टेकबहादुरको फुकुवा बानेश्वरमा टाँसियो

टेकबहादुरको फुकुवा बानेश्वरमा टाँसियो

नेपाली काँग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन औपचारिकरुपमा फुकुवा भएको छ । 

संघीय संसद सचिवालयले आज जारी गरेको सूचनामा उनको निलम्बन फुकुवा भएको जानकारी गराएको छ । यसअघि गुरुङलाई सांसद पदबाट निलम्बन गर्ने संसद सचिवालयको निर्णय सर्वोच्च अदालतले बदर गरेको थियो । 

सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जारी गरेको सूचनामा अदालतको आदेश प्राप्त हुन आएकाले निलम्बन फुकुवा गरिएको उल्लेख छ । 

कुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै दोषी ठहर भएका मनाङका सांसद गुरुङलाई विशेष अदालतले जरिवानाको सजायँ गरेको थियो । त्यसैका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्र लेखेर पद निलम्बन गर्न आग्रह गरेबमोजिम संसद सचिवालयले १२ पुस २०७९ मा उनलाई पदमुक्त गरेको थियो ।

त्यसविरुद्ध गत फागुन २१ गते गुरुङले दायर गरेको रिटमा चैत १६ गते सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको थियो ।

टिप्पणीहरू