पूर्वपञ्चहरुको कार्यक्रममा देउवाको भाषण - राजतन्त्र फर्काउन असम्भव !

पूर्वपञ्चहरुको कार्यक्रममा देउवाको भाषण - राजतन्त्र फर्काउन असम्भव !
सुन्नुहोस्

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजतन्त्र फर्काउने कुरा सम्भव नरहेको बताउनुभएको छ । 

'सूर्यबहादुर थापा प्रतिष्ठान'ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो धारण राख्नुभएको हो । उहाँले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्नेमा जोडसमेत दिनुभएको छ । 

‘राजा फर्काउनुपर्यो भनेर मान्छेहरु हिँड्दैछन् । राजा फर्किन्छ भन्ने होइन । यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ । धेरै कुराहरु सुधार गर्न पनि सहमति हुनुपर्छ, दुई तिहाई चाहिन्छ । केही समस्या र कमी कमजोरी रहन्छन् भनेपनि सुधार गरेर जाऔँ । तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले', सभापति देउवाले भन्नुभयो ।

उहाँले विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै बहुदलीय व्यवस्थाको सुदृढीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री तथा पंचायतका नेता सूर्यबहादुर थापाको नवौं स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा कांग्रेस सभापति देउवासहित राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपति शमशेर राणा, कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, नेता मिनेन्द्र रिजाल, जसपाका नेता प्रदीप यादवलगायत उपस्थिति थिए ।

टिप्पणीहरू