'जोखिमकै बीचबाट वाम एकताको प्रक्रिया अगाडि बढ्छ'

'जोखिमकै बीचबाट वाम एकताको प्रक्रिया अगाडि बढ्छ'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम मोलेर भएपनि वाम सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

आज बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । माओवादी केन्द्रको अध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो, ‘जोखिमहरू छन् । जहिले पनि रहन्छन् । तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो । हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ । जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले एकपटक असफल हुँदैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने पनि बताउनुभयो ।

‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन', उहाँले भन्नुभयो, 'समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ । स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ ।’

प्रधानमन्त्रीले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको उल्लेख गर्दै भन्नुभयो, 'विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्ने आजको आवश्यकता हो। हामी सबै समाजवादमा सहमत छौँ । विज्ञान प्रविधिको विकास, एआइले मानवीय जीवनमा पार्ने प्रभाव, विश्वका देशहरूको सम्बन्ध, जलवायु परिवर्तन जस्ता विषयको अध्ययन, अनुसन्धान र विश्लेषण जरूरी छ । यी विषयहरूसमेतका आधारमा नयाँ कार्यदिशामा जानुपर्छ ।’

टिप्पणीहरू