जंगलमा आगो झोस्दै हिँडेका मिलनलाई अदालतमा उभ्याइयो

जंगलमा आगो झोस्दै हिँडेका मिलनलाई अदालतमा उभ्याइयो

सिन्धुपाल्चोकका वन जंगलमा आगो झोस्दै हिँडेको आरोपमा एक जना पक्राउ परेका छन् । वनमा डढेलो लगाउँदै हिँडेका बलेफी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय मिलन लामालाई प्रहरी हिरासतमा राखिएको छ ।

सिन्धुपाल्चोकको इतिहासमा डढेलो लगाउँदै हिँडेको आरोपमा पक्राउ परेकामा लामा पहिलो हुन् । यसअघि पनि सुख्खायामसँगै वनमा डडेलो लाग्थ्यो । तर डढेलो लगाएकै आरोपमा कोही पनि पक्राउ परेका थिएनन् । लामालाई सेलटाप सामुदायिक वनमा डढेलो लगाउँदै गर्दा पक्राउ गरिएको थियो । 

पक्राउ परेका लामालाई  प्रहरीले सामुदायिक वनलाई र सामुदायिक वनले सबडिभिजन वन कार्यालय जलबिरेलाई बुझाएको वन कार्यालय सिन्धुपाल्चोकका अधिकृत रमेश दुलालले बताए । उनका अनुसार लामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत सिन्धुपाल्चोकबाट पाँच दिनको म्याद थपको आदेशसहित हिरासतमा राखिएको प्रहरीले जनाएको छ । कसुर सावित भएमा बिगो असुल गरी तीन वर्ष कैद वा ६० हजार जरिवाना वा दुबै सजाय हुने छ ।

चैत लागेसँगै अन्यत्रझैँ सिन्धुपाल्चोकका वनमा पनि डडेलो लाग्ने क्रम बढ्दो छ । केही सातादेखि जिल्लाका अधिकांश वनमा डढेलो लागेको छ । वनमा डढेलो लाग्न थालेपछि सचेत वर्गले चिन्ता र चासो व्यक्त गरेपनि डढेलो  नियन्त्रणमा आउन सकेको छैन । सञ्चारमाध्यमले पनि डडेलो सम्बन्धी जनचेतनामूलक सन्देश प्रकाशित र प्रसारित गर्दै आएका छन् । तर त्यसको प्रभाव देखिएको छैन ।

टिप्पणीहरू