रोल्पाबाट लडाइँका निम्ति सोझै रुसतिर

रोल्पाबाट लडाइँका निम्ति सोझै रुसतिर
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रूस पुगेका रोल्पाका २७ वर्षीय खुमराज २२ दिनमै अत्तालिएका छन् । मानव तस्करलाई साढे ५ लाख रुपैयाँ तिरेर ‘रूसी सेनाको सपना’ पछ्याउँदै मस्को उडेका उनी ‘युद्धमैदानमा खट्नुअघि’ नै छट्पटीमा छन् ।

‘एजेन्टहरूले भ्रम छरेजस्तो धेरै कमाइ र सजिलै पीआर पाउने कुरा सत्य लागेन । रूसी सेनामा भर्ना भएको दुई हप्ता पूरा भयो । हामीहरू तालिम केन्द्रमा छौँ । अहिलेको लटमा ४ जना नेपाली छौँ । मलाई राम्ररी बन्दुक बोक्न पनि आउँदैन । तर लड्न जाने टिममा मेरो नाउँ आइसक्यो’, खुमराजले भने ।

दुई हातले बन्दुक समातेको छोटो समयमै ‘रूसी नाइके’ले भनिदियो, ‘युक्रेनपट्टी लड्न जा’। दोधारमै छन् उनी भाग्ने कि ‘अग्रमोर्चा’ मा खटिने ! ‘घर–परिवार,लडाइँ र एउटा सपना’ देख्दै टोलाइरहेका उनी एक्ला व्यक्ति होइनन् । उनीजस्ता दर्जनौँ कलिला युवाहरू छन्,जो पहिलोपटक ‘बम,बारुद र बन्दुक’सँग खेल्दैछन्।

उनका अनुसार नेपाल र अरु पनि बाहिरी देशका युवालाई रूसले त्यसैगरी भित्र्याइरहेको छ । एक–दुई हप्ता नाम मात्रैको तालिमपछि रूसले आफ्ना सैनिकको अग्रमोर्चामा नेपालीजस्तै अरु देशका तन्नेरीहरूलाई खडा गर्छ । रूसको आफ्नै सैनिकहरू भने पछिल्ला र बाहिरी घेरामा हुन्छन् ।

‘हामीहरूले प्लान बनाइरहेका छौँ,मर्न जाने कि अब घर फर्किने ! लडाइँ झन्–झन् चर्किंदैछ, यस्तो अवस्थामा रेडजोनमा जानु भनेको मर्न जानु हो । जानीजानी मर्नचाहिँ किन जाने ? एजेन्टलाई पनि भनिसक्यौँ । ऊ हामीहरूलाई गाली गर्दैछ,थर्काउँदैछ’, खुमराजले भने, ‘एजेन्टले प्रलोभन देखाएर फसायो,हामीहरू जसरी पनि घर फर्किन्छौँ ।’

यसरी नेपालीलाई त्यहाँ पुर्‍याउन मानव तस्करीको जालो मस्कोदेखि काठमाडौँसम्म फिँजिएको छ । एजेन्टहरूले नेपाली युवालाई ‘भिजिट भिसा’ मिलाएर विभिन्न रुटबाट रूससम्म पुर्‍याउँछन् र त्यहाँ भएका एजेन्टहरूले सिधै रूसी सेनाको क्याम्पमा पुर्‍याउँछन् ।

बेरोजगारी र आर्थिक अभाव झेलिरहेको युवा जमातलाई अनेकौँ लोभ देखाउँदै दलालहरूले ‘मृत्युमार्ग’तिर धकेल्दैछन्। राहदानी खल्तीमा बोकेर हिँडिरहेका युवाहरू मानव तस्करलाई लाखौँ तिरेर जीवन सुम्पिँदै धमाधम रूस उडिरहेका छन्। त्यो पनि ज्यानकै बाजी थाप्न । रूस पनि यही चाहन्छ । सेनामा भर्ती भएपछि ‘धेरै पैसा र तत्कालै रूसी नागरिकता’ आँखैअघि कल्पिँदा क्षणभरमै लोभिन्छन् नेपाली। र, घर–परिवार र आफन्त छल्दै मस्को उड्छन्।

कृषितिरको पढाइ सकेर ‘घर–परिवारको ऋण तिर्न’का लागि थप ५ लाख ऋण काढेर रूस हानिएका खुमराज मस्कोमा अलपत्रै छन् । उनीसित पाँचथर, सल्यान र रोल्पाकै अरु ३ युवा छन् । दलालको फन्दामा परेर सेनामा भर्ती हुने सपना बोकी रूस पुगेको उनीहरूको गुनासो छ ।

‘काठमाडौँबाट ६ जना आएका थियौँ । अहिले ४ जना छौँ। २ जना साथीहरू मस्को आएको केही दिनमै रूसले कब्जा जमाएको युक्रेनी सीमातिर गइसके’, खुमराजले भने, ‘ती साथीहरू नेपालका पूर्वसैनिक रहेछन्।

पूर्वसैनिक वा प्रहरीलाई मस्को पुगेपछि तालिम केन्द्रमा लगिँदैन । सिधै लडाइँमा खटाइन्छ।’

मस्को गएको तीन हप्तामै भयावह युद्ध भइरहेको ठाउँमा खटाउन थाल्दा उनीहरू घर फर्किने सुर कस्दैछन्। नेपालीहरूमा पैसाका लागि युक्रेनविरुद्ध लडाइँ लड्ने तीव्र हुटहुटी छ। जब उनीहरू रूस पुग्छन्, तब मात्रै पीडाका पहाड देख्छन्। र, मस्कोस्थित दूतावासकहाँ ‘घर फर्काइदेऊ’ भन्दै बिन्ती बिसाउँछन्।

उसो त तालिम केन्द्रबाट भाग्न खोज्दैछन् खुमराज। ‘रेडजोन’मा खट्न तयार छैनन् उनी। मस्कोबाट भागेर नेपाल फर्कने मेसो मिलाउँदैछन् । र, सेनामा भर्ती हुने ‘रूसी सपना’ थन्क्याउँदै छन्।

तर भनेजस्तो सजिलो त पक्कै छैन। किनकि क्याम्प लैजानुअघि नै उनीहरूलाई एउटा ‘एग्रिमेन्ट’मा हस्ताक्षर गराइन्छ, त्यो भनेको मासिक पैसा दिनेगरी रूसको सैनिकले उनीहरूलाई किनेको हो। त्यो कागजअनुसार कम्तीमा एक वर्ष उनीहरूले त्यसरी नै लडाइँको अग्रमोर्चामा खटिनुपर्ने हुन्छ। भाग्ने प्रयासमात्रै गर्दा रूसको सैनिकले उनीहरूलाई बन्दी बनाइहाल्छ।

टिप्पणीहरू