अर्थ मन्त्रालय छाड्न काँग्रेस तयार, मुख्यसचिवलाई बिदामा बस्न निर्देशन

अर्थ मन्त्रालय छाड्न काँग्रेस तयार, मुख्यसचिवलाई बिदामा बस्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाबीच आजको भेटवार्ता असमझदारी हटाउने दिशामा केन्द्रित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिमण्डल हेरफेर र राष्ट्रिय सभाको आगामी अध्यक्षबारे कुराकानी भएको थियो ।

मन्त्रिमण्डल हेरफेर र प्रधानमन्त्रीलाई असहज पात्र अर्थबाट हटाउन देउवा सहमत भए पनि बदलामा कुन मन्त्रालय लेनदेन गरेर शोधभर्ना गर्ने त्यो चाहिँ आजै नटुंगिएको काँग्रेस स्रोतले बतायो । यद्यपि गृह र अर्थ मन्त्रालयको नेतृत्व हेरफेर हुने सम्भावना भने अधिक छ । सम्भवतः राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र मन्त्रिमण्डल हेरफेर एकै समयमा हुनसक्छ ।

"अर्याल बिदामा बसेपछि मन्त्रिपरिषद सञ्चालनको निम्ति निमित्त मुख्यसचिवको खोजी भएको छ ।"

यता,माओवादी स्रोतले राष्ट्रिय सभाको अध्यक्ष काँग्रेसलाई दिनेबारे कुनै सहमति नभएको बताएको छ ।  

यसैबीच मुख्यसचिव बैकुण्ठ अर्याललाई आजदेखि बिदामा बस्न भनिएको छ । नेपाल टेलिकमको बिलिङ सिस्टममर्मत अनियमित सम्झौतामा मुछिएको समाचारपछि उहाँलाई बिदामा बस्न प्रधानमन्त्रीले हिजै राती निर्देशन दिनुभएको थियो । 

अर्याल बिदामा बसेपछि मन्त्रिपरिषद सञ्चालनको निम्ति निमित्त मुख्यसचिवको खोजी भएको छ । त्यसबारे फाइनल नभइसकेको बालुवाटार स्रोतको दावी छ ।

टिप्पणीहरू