नेपालका परियोजनाबारे मुम्बइमा छलफल

नेपालका परियोजनाबारे मुम्बइमा छलफल

नेपाल आयल निगम (एनओसी) ले रोकिएका परियोजनाहरु सकेसम्म छिटो अगाडि बढाइदिन भारतीय आयल निगम (आईओसी) सँग आग्रह गरेको छ । स्रोत अभावका कारण लामो समयदेखि अलपत्र परेको परियोजनालाई छिटो निकास दिन निगमले अनुरोध गरेको जनाइएको छ । 

आईओसीको निमन्त्रणामा औपचारिक भेटवार्ताका लागि कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टसहित भारत पुगेको चार सदस्यीय टोलीले विभिन्न प्रस्ताव राख्ने क्रममा उक्त धारणा व्यक्त गरेको हो । टोलीमा नायव कार्यकारी निर्देशकद्धय दीपक बराल, वीरेन्द्र गोइत र उपनिर्देशक मनोजकुमार ठाकुर थिए । 

भारतको अमलेखगञ्जबाट चितवन र सिलगढीबाट झापासम्म ल्याउने भनिएको पाइपलाइनमा देखिएको समस्या समाधानका लागि पहल गर्न आईओसीको ध्यानाकर्षण गराइएको निगमका उपनिर्देशक एवम् प्रवक्ता ठाकुरले बताए । 

‘यो शिष्टाचार भिजिट हो । नयाँ एमडी आउनुभएपछि आईओसीको आमन्त्रणमा हामी त्यता गएका हौं । पेट्रोलियम पाइपलाइन मात्र होइन्, अन्य थुप्रै प्रोजेक्टहरु स्रोत अभावका कारण रोकिएका छन् । हामीले ती समस्याको समाधान सकेसम्म चाँडो निकालिदिन आग्रह गर्यौं । उहाँहरु पोजिटिभ देखिनुभएको छ’, उनले भने । 

त्यस्तै, अनुदान दिने विषयमा कुनै सहमति नभएको स्पष्ट पारे । उताको सरकारले सो विषयमा निर्णय गर्ने भएकाले आईओसीमार्फत आग्रह मात्र गरिएको उनको भनाइ छ । प्रवक्ता ठाकुर भन्छन्, ‘अनुदान दिने–नदिने यो कुनै संस्थाले निर्णय लिने कुरा होइन । यो आईओसीले गर्न सक्दैन, मन्त्रालयले गर्ने हो । दुई सरकारबीचको कुरा हो । हामीले के भनेका हौं भने दुवै सरकारले तदारुकता देखाएमा काम अगाडि बढ्ने थियो । पहिले सरकारले टुंग्याउँछ अनि हामी कार्यान्वयन गर्छौ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा भारतसँग अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सम्झौता भएको थियो । सम्झौतामा दुई वटा पाइपलाइन र झापाको एउटा टर्मिनलको आर्थिक स्रोत भारत सरकारले र चितवनको टर्मिनलको निगमले गर्ने उल्लेख छ । 

सरकारले अनुदान प्राप्त भएमा मात्र परियोजना अघि बढाउने निर्णय लिएको छ । अन्यथा, यो छलफलकै क्रममा रहने निगमले जनाएको छ । ‘सम्झौतामा उल्लेख भएको फण्डेडले धेरै कुरा जनाउँछ । ऋणमा भए यो परियोजना अहिले अगाडि नबढाउने भन्ने छ । अनुदानमा हो भने काम हुन्छ, नत्र अहिलेलाई छलफलमै सीमित हुन्छ । अहिलेलाई कुनै टुंगोमा पुगिएको छैन, छलफलमै छौं । सरकारले के भन्छ, त्यसैअनुसार हामी अघि बढ्छौ’, उनले सुनाए । 

त्यस्तै, निगमले आईओसीसँग इथानोल मेसिन सञ्चालनका लागि प्राविधिक सहयोग मागेको छ । ठाकुरका अनुसार निगमले बिटुमिन (अलकत्रा) आयात गरेर बजारीकरण गर्न खोजेको छ । बैठकमा सो प्रस्ताव राख्दा आईओसीका अधिकारीहरु सकारात्मक देखिएको उनको जिकिर छ । उनीहरुले ‘हामी सघाउँछौ’ भनि प्रतिबद्धता जनाएको निगमले जानकारी दिएको छ । 

मुम्बईस्थित आईओसीको कार्यालयमा भएको औपचारिक भेटवार्तामा निर्देशक भट्टले लिखित प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावलाई आईओसीका उच्च अधिकारीहरुले सकारात्मक रुपमा लिएको बताइन्छ । तीन दिने भ्रमणमा गएको टोली गत शनिबार फर्केको हाे ।

टिप्पणीहरू