राष्ट्रिय राजनीतिको मुख्य संवाहकमा स्थापित भएको एमालेको निष्कर्ष

राष्ट्रिय राजनीतिको मुख्य संवाहकमा स्थापित भएको एमालेको निष्कर्ष

सत्तारुढ प्रमुख घटक नेकपा एमालेले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न साझेदार दलहरुलाई आग्रह गरेको छ । 

ललितपुरको गोदावरीस्थित सनराईज हलमा दुई दिनसम्म चलेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै एमालेले सत्ता समीकरण थप बलियो बनाउन अपिल गरेको हो । मुलुकलाई अस्थिरता र अन्यौलतातर्फ धकेल्ने गतिविधिप्रति सजग रहँदै राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई जोखिममा पार्ने काम कतैबाट पनि हुन नदिन साझेदार दलहरुलाई आह्वान गर्ने प्रस्ताव बैठकले पारित गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए । 

एमालेले आफनो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) का बीचमा नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गर्दै त्यसलाई सफल, परिणाममुखि र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । 

त्यसैगरी पाँच दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत विद्यमान समस्या समाधान गर्नेगरी तालिकाबद्ध रुपमा काम गर्न सरकारलाई सुझाव दिइएको रिमालले बताए । विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहकका रुपमा स्थापित हुन सकेको एमालेको निष्कर्ष छ ।

 

‘यो बैठक विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रुपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने संकल्प गर्दछ’, समसामायिक प्रस्तावमा भनिएको छ, ‘अत्यन्त असहज र प्रतिकूल अवस्थामा पार्टीलाई यस विन्दुसम्म ल्याइपुर्याउन कुशलतापूर्वक अगुवाई गर्ने कमरेड अध्यक्ष केपी शर्मा ओलीलगायत १० औं महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पंक्तिलाई यो बैठक विशेष धन्यवाद ज्ञापन गर्दछ ।’

बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रुपमा अझ एकतावद्ध र सृदृढ बनाई राष्ट्रिय शक्तिको रुपमा विकास गर्न पार्टी पंक्तिलाई आह्वानसमेत गरेको छ ।

टिप्पणीहरू