मध्यपूर्वका मुलुकमा नेपाली महिलामाथि यौनहिंसा बढ्दो
गत बुधबार युएईको सारजाहबाट काठमाडौं आइपुगेको विमानको शौचालयमा नवजात शिशु फेला पर्यो । एअर अरेबियाको उडान नम्बर जी ९ ५३६ बाट बिहान ९ बजे काठमाडौं अवतरण भएको उक्त विमानको शौचालयको कमोडभित्र भर्खर जन्माएको शिशु लुकाईछिपाई छाडिएको अवस्थामा फेला परेको थियो ।
विमान सफाईमा संलग्न कर्मचारीले कमोडभित्र नवजात शिशु देखेपछि एअरलाइन्सका कर्मचारी र प्रहरीले सुत्केरी आमाको खोजतलास गरे । सोही क्रममा प्रहरीले नवजात शिशु फालेको आरोपमा कुवेतबाट उक्त विमानमा फर्केकी २८ वर्षीया धनमाया रानालाई तत्काल नियन्त्रणमा लिएको थियो ।
प्रशव पीडामा रहेकी उनलाई तत्काल उपचारार्थ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्याई आईसीयुमा भर्ना गरियो । नवजात शिशुको भने मृत्यु भएको छ । राना कुवेतमा घरेलु कामदारको रुपमा गएको खुल्न आएको छ ।
रोजगारीको सिलसिलामा कुवेत पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९, घतान काउलेगौडाकी हिराकुमारी चोखालको गत मंसिर २१ गते मात्र उद्धार गरिएको थियो ।
आकर्षक तलबको प्रलोभनमा भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया चोखालले आफूमाथि श्रम शोषण भएको जनाएकी थिइन् । घर मालिकले मानसिक तथा शारीरिक यातनासमेत दिने गरेको जनाउँदै उद्धारको लागि हारगुहार गरेपछि विभिन्न संघसंस्थाले उद्धार गरेका हुन् ।
उनी करिब आठ महिनाअघि मात्र जटिल रोगबाट ग्रसित आफ्नो श्रीमानको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि घरेलु कामका लागि भारत हुँदै कुवेत पुगेकी थिइन् । त्यहाँ मालिकले दैनिक १८ घण्टासम्म काममा लगाउने र मानसिक तथा शारीरिक यातनासँगै पारिश्रमिक समेत नदिएपटि उनी अप्ठेरोमा परेकी हुन् । उद्धारका लागि अपिल गरेकी हिराकुमारी र धनमाया प्रनिनिधि पात्र मात्र हुन् ।
उनीहरुजस्ता कयौं नेपाली महिलाको कुवेतलगायत खाडी मुलुकमा दयनीय अवस्था छ । सरकारले घरेलु कामदारको रुपमा नेपाली महिलालाई खाडी मुलुक जान प्रतिबन्ध लगाएको छ ।
तर, मुलुकमा रोजगारीको पर्याप्त अवसर नहुँदा अत्यासलाग्दो गरिबी र बेरोजगारीका कारण महिलाहरु गैरकानूनी वा अवैध बाटो हुँदै खाडी मुलुक जाने क्रम अझै रोकिएको छैन ।
घरपरिवारको कमजोर आर्थिक अवस्था र सुखद भविष्यको कल्पनामा घरेलु कामदारको रुपमा नेपाली महिलाहरु खाडी मुलुक त जान्छन् । तर, त्यहाँ शारीरिक र मानसिक शोषणको भार बोकेर स्वदेश फर्किने गरेका छन् ।
घरेलु कामदारको रुपमा खाडी पुगेका अधिकांश महिलाहरु यौन शोषणमा पर्ने गरेका छन् । तर, संकोच र डरधाकका कारण उनीहरु बोल्न र प्रतिकार गर्न सक्दैनन् । यतिसम्म कि घरपरिवारले समेत उनीहरुलाई बहिष्कार गर्ने गरेको छ ।
दलाल, बिचौलियाको झुठो आश्वासनमा परेर आफ्नो परिवार र छोराछोरीको शिक्षादीक्षाका लागि खाडी जाने धेरै महिला जटिल समस्याबाट गुज्रन थालेका छन् । उनीहरुलाई दिनरात काममा लगाएर कुटपिट, विभिन्न खालका शोषण तथा यौन शोषण गर्ने भएकाले पासपोर्ट समेत मालिकले राखेपछि समस्यामा पर्ने गरेका हुन् ।
खाडी पुगेका धेरै महिलाको श्रम तथा शारीरिक शोषण, भावनात्मक हिंसा, यातना, बलात्कारजस्ता घटनामा परेकाले विक्षिप्त अवस्थाबाट उद्धार हुने गरिएको छ । साधारण लेखपढ, सामान्य अंग्रेजी भाषा बोल्न नसक्ने र स्मार्ट मोबाइल चलाउन नजान्ने महिलाहरु त्यहाँ गएकाले आफूलाई परेको समस्या र समस्या परेमा सम्पर्क गर्ने स्थानबारे अनभिज्ञ देखिन्छन् ।
सरकारले वैदेशिक रोजगारका सम्बन्धमा ग्रामीण महिलालाई शिक्षित बनाउन सकेको छैन । घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा गएका कति महिला कुन अवस्थामा छन् भन्ने तथ्याक पनि सरकारसँग छैन । यसले कुनै पनि काममा खाडी मुलुक गएका महिलाको सुरक्षाको प्रत्याभूति सरकारले गर्न सकिरहेको देखिँदैन ।
खाडीमा श्रम र यौन शोषणसँगै विभिन्न हिंसामा परेका १० जना नेपाली महिलाको गत वर्ष उद्धार गरिएको माइती नेपालले जनाएको छ । तीमध्ये एक महिलाको गर्भवती अवस्थामा उद्धार गरिएको थियो । हाल उनको जुम्ल्याहा शिशु छन् ।
यता माइती नेपालले घरेलु हिंसा, यौन शोषण, मानव बेचबिखनमा परेका महिला तथा बालबालिकाको उद्धार गर्दै आएको छ । त्यस्ता व्यक्तिको उद्धार गरी आश्रय र सुरक्षा दिने कार्यसमेत गर्दै आएको माइती नेपालले जनाएको छ ।
घरेलु कामका लागि अवैध बाटो हुँदै खाडी पुग्ने र त्यहाँ श्रम र यौन शोषणमा पर्ने नेपाली महिलाहरुको संख्या वर्षेनी बढ्दो क्रममा रहेको माइती नेपालकी कानुनी अधिकारी उमा तामाङ बताउँछिन् ।
‘अवैंध बाटो हुँदै घरेलु कामदारका लागि खाडी पुगेका महिलाको समस्या र उद्धारको अपिल प्रत्येक वर्ष बढ्दो छ,’ उनले भनिन् । गरिबी र बेरोजगारीले पिल्सिएका महिलाहरु दलाल, बिचौलियोको प्रलोभनमा परेर रोजगारीका लागि खाडी मुलुक जाने र त्यहाँ जटिल समस्यामा पर्ने गरेको उनको भनाई छ ।
महिलालाई वैदेशिक रोजगारमा खाडी जान प्रतिबन्ध लगाउनुको साटो उक्त देशको धर्म, भाषा, कानून, सुविधा र आफ्नो अधिकारबारे सरकारले शिक्षा दिनुपर्नेमा तामाङले जोड दिइन् । ‘जुनसुकै कामका लागि खाडीका मुलुक पठाउनुपूर्व सरकारले महिलालाई सीपयुक्त र सामान्य लेखपढ गर्न सक्ने बनाउनुपर्छ,’ उनले भनिन्, ‘तब मात्र महिलाको सुरक्षा व्यवस्था बलियो हुन्छ ।’
टिप्पणीहरू