धर्मका नाममा सुविधा र अपराध धमाधम

धर्मका नाममा सुविधा र अपराध धमाधम
सुन्नुहोस्

अविकसित र अल्पविकसित देशबाट सम्पन्न र विकसित राष्ट्रमा यो वा त्यो बहानामा धेरै मानिस मुख्यतः अर्थ उपार्जनका लागि जाने गर्छन् । समय गुज्रँदै जाँदा धेरै जसोले स्थायी रूपमा त्यही देशमा जीवन बिताउँछन् । त्यसो त जीवनशैलीको रूचाइका कारण कतिपय मानिस भौतिक सुख–सुविधा त्यागेर प्राकृतिक जीवनयापन गर्न विश्वका कैयन गरिब मुलुकमा पनि जाने गर्छन् । जहाँ गए पनि आफूले सोचेअनुसार जीवन व्यतित गर्न पाउने उद्देश्य बोकेका हुन्छन् । केही मानिस जहाँ पुगे पनि आफ्नो गलत मानसिकतालाई सुधार्न आवश्यक ठान्दैनन् । परिस्कृत समाजको बनावटलाई कुनै ख्याल नराखी आफ्ना आपराधिक इच्छा आकांक्षा पूरा गर्न तल्लीन हुन्छन् । हुन त अपराध नहुने समाज हुँदैन । जति सम्पन्न र सुसंस्कृत समाज हुन्छ त्यति धेरै अमानवीय र पाशविक अपराध घट्ने गर्छन् ।

यो हप्ता बेलायतको एउटा घटनाले सबैको ध्यान खिचेको छ । सरकार, न्यायालय मात्र हैन स्थानीय चर्चको पनि विविध कमी–कमजोरी पर्दाफास भएका छन् । यति बलियो र विधियुक्त प्रणालीको बाबजुद पनि त्यो घटना घटाउने मानिसलाई पक्रन सकिएको छैन । अनेकन ठाउँमा पुगेको सिसिटिभी फुटेज सार्वजनिक गरिएका छन् । सुराकी दिनेलाई २० हजार पाउण्ड पुरस्कार घोषणा गरिएको छ ।

धारिलो हतियारसहित आक्रमण गर्ने योजनाको अभियोगमा जेल सजायँ काटेर छुटेको १७ दिनपछि यो भयानक घटना घटाएका थिए । 

दक्षिण लण्डनको लेसर एभेन्यू, क्लैपम का’मनमा गत बुधवार जनवरी ३१ को साँझ करिब साढे सात बजेतिर लगभग ३५ वर्र्षको एक युवकले आमा र दुई छोरीमाथि आक्रमण गरेको थियो । एकापसमा परिचय भएको मानिने ती युवा अफगानी हुन् । ती महिलासँग केही समयदेखि विशेष सम्बन्ध भएको र सब जना लण्डन जाने भनेर उनले शुरुमा तीन वर्र्षको बालिकालाई आफ्नो गाडीमा राखेका थिए । त्यसपछि उनीहरूबीच केही समस्या भएको र आमा चाहिँले प्रतिकार गरेर गुहार मागेपछि वरिपरिका छिमेकी आएर सहयोग गर्नासाथ बच्चालाई गाडीबाट सडकमा फाल्नासाथ आमा र ठूली छोरीमाथि एसिडजस्तो रासायनिक पदार्थले छ्यापेका थिए । आक्रमणकारी अर्को गाडीमा ठोक्किएपछि गाडी छाडेर भागेका थिए । प्रहरीले रातभरि हवाई गस्तीबाट उसको खोजी गरेको थियो । यस घटनामा पाँच प्रहरीसहित १२ जनालाई अस्पताल लगियो । प्रहरीले उनलाई थेम्स नदीमा डुबेर मरेको हुन सक्ने भनी व्यापक खोजी गरे पनि प्रमाण भेटिएको छैन ।

प्रहरीका अनुसार ती आक्रमणकारी ३५ वर्षीय अब्दुल सोकुर एजेदी हुन् । उनी सन् २०१६ मा अफगानिस्तानबाट विभिन्न देश हुँदै लरी चढेर आइपुगेका थिए । यहाँ आउनेबित्तिकै शरणको लागि आवेदन दिए तर सफल हुन सकेनन् । त्यसपछि इस्लाम धर्म त्यागेर इसाई धर्म ग्रहण गरे । यही आधारमा यदि आफू देश फर्केमा ज्यान सजायँँ हुन्छ भनेर पुनः आवेदन दिए । यसलाई पनि गृह मन्त्रालयले स्वीकार नगरेपछि पुनरावेदन लिएर अदालत (ट्राइबुनल) पुगे जहाँबाट सन् २०२० मा जितेपछि कानुनी रूपमा यही देशमा बस्न पाइने भयो । सन् २०१८ मा, एजेदीलाई यौन दुव्र्यवहार र एक्सपोजरको (यौनांग देखाउने) अभियोगमा दोषी ठहर गरिएको थियो ।

यो घटनापछाडि बेलायती जनताले त्यस्तो अपराधीलाई किन र कसरी शरणार्थीको मान्यता दिइयो भन्ने प्रश्न गरेका छन् । शरणार्थीको दर्जा पाएकाहरूले समेत यस प्रकारका जघन्य अपराध गरे भने सम्बन्धित देशमै पठाउन सकिने व्यवस्था छ । कुनै मानिस शरणका लागि धर्म परिवर्तन गरेर प्रत्येक आइतबार चर्चमा जानुलाई मात्र आधार मान्नु गल्ती सावित भएको छ । अहिलेसम्म धार्मिक आधारमा कति जनाले शरण पाए भन्ने यकिन तथ्यांक गृह मन्त्रालयसँग छैन । यस घटनापछाडि आन्तरिक मूल्यांकनका लागि के कतिले शरण पाएका छन् त्यसको दुरुस्त रेकर्ड राख्न गृहमन्त्री जेम्स क्लेभर्लीले निर्देशन दिएका छन् । 

यसबीच वे माउथ डोर सेटको एक चर्चनजिक निर्मित शरणार्थी आवासमा रहेका ४० जनाले धर्म परिवर्तनका निम्ति आवेदन दिएको बताइएको छ । यसअघि सन् २०२१ मा लिभरपुलमा महिला हस्पिटलअगाडि आत्मघाती बम पड्काउने इमाद अल स्वेएलमीन पनि धार्मिक आधारमा शरण पाएका व्यक्ति थिए । सन् २०२० को जुन २०, बेलुकी करिब सात बजे बर्कसायरको रेडिङस्थित फोरबरी गार्डेनमा मनपरी चक्कु प्रहार गर्दा तीन जनाको मृत्यु र तीन जना गम्भीर घाइते भएका थिए । केही समयमै २५ वर्षीय लिबियाली पुरुष शरणार्थी खैरी सादाल्लाह पक्राउ परे । उनी लडाकू समूह अन्सार अल सरियाका पूर्व सदस्य थिए । सन् २०१२ मा गृहयुद्धबाट बच्नका लागि १७ वर्षीय युवा अवस्थामा बेलायत आएपछि म्यान्चेस्टरमा बसोबास गर्थे । 

सदालाहा सन् २०१५ देखि २०१९ सम्म १५ वटा अभियोगमा ६ पटक दोषी ठहर भएमध्ये आक्रमण, छुरा बोकेको, जातीय तथा धार्मिक छेडखान मुख्य थिए । लागुपदार्थ दुव्र्यसनी उनी बारम्बार मानसिक सन्तुलन नभएको बहानामा डाक्टरकोमा पनि जाने गर्थे । उनको सम्बन्ध जाति वादी समूह जिहादसँग पनि थियो । यहाँको सुरक्षा निकाय एम १५ ले निगरानीमा राखेको थियो । यसका बाबजुद धारिलो हतियारसहित आक्रमण गर्ने योजनाको अभियोगमा जेल सजायँ काटेर छुटेको १७ दिनपछि यो भयानक घटना घटाएका थिए । यस अगाडिका घटनाको आधारमा लिबिया फर्काउने तयारी गरिएको भए शायद उनको मानवअधिकार उल्लंघन हुने थियो । 

बेलायतमा विशेषतः निर्वाचनको सरगर्मी चलेसँगै सबैभन्दा बढी चर्चा आप्रवासीको संख्याबारे हुने गर्छ । साना डुंगाबाट समुद्र तरेर आउनेहरूको संख्या बढेपछि त्यस्तालाई रुवाण्डा पठाउने तयारी शुरु भयो । तर, अदालतको आदेशअनुसार यो योजना कार्यान्वयन हुन पाएन । बेलायतले सन् २०१३ यता ३८ जना रुवाण्डियनलाई शरणार्थीको मान्यता दिएको छ । 
 

टिप्पणीहरू