जसपा फूटको असर- राजीनामा दिएका मन्त्रीद्वारा पदभार ग्रहण

जसपा फूटको असर- राजीनामा दिएका मन्त्रीद्वारा पदभार ग्रहण

जनता समाजवादी पार्टी (जसपा) विभाजनको असर प्रदेशमा पनि देखिन थालेको छ । केन्द्रीय सत्ता समीकरणको विषयलाई लिएर उत्पन्न विवाद फुटमा परिणत भएसँगै त्यसको प्रभाव लुम्बिनी प्रदेशबाट देखिन थालेको हो ।     

बरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पुगेको २४ घण्टा नहुँदै जसपा लुम्बिनी सरकारमा फर्किएपछि विभाजनको प्रभाव मानिएको हो । वैशाख ८ गते राजीनामा दिएर घरमै बसेका जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरले आज मन्त्रीको कार्यभार सम्हालेका छन् ।

नयाँ पार्टीमा सहभागी हुनेगरी उनले मन्त्रीको जिम्मेवारी लिएको बताइएको छ । यसअघि मुख्यमन्त्री जोखबहादुर महराले सहमति कार्यान्वयन नगरेको जनाउँदै वैशाख ८ गते अहिरले मन्त्री पदबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत भने भएको थिएन ।

लुम्बिनीमा जसपाका तीन जना प्रदेशसभा सदस्य छन् । दल विभाजनपछि उनीहरु कता लाग्छन भन्ने खुलेको छैन । जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले अध्यक्ष उपेन्द्र यादव नेपाल फर्किएपछि थप निर्णय हुने बताए । 

जसपा अहिले अध्यक्ष उपेन्द्रकै नेतृत्वमा सरकारमा छ । तर, उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादव स्वयं वैकल्पिक गठबन्धन बनाउने दौडमा लागेको दाबी गर्दै नयाँ पार्टी गठनको पक्षमा रहेका नेताहरुले राजनीतिक स्थिरताका लागि पार्टी विभाजन गर्नु परेको दाबी गरेका छन् ।

टिप्पणीहरू