सरकारले दोस्रो पत्र पठाएपछि मीटरब्याज पीडितहरु वार्तामा बस्न राजी

सरकारले दोस्रो पत्र पठाएपछि मीटरब्याज पीडितहरु वार्तामा बस्न राजी

सरकारले मीटरब्याज पीडितलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयले मीटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई दोस्रो पत्र पठाएर वार्तामा आउन औपचारिक आग्रह गरेको हो । 

मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । ‘मीटरब्याज समस्या समाधानको लागि मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएकोले छलफलका लागि बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुनुहुन आदेशानुसार अनुरोध छ,’ समितिलाई पठाइएको पत्रमा भनिएको छ ।

मन्त्रालयले शुरुमा समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि पत्र पठाएको थियो । तर, पत्रमा व्यक्तिगत सम्बोधन गरिएको भन्दै समितिले असहमति जनाएको थियो । 

त्यसको केही घण्टामै मन्त्रालयले पुन: समितिको नाममा पत्र लेखेर पीडितका तर्फबाट ५ सदस्यीय टोली गठन गरी वार्तामा आउन आग्रह गरेको छ । 

देशभरका मीटरब्याजी पीडितहरू २६ दिनदेखि आन्दोलनरत छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीबाट पैदलयात्रा गरेर काठमाडौँ आइपुगेका पीडितहरू केही दिनयता सिंहदरबार तथा भृकुटीमण्डप केन्द्रित आन्दोलनमा छन् । आजै विहान मात्र उनीहरुले थाल र चम्चा बजाउदै र्याली निकालेका थिए ।

टिप्पणीहरू