समाज कल्याणको पत्रपछि प्रदर्शनकारी क्रुद्ध, सशक्त प्रतिकारको चेतावनी

समाज कल्याणको पत्रपछि प्रदर्शनकारी क्रुद्ध, सशक्त प्रतिकारको चेतावनी
सुन्नुहोस्

न्याय माग्दै पुनः पैदल यात्रा गरेर राजधानी आएका मीटरब्याज पीडितहरु क्रुद्ध भएका छन् । दिनहुँ काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका उनीहरुलाई भृकुटीमण्डपबाट हटाउन खोजिएपछि हिजोको वार्ता बिथोलिएको जनाइएको छ । 

समाज कल्याण परिषद्ले पीडितहरु बसिरहेको भृकुडीमण्डप खाली गराउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई लिखित अनुरोध गरेपछि उनीहरु आक्रोशित बनेका हुन् । ती स्थल इआरएम कन्सेप्ट तथा नेपाल ल्याप एण्ड मेडिकल एक्स्पोले बुकिङ्ग गरी परिषद्को खातामा २१ लाख ३० हजार रकम अग्रिम दाखिला गरेकाले खाली गराउनुपर्ने अवस्था आएको पत्रमा उल्लेख छ ।

‘कार्य सम्पन्न हुन नसकेको अवस्थामा २१ लाख ३० हजार दाखिला रकम फिर्ता गर्न गम्भीर कानूनी अड्चन हुने हुँदा र पूर्व तयारी खर्च बापतको रकम क्षतिपूर्तिको लागि आयोजकले परिषद्सँग दाबी गर्दै न्यायालयमा मुद्दा पर्ने अवस्था विद्यमान छ । तसर्थ, त्यहाँ विगत तीन दिनदेखि निरन्तर प्रदर्शनीस्थलमा २४ सै घण्टा रहँदै आउनु भएका मीटरब्याज पीडितहरु करिब ३७०० जनाको अविलम्ब व्यवस्थापन गरी दिनहुन अनुरोध छ,’ समाज कल्याणले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्दै लेखिएको पत्रमा भनिएको छ ।

पीडितहरु बसेकै ठाउँमा प्रहरी पुगेर तितरबितर गर्न खोजेपछि गृह मन्त्रालयमा हिजो बिहान ११ बजे हुने भनिएको वार्ता बिथोलिएको थियो । मीटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले विज्ञप्ति जारी गर्दै एकातिरमा वार्तामा बोलाउने र अर्कातिर धर्नास्थल र बास खोस्ने षड्यन्त्र रचेको आरोप लगाएको छ ।  

‘हामीलाई वार्ताका लागि आह्वान गरेकोमा स्वागत गर्दै वार्तामा सहभागी भई थप छलफल बिहान ११ बजेदेखि सुरु गर्ने गरी बसाईं टुङ्गायौं । तर, यता वार्तामा बस्ने उता धर्नास्थल र बास खोस्ने पड्यन्त्र रच्दै प्रहरीमार्फत् धम्काउने कार्य गर्दा राज्यको धोखापूर्ण देखियो,’ जारी विज्ञप्तिमा लेखिएको छ ।

उनीहरुले सरकारी निर्देशनको सशक्त प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन् ।


 

टिप्पणीहरू