टिकटक प्रकरण : माओवादी सुन्दरीले स्तन देखाउनुभन्दा सरकारले पुच्छर लुकाउनु घातक छ।

टिकटक प्रकरण : माओवादी सुन्दरीले स्तन देखाउनुभन्दा सरकारले पुच्छर लुकाउनु घातक छ।

-राजेश मिश्र 

कसले भन्यो टिकटक बन्द भयो? टिकटक खुला छ। सुतुरमुर्ग भन्ने पृथ्वीको सबैभन्दा ठूलो चरो शत्रुले लखेटेपछि आफ्नो टाउको बालुवामा गाडेर सोच्छ, "अब मलाई शत्रुले देख्दैन।" समाजवाद उन्मुख गणतन्त्र नेपालका शासकको अवस्था अहिले ठ्याक्कै सुतुरमुर्गको जस्तै छ। 

सतारुढ़ माओवादी दलकी एक रंगीन बिरांगना र प्रतिपक्षी दलका होनहार लडाकु बीचको रसदार भिडिओ टिकटकमा छताछुल्ल भएको छेकमा नेपाल सरकारले टिकटकलाई प्रतिबन्धित गरेको छ। तर यो नेपाल सरकारको नालायकीको अर्को  हास्यास्पद उदाहरण हो। नेपालको तथाकथित अग्रगामी सरकार क्रमश कसरी पुनरुत्थानवादी कित्तामा लुकेर आफ्नो अस्तित्व जोगाउन छटपटिएको छ भन्ने यथार्थको प्रस्तुतीकरण हो अहिलेको टिकटक प्रकरण। 

सामाजिक संजालका ब्यसनीहरु सतही कुरामा रमाउँछन्। यो नेपाल मात्र होईन, बिश्वब्यापी यथार्थ हो। बाठा शासकहरु टिकटक प्रकरणमा बीचको बाटो लिएर नाफा गर्दैछन्। नेपालका शासकहरुले दुखेको एउटा औंलाका कारण आफ्नो सग्लो हात काटेर दुनियाँलाई आफ्नो "अग्रगामी" सोचको यथार्थ देखाइदिए ! 

नेपाल सरकारलाई एकोहोरो धारे हात लगाउनु अघि टिकटक के हो र यसलाई विश्वले कसरी आफ्नो हितमा प्रयोग गर्दैछ भन्ने कुरा बुझ्नु आवश्यक छ। टिकटकको बास्तविक मालिक चीनमा दर्ता भएको "डाउयीन" नामको एक कम्पनी हो। तर यसले आफू पर्दा पछाडि बसेर कानूनी रुपमा "बाईट डान्स" नामक कम्पनीलाई अघि सारेको छ। सन् २०१७ मा तीन सेकेण्ड देखि १० मिनेट सम्मको व्यक्तिगत भिडिओ बनाएर संसारलाई देखाउन मिल्ने प्राविधिक मंचको बिकास गरेपछि यसले पछाडि फर्केर हेर्नुपरेको छैन।

स्थापनाको तीन बर्षमा सन् २०२० सम्म टिकटक एप दुई अर्ब भन्दा बढीको संश्यामा डाउनलोड भैसकेको थियो। सन् २०२१ मा क्लाउड्फ़ेयर नामको एक अमेरिकी संस्थाले गरेको सर्वेक्षणले पुष्टी गर्यो, टिकटक विश्वको सर्वाधिक लोकप्रीय एप हो र यसका प्रयोगकर्ता गूगल भन्दा बढी छन् ।  

टिकटकको भूमण्डलीय प्रभाव 

हातमा मेनु, हातमै खाना, हातमा फेशन डिजाईनर, हातमै लुगा,  मनमा घुम्ने गन्तब्य, हातमै ट्राभल एजेण्ट, मनको कुरा सुन्ने मान्छे कोही भएन? अब मान्छेको मनको कुरा सुन्न र सुनाउन दुनियाँ तयार छ, हातमै। मान्छेले मानोस नमानोस्, अब दुनियाँ बदलिएको छ। टिकटकले स्थापनाको छ बर्षमै विश्वका दुई अर्ब मान्छेको जीवनशैली परिवर्तित गरिदिएको छ। फ़ेसबूक, ईन्स्टाग्राम र ट्वीटर आदि ईत्यादि पुराना खेलाडीहरु टिकटककै पदचिन्ह पछ्याएर प्रतिस्पर्धा गर्न र बजारमा टिक्न संघर्ष गर्दैछन्। यसकालागि अमेरिकामा जरो गाडेर बसेका "सिलिकन भ्याली"का साहूहरुले टिकटक जस्तै भिडिओ बनाउने सुविधा थप्न थप दुई चार करोड खर्च गर्नुपर्यो। टिकटक बिरुद्द प्राविधिक प्रतिस्पर्धा गर्न मुश्कील थियो। त्यसैले अमेरिकी कम्पनीहरु राजनीतिको शरणमा परे।  

फेसबूक र ईन्स्टाग्राम चलाउने मेटा प्लेटफार्मका साहू मार्क जुकरबर्गले सन् २०२२ मार्च महिनामा "टार्गेटेट भिक्ट्री" नामक एक प्रोपागाण्डा कम्पनीलाई पांच मिलियन डलरको एउटा ठेक्का दिए। अमरिकाको रिपब्लिकन पार्टीसंग सामिप्यता राख्ने यो कम्पनीको उद्देश्य थियो, "टिकटक अमेरिकी समाज र बालबालिकाको भविश्यका निम्ति खतरनाक छ," भन्ने धारणाको निमार्ण र बिस्तार गर्ने। यसका निम्ति "टार्गेटेड भिक्ट्री"ले मुलुकभरका पत्रकार र स्थानीय राजनीतिज्ञहरु परिचालित गर्यो। त्यही महिना टिकटकका प्रमुख कार्यकारी अधिकारी सोउ झी च्युलाई अमेरिकी संसदीय कमिटिमा बोलाएर बयान लिइयो। यसअघि सिलिकन भ्यालीका साहू र अमेरिकी सांसदहरु बीच पटक पटक रात्री भोजको शृंखला चल्यो र कडा कडा प्रश्नहरु तयार गरी। तर अमेरिकी बजारमा न टिकटक बन्द भयो, न त यसले अमेरिकी जनसमर्थनमा कुनै प्रतिकूल प्रभाव पर्न सक्यो। 

देखाउनका लागि अमेरिकामा टिकटक "प्रतिबन्धित" छ। तर यो केवल व्यापारिक स्वार्थसंग जोडिएको राजनीतिक नारा हो। अमेरिकी उच्चपदस्थ अधिकारीहरुलाई आफ्नो व्यक्तिगत खाताबाट टिकटक चलाउन निषेध छ। त्यसैगरी संघीय सरकारको स्वामित्वमा रहेको कुनैपनि उपकरणबाट टिकटक चलाउन मिल्दैन। तर जनता टिकटक चलाउन स्वतन्त्र छन्। अमेरिकी स्वतन्त्र सर्वेक्षण संस्था प्यू रिसर्च सेन्टरले गरेको एक अद्ध्यन अनुसार सन् २०२२ मा १० प्रतिशत अमेरिकीहरुको समाचारको प्रमुख श्रोत टिकटक थियो। सन् २०२० मा टिकटक मार्फत समाचार आपूर्ति गर्ने अमेरिकीहरुको संख्या ३ प्रतिशत मात्र थियो। अमेरिकी सरकार र रैथाने ब्यापारीहरुको भरमग्दूर प्रयास बिरुद्द टिकटक अमेरिकी जनता माझ थप लोकप्रीय हुँदैथियो। चालु सन् २०२३मा टिकटकले अमेरिकामा ९ अर्ब डलरको ब्यापार गर्ने प्रक्षेपण गरिएको छ। यो सन् २०२२ को तुलनामा २३ प्रतिशतले बढी हो।

अमेरिका जस्तै बेलायत र सात ओटा युरोपेली मुलुकहरुले पनि टिकटकमाथि सरकारी व्यक्ति र उपकरणमा "प्रतिबन्ध" लगाएका छन्। तर बेलायतमा मात्रै टिकटकले यो बर्ष आधा अर्ब स्टर्लिङ्ग पाउण्ड बराबरको ब्यापार गरिसकेको छ। युरोपेली संघको कुरा गर्दा टिकटकको ब्यापार यी हरफ लेखिंदा सम्म दुई अर्ब यूरो पुग्न लागेको छ। 

चलाख शासकहरु प्रतिकूलतालाई अनुकूलतामा ढाल्न सिपालु हुन्छन्। टिकटक वा चिनियाँ नियत प्रतिको संदिघ्नता हुँदाहुँदै उनीहरु यसैका कारण आफ्नो ब्यापार विनिमयमा असर पर्न दिंदैनन्। आम जनता टिकटक जस्ता सामाजिक संजालमा भुलिनुले शासकको अतिरिक्त चिन्तालाई कम गर्न मद्दत पुग्छ। हातको फोनमा शीर निहुर्याएर दिन बिताउने बनी परेको आम नागरिकले मौकामा सरकारमाथि औंला ठड्याउने बानी पनि बिर्सिन्छ। शासकका लागि यो सुखद् अवस्था हो। त्यसैकारण प्रतिबन्धित भन्दाभन्दै पनि टिकटक संसारभरी चलेकै छ। 

प्रतिबन्धको हौवा केवल राजनीतिक र व्यापारिक स्वार्थका लागि चियाको कपमा ल्याईएको तुफान हो । केही मुलुकमा टिकटक जनताका लागि प्रतिबन्धित छ । सन् २०२० जून महिनामा भारतले टिकटकको नाम नलिई पचास ओटा चिनियाँ एपलाई प्रतिबन्धित गर्यो। चीन संगको सीमा विवादमा आफ्ना २० जना सैनिक मारिएपछि भारतले प्रतिक्रिया स्वरुप "चिनियाँ एपले भारतको सार्वभौमिकतामा असर पारेको" कारण देखाउंदै यो निर्णय गरेको हो। तर उदेकलाग्दो कुरा, त्यही भारतमा अहिले "प्रतिबन्धलाई छिर्के लगाउंदै टिकटक कसरी चलाउने" भन्ने सयौं वेबसाईट सकृय छन्। लोकप्रीय छन् ! भारत सरकार आफ्नै नागरिकको यो छनौटका सामू लाचार छ। देखेको नदेखै गरेर बसेको छ। 

ईण्डोनेशिया र बंगलादेशजस्ता मुस्लीम बहूल मुलुकमा जनताले टिकटक चलाउन पाउंदैनन्। त्यहाँका सरकारले आफ्नो धर्म बिपरित यौनजन्य सामग्रीको प्रचूरताका कारण यसलाई प्रतिबन्धित गरेको हो। तर बंगलादेशका नागरिकहरु भी पी एन मार्फत सरकारलाई छलेर टिकटक चलाईरहेका छन्। सरकारले पनि आँखा चिम्लिदिएको छ। आर्मेनिया र अजरबैजान जस्ता मुलुकहरुमा पनि टिकटक प्रतिबन्धित गरिनुका पछाडि हास्यास्पद कारण दिईएको छ। त्यहाँका सरकारको दावी छ, "टिकटकमा देखिने बिलाशिताकाका सामानका कारण जनताबीच द्वन्द उत्पन्न हुनसक्छ !" 

राज्य नीरिह हुँदैछन् ! 

सन् १९८५ ताका रजनीश बाट ओशो भएका एक भारतीय सम्मोहक वक्ताले अमेरिकामा उघुम मच्चाएका थिए। अमेरिकाको ओरेगन राज्यको एक सहरमा उनले झन्डै समानान्तर सरकार चलाउन थालेपछि अमेरिकी सरकार झस्कियो। यी धर्मगुरुलाई देशनिकाला गरियो। त्यो बेला भारतको "आध्यात्मिक" अस्त्र कारक बन्यो। अहिले चीन प्राविधिक अस्त्र सहित अमेरिकामा खुलेआम प्रवेश गरेको छ। तर अमेरिकी सरकार लाचार छ। उसले चाहेर पनि टिकटकलाई "देश निकाला" गर्न सक्दैन। अमेरिकी संसदले राष्ट्रपति जो बाईडेनलाई टिकटक प्रतिबन्धित गर्ने अधिकार पनि दिएको छ। तर त्यो फाईल महिनौं देखि ह्वाईट हाउसको ओभल अफिसको रुजवेल्ट डेस्कमा त्यसै थन्किएको छ। बाइडेनले निर्णय गर्न गाह्रो छ। किनभने अमेरिकी राजनीतिज्ञहरुलाई पनि टिकटक मार्फत आफ्नो चुनाव अभियान चलाउन सहज र सुलभ छ। जनता जहाँ हुन्छन्, भोट माग्ने नेता त्यहाँ पुग्नुको बिकल्प हुँदैन। 

जनतालाई प्रविधिले दिएको अवसर उपयोग गर्नबाट बन्चित गर्ने अधिकार सरकारलाई हुँदैन। बेलायतको अक्सफोर्ड ईकोनोमिक्सले गरेको एक अद्ध्यनले देखाउँछ, टिकटकमा गरिने बिज्ञापन र विनिमयका कारण विश्वभरिका साना र मझौला व्यवसाय मात्र होईन, कम्पनी बिनाका व्यक्तिहरुले समेत सन् २०२२ मा झन्डै २ अर्ब पाउण्ड बराबरको ब्यापार गरे। नेपाल सरकारको मूर्खतापूर्ण निर्णयले जनताले यो अवसर गुमाउने छन्। 

सवारी दुर्घटनामा चालकको असावधानी देखिए कारवाही चालकलाई हुनुपर्छ। सवारी साधन त्रिशुलीमा लगेर फालिंदैन। भुटानी शरणार्थी प्रकरणमा आफ़नालाई जोगाएर अनुसन्धान गर्ने प्रहरीको सरुवा गर्ने सरकार, सुन तस्करीमा ठाडै मुछिएका आफ्नालाई जोगाएर सुशासनको पानी धमिल्याउने सरकार आफै नैतिक अपराधी हो। यस्तो सरकारले जनतालाई नैतिकताको पाठ पढाउने अधिकार हुँदैन। आफूले रोजगारी सिर्जना गर्न नसकेर लाखौँ युवालाई बैदेशिक मजदूर बनाउने तर प्रविधिले दिएको अवसर प्रयोग गर्न जनतालाई बन्देज लगाउने सरकार शासनको हकदार होईन। प्रगतिशील भनिएको सरकार प्रतिगामी हुँदैछ। 

तर अहिले नेपालको सरकार वास्तवमा सरकार नै हो वा देउवा-प्रचण्डको सिण्डिकेट? टिकटक होला नहोला, यो प्रश्नको उत्तर जनताले एकदिन सामाजिक संजालबाटै दिनेछ। माओवादी सुन्दरीले स्तन देखाउनुभन्दा सरकारले पुच्छर लुकाउनु घातक छ। 

  

   
   
 
 

टिप्पणीहरू