र गिरावट नआई कुखुराको मासु समेत कम बिक्री भएको छ । राष्ट्रिय कुखुरा व्यवसायी संघले दशैंमा कुखुराको मासु नबिकेपछि मौज्दात रहेको कुखुराको मूल्य घटाएको हो । 

संघले कुखुराको तयारी मासुमा प्रतिकिलो १५ रुपैयाँ र जिउँदो कुखरामा प्रतिकिलो १० रुपैयाँका दरले मूल्य घटाएको छ ।

टिप्पणीहरू