युवाहरुको आशा समेटिएको ‘दी रेड सुटकेस’

सुन्नुहोस्

सूचना प्रविधिको विकासले दर्शकमा चलचित्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको छ । खासगरी विभिन्न ‘ओटीटी’ प्ल्याटफर्मको कारण नेपाली दर्शकहरुमा पनि चलचित्रसम्बन्धी चेत विकास भएको अनुमान लगाउन सकिन्छ । 

मोबाइलमा विश्वभरका चलचित्र बोकेर हिँडेका दर्शकले अचेल आफैं नेपाली चलचित्रको समीक्षा र विश्लेषण गर्न थालेका छन् । यसैबीच पछिल्लो समय दर्शकहरुबीच चासोको विषय बनेको नयाँ चलचित्र हो, ‘दी रेड सुटकेस’ । 

यो चलचित्र आगामी चैत मसान्तका दिन रिलिज हुँदैछ । रिलिजअघि नै चलचित्रले राम्रो चर्चा बटुलिसकेको छ । मुख्य तीन कारण चलचित्रले हाइप बनाएको अनुमान लगाउन सकिन्छ । 

पहिलो, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल । विश्वका दुई दर्जन प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भइसकेको यो चलचित्रले अहिले ‘होमकमिङ’ गरेको हो । विश्व चलचित्र बजारमा ‘दी रेड सुटकेस’ले नेपालको सफल प्रतिनिधित्व गरेको बताइन्छ । यसलाई दर्शक र समीक्षकहरुले सम्भावनाको ढोका खोलेको विशेषण दिएका छन् । 

दोस्रो चर्चाको कारण यसका कलाकार हुन् । चलचत्रिमा सबै हालका ट्रेन्डिङ कलाकार छन् । फिडेल देवकोटाको निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, प्रवीण खतिवडा, विपिन कार्की र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । 

र, तेस्रो कारण चलचित्रको शैली हो । हाल सार्वजनिक भएको टिजर र ट्रेलरलाई आधार मन्दा यो चलचित्रलाई परम्परागत शैलीभन्दा नितान्त पृथक क्राफ्टमा तयार पारिएको भन्न सकिन्छ । यसको छायांकन, दृश्य कलर, ब्याकग्राउन्ड म्युजिक सबैमा पृथक पाइन्छ ।

त्यसो त, उक्त चलचित्रको कथा कोभिड महामारीमा जन्मिएको निर्देशक फिडेल देवकोटा बताउँछन् । त्यतिबेला विदेशबाट हरेक दिन उल्लेखनीय संख्यामा नेपाली नागरिकको लाश फर्किरहेको अवस्था देखेपछि आफूभित्र छट्पटी र ज्वालामुखी उठेको उनको अनुभव छ । त्यो छट्पटाहटलाई आफूले चलचित्रमार्फत अभिव्यक्त गरेको जनआस्थालाई बताए । उनले भने, ‘त्यतिबेला म आफंै बर्लिनमा थिएँ, मेरै के हुन्छ थाहा थिएन । फिल्म बनाउने सोच आएपछि टेल स्टोरी बनाउने कि सेल स्टोरी बनाउने भन्ने थियो, मैले टेल स्टोरीलाई प्राथमिकता दिएँ ।’ 

कलाकार प्रवीण खतिवडाले ‘दी रेड सुटकेस’ मिस्टिक रियालिज्मको कथामा बनेको जानकारी दिए । टिजर र ट्रेलर स्मरण गर्दै भने, ‘रेड सुटकेस घिसार्ने पात्र म हो, सुटकेससहित बाकस पुर्याउन जाने सौगात मल्लजी हो । सौगात मल्ललाई बाटोमा खानपिन गराउने विपिन कार्कीजी हो । गाउँमा भेट हुने पात्र सृष्टिजी हो ।’ 

उनले यो चलचित्रमा हरेक नेपाली नागरिकले ‘रिलेट’ गर्ने कथा भएको पनि बताए । चलचित्रले सरल शैलीमा गम्भीर प्रश्न गरेको उनको तर्क छ । भन्छन्, ‘यो हरेक घरले रिलेट गर्ने सिनेमा हो । हेरेपछि, यसरी पनि सिनेमा बनाउन सकिँदो रहेछ भन्ने लाग्छ । रेड सुटेकसमा युवाहरुको आशा छ ।’ 

त्यसो त चलचित्रको निर्माण टिमले क्युएफएक्स चेनका हलमा प्रदर्शन नगर्ने घोषणा गरिसकेको छ । यसबाहेक अन्य सबै हलका पर्दामा चलचित्र प्रदर्शन हुने कलाकार खतिवडाले जानकारी दिए । नेपाली हलहरुको सिन्डिकेट ब्रेक गर्न भद्र अवज्ञा गरेको जानकारी दिँदै भने, ‘क्युएफएक्सले स्क्रीन त दिन्छौँ, तर प्राइम टाइम हुँदैन भन्नु भएको थियो । हामीलाई प्राइम टाइममा नपाएको स्क्रीनको के अर्थ ?’ 

निर्देशक देवकोटा भने नेपाली हलहरुको सिन्डिकेटलाई रोमान्टिक रुपमा लिन्छन् । कलाकार सँधैँ प्रतिपक्ष भएको कारण गलत प्रणालीविरुद्ध आफूहरु सचेत रहेको उनको तर्क छ । चलचित्र विशुद्ध कलाको विषय भएको र यसलाई हलवालाहरुको राजनीतिबाट मुक्त राख्न ‘दी रेड सुटकेश’लाई क्युएफएक्स हलमा प्रदर्शन नगर्ने निर्णय गरिएको छ ।

एउटा सुखद पक्ष उल्लेख गर्दै भनेका छन्, ‘दी रेड सुटकेस’ पहिलो नेपाली चलचित्र हो, जसको सेटेलाइट र वितरण अधिकार हलिउडको प्रतिष्ठित ओटीटी प्ल्याटफर्म ‘एचबिओ’ले खरिद गरेको छ । यसकारण चलचित्रको लगानी सुरक्षित भएको निर्माण टिमको दाबी छ । निर्देशक देवकोटाले डिजिटल राइट्सबारे भने, ‘एचबिओसँगको डिलले हामी सुरक्षित छौं । नत्र यहाँ हलवालाहरुको के के सहनु पथ्र्यो ।’ 

टिप्पणीहरू